सुसनका परिवारले भेटे प्रधानमन्त्री – Nepal Press

सुसनका परिवारले भेटे प्रधानमन्त्री

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवंगत नेता कमानसिंह लामासँगको आर्थिक लेनदनको भिडियो बाहिरीएपछि विवादमा तानिएकी सुसन कर्माचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

याम्बालिङ हाइड्रोपावर प्रोजेक्टकी अध्यक्षसमेत रहेकी कर्मचार्य र लामाबीचको आर्थिक लेनदेनको विवादमा नेकपा प्रवक्ता नाराणकाजी श्रेष्ठ समेत मुछिएका छन्। बाहिरिएको भिडियो क्लिपमा श्रेष्ठले दुईजनाबीचको लेनदेन विवादमा मध्यस्थता गरेको जस्तो देखिन्छ । कमानसिंहले भने आफ्नो मृत्युअघि फेसबुक स्टाटसमा नारायणकाजीलाई समेत दोषी देखाएका छन्।

श्रेष्ठकी मुख्य सहयोगी समेत रहेकी कर्मचार्यका कारण नारायणकाजी समेत विवादमा तानिएपछि उनको परिवारले आइतबार बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेटघाट गरेको हो ।

कर्मचार्यका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले करिब डेढ घण्टाको भेटघाटमा प्रधानमन्त्रीले आफ्नो कुरा ध्यानपूवर्क सुनेको र नानाथरिको लाञ्छनाका पछाडि नलाग्न आग्रह गरेको बताएका छन् ।

‘म, मेरो श्रीमती (सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्रीलाई भेटेर सबै यथार्थ राख्यौँ,’ उनले फेसवुकमा लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यस बारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय व्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो।’

राजभण्डारीले समय र साथका लागि प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले कुनै प्रमाण विना सत्य तथ्य नबुझी अरुको चरित्र हत्या गर्न खोज्ने काम गर्न पनि सबैमा अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर