समायोजन नसकिँदा जसपाको राजनीतिक गतिविधि प्रभावित – Nepal Press

समायोजन नसकिँदा जसपाको राजनीतिक गतिविधि प्रभावित

काठमाडौं। गत वैशाखको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको चर्चासँगै तत्कालीन राजपा र संघीय समाजवादी पार्टीले ‘आकस्मिक एकता’ गरे।

‘भवितव्य’टार्न जन्मिएको जनता समाजवादी पार्टी (जसपा) मा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका राजनीतिक ट्वीटहरूको चर्चाबाहेक ८ महिनामा कुनै अभियान देखिएको छैन। सरकारले संसदको अधिवेशन स्थगित गरेको र कोरोना महामारीले सडकमै उपस्थिति देखाउनसमेत असहज भएको भन्दै जसपा शान्त देखिएको हो।

सरकारका काम कारवाहीबारे केही नेताको सार्वजनिक टिप्पणीबाहेक जसपाका राजनीतिक गतिविधि पछिल्लो समय ठप्पप्रायः छन् । हतारमा भएको एकताले पूर्णता नपाउँदा जसपाको सांगठनिक गतिविधि ओझेलमा परेको हो। जसपा केन्द्रीय कार्यकारिणी समितिले कात्तिक २५ सम्म प्रदेश, मंसिर १५ सम्म स्थानीय तह र मंसिर मसान्तसम्म निर्वाचन क्षेत्र , जिल्ला र जनवर्गीय संगठनको समायोजन गरिसक्ने निर्णय गरेको थियो। तर, निर्धारित समय सकिँदा समेत समायोजन प्रक्रिया टुंगिएको छैन।

जसपाका नेता केशव झा कोरोना महामारीका कारण समायोजनको काममा ढिलो भएको बताउँछन् । “समायोजनको कार्यदलमै रहनुभएका केही नेताहरु कोरोना संक्रमित हुनुभयो । यसले गर्दापनि काममा ढिला भएको छ । मंसिरमा नसकिए पनि पुससम्म समायोजन सकिन्छ र पार्टी सक्रिय हुन्छ”, झाले नेपाल प्रेससँग भने ।

सरकार र प्रमुख प्रतिपक्ष दुवै दलसँग राजनीतिकरूपमा जसपा असन्तुष्ट छ। “सरकार त सम्पूर्णरूपमा असफल र भ्रष्ट भइसकेको छ तर जनताका एजेण्डामा कांग्रेस पनि जिम्मेवार भएन । संसद बैठक बोलाउन समेत कांग्रेसले सार्थक पहल गरेन”, झा भन्छन्।

पार्टीभित्र अनौपचारिकरूपमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेकोले छिट्टै राजनीतिक कार्यक्रम सार्वजनिक गर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर