उखु किसानले पैसा पाएनन्, उल्टै क्वीन्टलमा २० केजी ठगिए – Nepal Press
मारैमारमा उखु किसान

उखु किसानले पैसा पाएनन्, उल्टै क्वीन्टलमा २० केजी ठगिए

‘सरकार किसानलाई बाँच्न देऊ’ भन्ने पर्चा छातीमा टाँसेका एक वृद्ध,  आइतबार र सोमबार एउटै कुरा दोहोर्‍याइ रहे ।  सर्लाहीबाट काठमाडौं आएका उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय रोष प्रकट गर्दै भनिरहेका थिए ‘अब अति भो सरकार हामीलाई बाच्न देऊ, हाम्रो पसिनाको मूल्य देऊ, सरकार अन्तिम पटक हाम्रो कुरा सुनिदेऊ, बाँच्ने आधार बनाइदेऊ, हाम्रा बच्चा–बच्चीका आङ नाङ्गा छन्, पेट भोक छ । औषधि उपचार नपाएर हाम्रा परिवार तड्पिएका छन्, सरकार पैसा देऊ, कि मृत्यु ! बरु मर्नु परोस् पैसा नलिई घर फर्किंदैनौ, आत्महत्या गर्न तयार छौं ।’

गत वर्ष पुसमा सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनका लागि आइतबार काठमाडौं आएका छन् । सम्झौता कार्यान्वयन नभए पनि काठमाडौंको चिसो र कोरोनाको महामारीका बीचमा आफूहरू पुनः आन्दोलनमा उत्रिएको अध्यक्ष रामस्वार्थको भनाइ छ ।

‘हामी निमुखा किसान, बोल्न पनि राम्ररी जान्दैनौं, हाम्रो एउटै माग छ– पसिनाको मूल्य देऊ । किसानलाई मर्न बाध्य नपार’ उनले भने । चिनी मिलले उखु किसानलाई दिनुुपर्ने बाँकी बक्यौता रकम सम्झौता भएको एक वर्षसम्म दिएका छैनन् । रकम नपाएपछि यो एक वर्ष बीचमा उखु किसान संघर्ष समितिका पदाधिकारीहरू पटक–पटक काठमाडौं आए ।

यही दशैं र तिहारको बीचमा अध्यक्ष रायलगायत अन्य किसानहरूले काठमाडौं आएर उद्योग मन्त्री, राष्ट्रपति र अन्य नेतालाई समेत भेटे तर समस्या सुल्झिएन । काठमाडौं आउनु अघि बारम्बार किसानले स्थानीय सरकारलाई पनि गुहारे । स्थानीय सरकारले उनीहरूको माग सुनेको नसुने झैं गर्‍ यो ।

उद्योगीले किसानलाई  क्वीन्टलमै २० केजी ठगे 
गत वर्ष नै नेपाल सरकारले किसानको माग अनुरूप उखुको मूल्य समायोजन गरेर उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ तोकिएको थियो । त्यसमा सरकारले ६५ रुपैयाँ अनुदान दिने सहमति गर्‍ यो । प्रति क्वीन्टल ४७१ रुपैयाँ उद्योगले किसानलाई दिनुपर्ने हो । तर उद्योगहरूले त्यसमा पनि ३५ रुपैयाँ घटाइदिए ।

अध्यक्ष रायका अनुसार सर्लाही जिल्लाको गोडैता नगरपालिकाका मेयर देविन्द्रपसाद यादव, प्रदेश–२ का सांसद उपेन्द्र कुशवाह र महालक्ष्मी सुगर मिलका उद्योगपति वीरेन्द्र कनौडियालगायत केही स्थानीय नेता संलग्न बैठकले किसानहरूलाई जानकारी नै नदिइकन एकलौटी रूपमा पैसा घटाउने निर्णय गरे ।

किसानले १०० केजी उखु जोखेरै दिंदा सुगर मिलहरूले त्यसमा १० केजी २० केजी बराबरको तौल कमी गरिदिएको किसानको भनाइ छ ।
‘हाम्रो बोल्ने मान्छे छैन भनेर किसानलाई हेपिएको पो हो कि ! आँखै अगाडि यत्रो भ्रष्टाचार गर्दा कति सहेर बस्नु ? मिलहरूले पैसा त दिएन, दिएन उल्टै हामी आफैंले जोखेर दिएको उखुको पनि तौल घटाइदिन्छन्’ अर्का पीडित उखु किसान राम पुकार राउतले भने ।

उनले दुई बिगाहा जमीनमा उखु खेती लगाएका छन् । आठ जनाको उनको परिवारको मुख्य आम्दानीको स्रोत नै उखु खेती हो ।
राउतले अन्नपूर्ण सुगर मिललाई उत्पादित सबै उखु दिंदै आएका छन् । आँखाभरि आँशु पार्दै उनले भने, ‘मेरो अर्को आम्दानीको श्रोत छैन । उद्योगले पैसा दिंदैन । घर–व्यवहार कसरी चलाउने ?’

हाल देशभर पाँचओटा सुगर मिलहरूले किसानलाई करीब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर