‘राजतन्त्र फर्कंदैन, बरु कम्युनिष्ट सिद्धिन्छन्’ – Nepal Press
नेपाल टक

‘राजतन्त्र फर्कंदैन, बरु कम्युनिष्ट सिद्धिन्छन्’

राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने आन्दोलनमा कांग्रेसको कुनै सहभागिता छैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आन्दोलित बनेको छ । मंसीर २९ गते सोमबार देशैभरि हुने प्रदर्शनलाई कांग्रेसले सरकारको ‘सर्वसत्तावादी’ चरित्रविरुद्धको अभियानका रूपमा प्रचार गरेको छ । २०७४ साल मंसीरको निर्वाचनबाट प्रमुख प्रतिपक्षको भूमिका प्राप्त गरेपछि कांग्रेसले सरकारविरुद्ध संगठित आन्दोलन गर्न नसकेको आरोप लाग्दै आएको छ । कांग्रेसको आन्दोलन, समसामयिक राजनीति र कांग्रेस महाधिवेशनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी नेपाल टकमा प्रस्तुत छ:

नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिएको छ । प्रतिपक्षमा पुगेको तीन वर्षपछि सडकमा उत्रिनुपर्ने बाध्यता के आइपर्‍यो ?

हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारविरुद्ध मंसीर २९ मा देशैभरि प्रदर्शन गर्दैछौं । यो एक आन्दोलन भन्दा पनि प्रदर्शन हो । सरकारविरुद्ध कांग्रेसले यसअघि पनि यस्ता प्रदर्शनहरू गरेकै थियो । निर्वाचन हारेलगत्तै हामीले केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई काम गरोस् भनेर छाडेकै हो ।

शुरूकै दिनदेखि सरकारको विरोधमा उत्रिएको भए कांग्रेसले सत्ताबाहिर बस्ने धैर्यता राखेन भनेर हामीलाई आरोप लाग्थ्यो । जनमतबाट आएको सरकारले जनताका सुखदुःख बुझ्ला भन्ने सोचेका थियौं । तर यो अवधिमा सरकारको प्रदर्शन निकै निराशाजनक रह्यो । पछिल्लो समय कोभिडको महामारी नियन्त्रण गर्न सरकार असफल भयो । स्वास्थ्य उपकरण खरीदमा समेत अनियमितता गरियो । जनतालाई राहतको कुनै महसूस हुन सकेन ।

प्रतिपक्षी दलका नेता कार्यकर्तामाथि पूर्वाग्रह साध्ने काम धेरै भयो । तनहुँको घटनाबारे त सबैलाई थाहै छ । अरू जिल्लामा पनि कांग्रेस कार्यकर्तालाई प्रशासनले दुःख दिएको छ । विकास निर्माण, शान्ति सुव्यवस्था, जनताको स्वास्थ्यको रक्षा र राजनीतिक संस्कार प्रदर्शन गर्ने कुनै कुरामा पनि सरकार सकारात्मक देखिएन । प्रधानमन्त्री ओलीले संविधानको भावना अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने गरी राजनीतिक काम पनि गर्न सक्नुभएन । यी सबै कारणहरूले गर्दा कांग्रेस सडकमा उत्रनुपरेको हो ।

हामी संसदीय व्यवस्था मान्नेहरू सरकारलाई आवधिक निर्वाचन र जनमतबाट विस्थापित गर्न सकिन्छ भन्ने मान्यता राख्छौं । संसद्मा उभिएर कांग्रेसले सरकारलाई खबरदारी गरेकै थियो । अहिले त पाँच महीनादेखि संसद् पनि छल्ने काम भयो । सरकारको यस्तै रवैयाका कारण हामी सडकमा उत्रिएका छौं । अब सदन र सडक दुवै स्थानबाट सरकारको सर्वसत्तावादी सोच र भ्रष्टाचारी चरित्रको भण्डाफोर गर्दैछौं ।

तर कांग्रेस आफैं सरकारसँग लाचार देखिएको आरोप पार्टी नेतृत्वलाई लाग्दै आएको छ । कतै पार्टी नेतृत्वले ‘फेस सेभिङ’ का लागि मात्रै कार्यकर्ता सडकमा उतार्न खोजेको त होइन ?

हामीले ‘फेस सेभ’ गर्नुपर्ने अवस्था नै छैन । कांग्रेसले लोकतान्त्रिक संस्कार अनुसार नै संविधान कार्यान्वयन गरेर सरकार हस्तान्तरण गरेको हो । निर्वाचनबाट जनताले वामपन्थीहरूलाई जनमत दिएपछि हामी प्रतिपक्षको भूमिकामा छौं । वर्तमान सरकारको गठन प्रक्रियादेखि नै हाम्रा राजनीतिक मतहरू जाहेर गर्दै आइरहेका छौं । संसद्मा कांग्रेसले निर्वाह गरेको भूमिका चानचुने होइन ।

हिजोजस्तो सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने र जनतालाई दुःख दिने प्रतिपक्ष हामी होइनौं । जनताले वर्तमान सरकारको कामको यथोचित मूल्यांकन गरेकै छन् । आगामी निर्वाचनमा त्यसको परिणाम पनि देखिन्छ । इतिहासदेखि आजसम्म कांग्रेसले जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गरेको छ ।

अहिले कांग्रेसको प्रदर्शन वर्तमान सरकारलाई खबरदारी गरेर सुधार्ने मात्रै होइन भविष्यका सरकारहरूलाई पनि सचेतना दिनका लागि हो । सरकारका गलत कदमविरुद्ध विगतमा पनि सडक प्रदर्शनहरू गरिएका थिए । अहिले स्थिति अझ बिग्रियो । सरकार अझ भ्रष्ट भयो । त्यसैले प्रदर्शनलाई अलि बढी प्रचारात्मक र प्रभावकारी बनाएका छौं ।

सडकमा त अहिले व्यवस्था विरोधीहरूको जुलूस छ । स्वस्फूर्त रूपमा सडकमा उत्रिएकाहरूको अघिल्तिर कांग्रेसको झण्डा राख्न मात्रै खोजिएको त होइन नि ?

अहिले सडकमा अरूले गरेका प्रदर्शनबारे म केही स्पष्ट पार्न चाहन्छु । पहिलो कुरा राजतन्त्र र हिन्दूराष्ट्र फर्काउने आन्दोलनमा कांग्रेसको कुनै सहभागिता छैन । नेपाली कांग्रेसको नेतृत्वमा आएको धर्मनिरपेक्षतासहितको संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षणका पक्षमा कांग्रेस छ ।
नेपालमा राजतन्त्र फर्काउने एजेण्डामा कांग्रेस सहमत छैन । त्यसैले सडकमा अहिले भइरहेका आन्दोलनमा कांग्रेसको ऐक्यबद्धता, समर्थन र सहभागिता छैन । तर पनि सडकमा देखिएको आक्रोश वर्तमान सरकारको असफलताको परिणाम हो भन्ने कांग्रेस ठान्दछ ।

ओली नेतृत्वको सरकारले संघीयतालाई सुदृढ बनाउन सकेन । गणतन्त्र र धर्मनिरपेक्षताबारे पनि भ्रम सिर्जना सरकारकै कारण भएको छ । कम्युनिष्ट सरकारले बाटो बिराएकोले जनआन्दोलनका बलमा स्थापित परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ । कांग्रेसले सदन र सडक दुवै ठाउँबाट सरकारलाई खबरदारी गर्ने मात्रै होइन आफ्नै नेतृत्वमा आएको संविधानको संरक्षण गर्नुपर्ने दायित्व पनि पूरा गर्दैछ । त्यसैले नेपालमा राजतन्त्र फर्कन नदिने र कम्युनिष्टलाई राजनीतिक लडाइँबाटै परास्त गर्ने कुरामा कांग्रेस अडिग छ ।

सरकारको भूमिकाको आलोचना गर्नुहुन्छ । कांग्रेसकै भूमिकाप्रति जनता सन्तुष्ट छैनन् । अझ सभापति शेरबहादुर देउवाको कार्यकालमा त कांग्रेस झन् कमजोर भयो भनिन्छ नि ?

कांग्रेसका बारे हुने टिप्पणीहरू मैले पनि सुन्ने गरेको छु । तर यसमा बुझाइको समस्या हो । पार्टीभित्रकै केही आन्तरिक समस्याका कारण सभापतिजीलाई असफल चित्रण गर्ने प्रयास पनि भयो । सभापतिजीको कार्यकालको समीक्षा गर्दा कांग्रेसको एउटा राजनीतिक कालखण्ड सम्झनुपर्छ । त्यसभित्र गिरिजाबाबु, सुशील कोइराला र शेरबहादुरजी तीन जनाकै नेतृत्व जोडिएर आउँछ ।

शान्ति प्रक्रियाको शुरूआत, संविधान लेखनको अगुवाइ र संविधान कार्यान्वयनको सार्थक पहल गर्न कांग्रेसका यी तीनै नेता सफल भएका छन् । जहाँसम्म कांग्रेसको प्रतिपक्षी भूमिका छ हामीसँग जनताले अझ बढी अपेक्षा गर्नु स्वाभाविक हो । अब उपयुक्त बेला पनि भएको छ ।

सरकार र कम्युनिष्ट पार्टीले जनताको एजेण्डा बिर्सिसकेका छन् । जनताले पनि कम्युनिष्टबाट देशको हित हुन्न भन्ने महसूस गरेका छन् । त्यसैले अब सडक र सदन दुवै स्थानबाट कांग्रेसले अधिनायकवादी, सर्वसत्तावादी र भ्रष्ट कम्युनिष्ट सरकारको विरोधमा कदम चाल्छ । हाम्रो केन्द्रीय समितिको निर्णय नै छ कि ओलीजीले सत्ता सञ्चालनको नैतिक वैधता गुमाइसक्नुभएको छ ।

सरकारविरुद्ध खरो उत्रन्छौं त भन्नुभयो तर पार्टी नै आन्तरिक रूपमा कमजोर छ । कांग्रेसको महाधिवेशन र भावी नेतृत्वले पनि अर्थ राख्ला नि ?

पहिलो कुरा नेपाली कांग्रेस आन्तरिक वा बाह्य कुनै पनि कारणले कमजोर छैन । सात दशकदेखि नेपाली जनताको एजेण्डामा अडिग रहेको पार्टी नै नेपाली कांग्रेस हो । बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला, महेन्द्रनारायण निधि, शेख इद्रिस, रामनारायण मिश्र, योगेन्द्र शेरचनलगायतका महान् नेताहरूले कांग्रेसमा विचार र संगठनको जग हाल्नुभएको छ ।

पछिल्लो समय शान्ति र संविधानलाई बढी प्राथमिकता दिंदा केही आन्तरिक विषयहरूमा अलमल भएको हुनसक्छ । तर त्यसले कांग्रेसलाई कमजोर बनाएको छैन । अब १४औं महाधिवेशनपछि त कांग्रेसले आफूलाई अझ सशक्त बनाउँछ ।

त्यस्तो सशक्त कांग्रेस बनाउन अहिलेकै नेतृत्व निरन्तर रहन्छ कि फेरिन्छ ? तपाईंको दाबी केमा रहन्छ ?

नेतृत्व हस्तान्तरण भनेको सामान्य विषय होइन । कांग्रेसलाई नेतृत्व गर्न सक्ने नेताको कुनै अभाव छैन । एउटा व्यक्तिका कारण कांग्रेस बलियो वा कमजोर हुँदैन । मुलुकको आवश्यकता बलियो कांग्रेस हो । त्यसका लागि अबको महाधिवेशनमा एकताको सन्देश दिनुपर्छ । गुटभन्दा माथि उठ्ने प्रयास हामीले गर्नुपर्छ । मैले त सबै नेतालाई सहमतिमै जाऔं भनेर भनिसकेको छु । मेरो व्यक्तिगत दाबी सभापतिमा रहन्छ ।

कांग्रेसको महामन्त्री र उपसभापति भएर काम गरेको छु । नेतृत्वमा रहेर कांग्रेसलाई अझ बढी योगदान गर्न सक्छु भन्ने लागेको छ । देउवाजीलाई पनि भेटेर म सभापतिमा लड्छु सहयोग गर्नुस् भनेको छु । रामचन्द्रजी, सिटौलाजी, प्रकाशमान, शशांक सबैलाई भनेको छु । सके सहमतिका साथ अगाडि बढौं नसके मित्रवत् प्रतिस्पर्धा गरौं भन्ने छ । तर जो आए पनि कांग्रेसलाई एकढिक्का बनाउनुपर्छ ।

तपाईंको उम्मेदवारी सभापतिमा निश्चित हो कि वर्तमान सभापतिको विकल्पमा मात्रै तपाईं उम्मेदवार हुने हो ?

मेरो पहिलो प्रस्ताव पार्टीभित्र सहमतिको सम्भावना खोजौं भन्ने हो । सहमति जुट्यो भने जसका नाममा सहमति जुट्छ उसैलाई सहयोग गरौं । नभए प्रतिस्पर्धा स्वाभाविक छ । तर जुनसुकै अवस्थामा म सभापतिको उम्मेदवार हुँ । मैले देशभरका साथीहरूसँग परामर्श गरिरहेको छु । उहाँहरूले हौसला दिनुभएको छ । म अहिले यत्ति भनुँ कि म जुनसुकै परिस्थितिमा पनि कांग्रेसको सभापति पदको योग्य दावेदार हुँ ।

सभापति बने पार्टी कसरी हाँक्नुहुन्छ ?

सभापति एक्लैले पार्टी हाँक्ने होइन । कांग्रेसमा सामूहिक नेतृत्वको सवाल पनि छ । पदाधिकारीहरू पनि निर्वाचित भएर आउँछन् । सभापतिका रूपमा पार्टीको संगठनलाई जुझारु बनाउनु, पार्टीका कार्यक्रमलाई जनतासँग प्रत्यक्ष जोड्ने र नेपालका कम्युनिष्टहरूलाई परास्त गर्ने कांग्रेस बनाउन चाहन्छु । आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन सक्ने गरी पार्टीलाई सही नीति र नेतृत्व प्रदान गर्न सक्छु भन्ने लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर