कर्णाली: कहिले गर्ने संघीयताको अनुभव ? – Nepal Press

कर्णाली: कहिले गर्ने संघीयताको अनुभव ?

सुर्खेत । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै मुलुकमा केन्द्र, प्रदेश र स्थानीय सरकार छन्। स्थानीय तहको निर्वाचनसँगै अब ‘जनताको घर-आँगनमै सिंहदरबारको सेवा’ भनेर खुवै चर्चा परिचर्चा गरियो।

यो चर्चासँगै काठमाडौंसम्म धाउनुपर्ने जनताको पीडा भुल्याउन संघीयताको मल्हमले कति काम गर्‍यो त्यसको समीक्षा त हुँदै जाला। तर, देशकै पिछडिएको क्षेत्र कर्णालीका नेता तथा कार्यकर्ताहरूलाई काठमाडौं नै प्यारो छ।

सार्वजनिक अभिव्यक्ति दिँदा कर्णालीको विकासमा लागि संघीयताको आवश्‍यकताको रटान दिन नथाक्ने यहाँका अगुवा भनिएकाहरूले त्यही कर्णालीवासीको नाममा सिंहदरबारको चौ घेराबाट फाइदा लिइरहेका छन्।

कर्णालीका दूरदराजमा काठमाडौंको सिंहदारसम्मको पहुँच अझै छैन। प्रदेश संरचना बनेपछि कर्णालीका ७९ वटै तहमा रहेका प्रत्येक वडामा प्रदेश सरकार पुग्दा सीमित व्यक्ति त खुसी नै छन्। तर, नेता-कार्यकर्ता भने संघीय राजधानी काठमाडौंकै रमझममा रमाएका छन्।

काठमाडौंमा प्रमुख दलका नेता र पहुँचवाला कार्यकर्ताहरूका गगनचुम्बी घर ठडिएका छन्। आफ्नो सहरमा सुविधाभोगी जीवन जिउने उनीहरूले कर्णालीका बासिन्दालाई भोट बैंकको रूपमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाल यही तरिकाले संघीयताको अभ्यास गरिए नेपालमा संघीयता खतरामा पर्ने बताउँछन्। उनका अनुसार संघीयता लागू भएपनि कार्यान्वयन गति भने सुस्त छ।

“अहिले पनि हरेक राजनीतिक दलका नेता तथा कार्यकर्तामा केन्द्रप्रति नै माया बढेको छ। संविधानले प्रष्टरूपमा अधिकारको किटान गरेपनि कार्यान्वयन गर्नेहरू नै अहिले केन्द्रीय नेताप्रति बफादार देखिन्छन्”, ढकाल भन्छन्, “उनीहरुलाई यहाँको संरचनाको चिन्ता नभएको मैले महसुस गरेको छु।”

प्रतिनिधि सभा, राष्ट्रिय सभा सदस्यहरूबाहेक अन्यले संघीयताको अभ्यास प्रदेशबाटै गर्नुपर्नेमा काठमाडौंमा नै भरिने प्रचलन ठिक नभएको नेकपाका नेता टेकेन्द्रकुमार बस्नेत बताउँछन्।

“नेताहरूलाई संघीयता कार्यान्वयन भएको यति वर्ष भइसक्दा पनि काठमाडौं मोहले नछोडनु संघीयतको मर्मविपरीत हो जस्तो लाग्छ “, “उनी भन्छन्, “आफ्नै प्रदेश बनाउने हो भने यहिँ घर निर्माण गर्ने, यहाँको विकास निर्माणबारे बहस गर्ने, जनताको काममा साथ दिने काम गर्नुपर्छ। आम नागरिकले संघीयता भन्दै नाक फुल्याउने तर नेता कार्यकर्ता भने काठमाडौंमा नै घर किन्न पाए पुग्ने आचरणका भइदिनाले संघीयता नेताहरूबाटै खतरामा पर्ने भय मैले देखेको छु।”

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी काठमाडौं जानै नहुने भन्ने होइन, जाने तर काम सकिएपछि कार्यक्षेत्रमा फर्कनुपर्ने हो त्यसो नभई विभिन्न बहानामा काठमाडौंमा नै बसिरहने मानसिकता हावी भएको टिप्पणी गर्छन्।

उनी भन्छन्, “यसरी संघीयतालाई काठमाडौंबाटै चलाउँदा आम नागरिकमा नेताहरूप्रति नकारात्मक धारणाको विकास हुन्छ। काठमाडौंबाटै पालिका चलाउने वा प्रदेश चलाउने काम राम्रो भएन।

उनले अहिलेको दुइ तिहाईको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आलोचना गर्दै थानीले भने, “अहिले जनतामा ठूला माछा छाड्ने र साना माछा मात्र समातिन्छन् भन्‍ने सन्देश गएको छ। यसबाट सरकारले पाठ सिक्नुपर्छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर