गौतम बुद्ध कपको उपाधिका लागि नारायणी र राप्ती भिड्ने – Nepal Press

गौतम बुद्ध कपको उपाधिका लागि नारायणी र राप्ती भिड्ने

काठमाडौं । चितवनमा जारी गौतम बुद्ध कप ट्वान्टी–२० त्रिकोणात्मक शृंखलाको उपाधिका लागि राप्ती टिम र नारायणी टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

आइतबारको खेलमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ले सम्हालेको बाग्मती टिमले लगातार दोस्रो हार बेहोरेसँगै नारायणी र राप्तीबीच फाइनलमा भेट हुने निश्चित भइसकेको थियो ।

सोमबार विनोद भण्डारीले नेतृत्व गरेको राप्तीले लगातार दोस्रो जित निकाल्ने क्रममा नारायणीमाथि १ विकेटको रोमान्चक जित निकाल्यो ।

पारस खड्का कोरोना संक्रमित भएपछि सुवास खकुरेलले नेतृत्व गरेको नारायणी टिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।

निर्धारित ओभरमा उसले ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि करण केसीले ३२ र किशोर महतोले ३६ रनको योगदान गरे ।

इनिङको अन्तिम बलमा करण आउट हुनुअघि यो जोडीले आठौं विकेटका लागि ५९ रनको अर्धशतकीय साझेदारी गरेको थियो ।

त्यसअघि नारायणीका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत योगदान गर्न सकेनन् । शृंखलाको पहिलो खेलमा नारायणीले बाग्मतीमाथि रोमान्चक जितका क्रममा करणले सुपर ओभरमा ४ छक्का प्रहार गरेका थिए ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हाताभित्र रहेको नमूना मैदानमा १ सय ३९ रनको जवाफी लक्ष्य राप्तीले इनिङको अन्तिम बलमा पूरा ग¥यो । अन्तिम ओभरमा स्पिनर सूर्य तामाङले २ नोबल फालेपछि अन्तिमका २ ब्याट्सम्यानलाई जिम्मेबारी पूरा गर्न सहज भयो । त्यसअघि ओपनर कुशल भुर्तेलले ६५ रनको विष्फोटक अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ६ छक्का र ४ चौका प्रहार गरे । कमलसिंह ऐरी २५ रनमा अविजित रहे । राप्ती र नारायणीबीचको फाइनल खेल मंगलबार हुनेछ ।

फाउन्डेसनले जनस्तरबाट सहयोग संकलन गरी निर्माण सुरु गरेको रंगशाला अवको डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसैको माहोल सृजना गर्न राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ३० र १२ स्थानीय खेलाडीसमेत समावेश गरी तीन टोली बनाएर शृंखला आयोजना गरिएको हो । कोरोना महामारीपछि ठप्प रहेको क्रिकेट गतिविधिलाई यस प्रतियोगिताले सकारात्मक सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर