सडकमा कांग्रेसको शक्ति प्रदर्शन – Nepal Press

सडकमा कांग्रेसको शक्ति प्रदर्शन

प्रधानमन्त्री नै राजावादीसँग मिलेको देउवाको आरोप

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी शक्ति प्रर्दशन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ‘सर्वसत्तावाद’ को अभ्यास गरिरहेको आरोप लगाउँदै कांग्रेसले देशभर प्रदर्शन गरेको हो ।

गत मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको पुल उद्घाटनका क्रममा हिरासतमा लिइएपछि सरकारसंग कांग्रेसको असन्तुष्टी चुलिएको थियो । मंसिर १९ गते कांग्रेस शीर्ष नेताहरुको बैठकले ‘सर्वसत्तावाद, भ्रष्टाचार र दमन’का विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सोमबार ७७ वटै जिल्लामा भएका सरकार विरोधी प्रदर्शन मार्फत कांग्रेसले सरकारलाई व्यवहार सुधार्न चेतावनी दिएको छ । देशभरका प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले सरकारको सर्वसत्तावादी चरित्रलाई परास्त गर्ने उद्घोष गरेका छन् ।

ओलीकै कारण भ्रष्टाचार बढ्यो, राजावादीले शीर उठाए: देउवा

सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्दै कम्युनिष्ट सरकारको असफलताका कारण परिवर्तनविरोधीहरुले शीर उठाउन थालेको आरोप लगाए । कांग्रेसकै नेतृत्वमा नेपालमा लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै देउवाले राजावादीहरुको हौसला प्रधानमन्त्री ओलीकै कारण बढेको बताए । ‘सडकमा राजा आउ देश बचाउ भन्न थालिएको छ । यो कम्युनिष्टकै कारण हो । यसमा केपी ओली नेतृत्वको सरकार जिम्मेवार छ ।’, देउवाले भने । उनले प्रजातन्त्र नमानेकै कारण राजतन्त्र हटेको भन्दै राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको जिकीर समेत गरे ।

उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि आफूले कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाउने छैन भनेको स्मरण गर्दै उनले भने, आज कोही रोयो भने किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

भ्रष्टाचार र हिंसाका घटनामा शून्य सहनशीलता अपनाउँछौ भन्ने प्रधानमन्त्रीले अहिलेसम्म सुशासनका लागि कुनै काम गर्न नसकेको देउवाको आरोप थियो । सडकमा आन्दोलन गर्ने र जनतालाई दुःख दिने कांग्रेसको कुनै नीति नरहेको भन्दै ओली सरकारका गतिविधिले नै सडकमा आउन बाध्य भएको देउवाले बताए । देशभरका जनता सडकमा उत्रेर सर्वसत्तावाद र कम्युनिष्ट सरकारको विरोध गरेको भन्दै देउवाले कांग्रेसलाई जनताको साथ रहेको दावी गरे ।

पञ्चायत र ओली शासन उस्तै: पौडेल

काठमाडौंको रत्नपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पञ्चायती शासन र ओली शासन उस्तै भएको टिप्पणी गरेका छन् । ‘राजाको पञ्चायती शासनमा हामीले रुख रोप्दा हाम्रा टाउको फुटाइदिन्थें । अहिले हामीले पुल उद्घाटन गर्दा हाम्रा करङ भाँच्न थालिएको छ । यो अधिनायकवाद हो, पञ्चायत र ओली शासन उस्तै हो ।’, पौडेलले भने ।

सरकारको संरक्षणमा कम्युनिष्टको झण्डा ओढ्नेहरुको ‘खत माफ वर्ग’ निर्माण गरिएको भन्दै पौडेले त्यस्तो वर्गले जनतालाई दुःख दिन थालेको बताए । ‘नियम कानूनभन्दा माथि रहने गरी सत्ताको संरक्षणमा एउटा वर्ग बनाइएको छ । त्यसले राजनीतिक परिवर्तन र जनताका एजेण्डा विरुद्ध षड्यन्त्र  गरिरहेको छ’, उनले भने ।

प्रधानमन्त्री ओली भ्रष्ट र असफल भएको तथ्य कांग्रेसको मात्रै दावी नरहेको भन्दै पौडेलले नेताकै बहुमत नेताहरुको धारणा बुझ्न अनुरोध गरे । ‘आज कांग्रेसले होइन नेकपाकै बहुमत नेताहरुले यो सरकार भ्रष्ट र असफल भएको बताइसकेका छन् । म नेकपाका नेताहरुलाई बालुवाटारमा होइन ओलीविरुद्ध संसदमा बहस गराउन अनुरोध गर्दछु ’, पौडेलले भने ।

नेपालमा संविधान र शासनव्यवस्था लोकतान्त्रिक भएपनि शासक अलोकतान्त्रिक रहेको भन्दै पौडेल राज्यको कम्युनिष्टकरण रोक्न जनता आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए ।

बागलुङमा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेकपा सरकारका कारण लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीलाई ‘निर्वाचित भष्मासुर’को संज्ञा दिदैं नेता केसीले भ्रष्टाचारीलाई गरिएको सत्ता संरक्षणका विरुद्ध कांग्रेसले आन्दोलन थालेको बताए । ‘यो कांग्रेसको मात्रै आन्दोलन होइन, जनताको आन्दोलन हो । यसलाई कमजोर ठाने राणा र राजाझैं कम्युनिष्ट पनि मासिन्छन् ।’, केसीले भने । केसीले फरक विचारलाई शत्रु ठान्ने कम्युनिष्टबाट बहुदलीय व्यवस्था र बहुलबाद नै खतरामा परेको टिप्पणी गरे ।

चितवनको नारायणगढमा आयोजित सभालाई सम्बोधन गर्दै नेता डा. रामशरण महतले जनता कोरोनाको मारमा रहेको बेलामा पनि सरकारले अनियमितता गरेको आरोप लगाएका छन् । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नसकेको भन्दै नेता महतले नेकपाको आन्तरिक झगडाका कारण पनि मुलुकले क्षति व्यहोर्नुपरेको उल्लेख गरे ।

कैलालीको सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भ्रष्टाचारी खोज्न बालुवाटार जानुपर्ने बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाने तर जग्गा खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ थापाले भने । भ्रष्टाचार प्रधानमन्त्री ओलीको सबैभन्दा रुचीको विषय रहेको भन्दै थापाले भने, ‘भ्रष्टाचारी खोज्न अन्तकतै जानुपर्दैन, सिधै बालुवाटार गए हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर