होटल क्षेत्रमा दुई अर्ब नोक्सान – Nepal Press

होटल क्षेत्रमा दुई अर्ब नोक्सान

बैंकको ब्याज तिर्न नसकेपछि व्यवसायी समस्यामा

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण नेपालको होटल व्यवसायले दुई अर्बभन्दा बढीको नोक्सान बेहोरेको छ । नौ महीनादेखि होटल व्यवसाय बन्द हुँदा उक्त नोक्सान भएको हो ।

“नौ महीनादेखि होटल व्यवसाय बन्द हुँदा दुई अर्बभन्दा बढी नोक्सान भएको छ” नेपाल होटल एशोसिएसन (हान) का महासचिव साजन शाक्यले भने । उनका अनुसार गत वर्ष यस समयमा होटलहरूको अकुपेन्सी ७०\८० प्रतिशत रहेको थियो । नेपाल सरकारले गत वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको थियो ।

भिजिट नेपालमा विदेशी पर्यटकको आगमन राम्रो भएको शाक्यको भनाइ छ । ‘नेपालको पर्यटन क्षेत्रमा सरकारले गरेको कार्यप्रति होटल व्यवसायी उत्साही थियौं । तर, महामारीले हाम्रो व्यवसायलाई शून्यमा झार्‍यो’, उनले भने ।

। दिन–प्रतिदिन  नोक्सान बढ्दै जाँदा होटल व्यवसायीले बैंकको ऋण तिर्न नै धौ–धौ भइरहेको महासचिव शाक्यको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले पुनः कर्जा दिने भनिएको भए पनि यसको कार्यान्वयनमा ढिलाइ हुँदा आफूहरू अझ मर्माहत बनेको उनको भनाइ छ । ‘बैंकले हामीलाई चाँडोभन्दा चाँडो पुनःकर्जा दिनुपर्‍यो । नत्र भने हामी अझै चर्को समस्यामा फस्छौं’, शाक्यले भने ।

नेपाल सरकारले विदेशबाट आएका नेपाली नागरिकलाई होटलमा बस्नुपर्ने नियम बनाएपछि होटलले केही राहत पाए । तर, त्यो पर्याप्त हुन नसकेको होटल व्यावसायी बताउँछन् । हान अन्तर्गत रहेका करीब ६०\६५ ओटा होटलहरूले विदेशबाट आउने नेपालीलाई क्वारेन्टाइनका रूपमा राखिरहेका छन् ।

हानका अनुसार पर्यटकलाई मध्यनजर गरेर बनाइएका ‘टुरिष्ट स्ट्याण्डर्ड होटल’ भने अझै मारमा परेका छन् । प्रायः घर भाडामा लिएर होटल चलाउने टुरिष्ट होटलहरू बन्द हुँदा घर भाडा बुझाउन नै गाह्रो भएको छ ।

कोरोनाले होटल क्षेत्र पूर्ण प्रभावित बनिरहेका बेला ‘कोभिड–१९’ को ‘भ्याक्सिन’ चाँडै आउन सक्ने पछिल्ला समाचारले आफूहरू उत्साही बनेको होटल व्यवसायीको भनाइ छ । ‘भ्याक्सिन’ चाँडै आएमा होटल व्यवसाय पहिलाकै गतिमा पुग्ने उनीहरूको विश्वास छ ।

यसका लागि होटल व्यवसायी मार्केटिङमा लागिसकेका छन् । ‘हामीले मार्केटिङ गरिरहेका छौं । यसमा विभिन्न देशबाट ‘इन्क्वाइरी’ आइरहेको छ । आगामी मार्चसम्ममा हवाई क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आयो भने १५\२० प्रतिशतसम्म होटल अकुपेन्सी हुनसक्ने सम्भावना छ,’ शाक्यले भने ‘विदेशी पर्यटक नेपाल भित्राउनका लागि नेपाल सरकारले अनुमति दिइसकेको छैन ।

यसले पनि समस्या पारिरहेको छ । आशा गरौं अर्को वर्षबाट नेपालको पर्यटन क्षेत्र सुखद् बन्ला ।’ हान अन्तर्गतका होटलहरूले आफ्ना ‘चियरम्यान टु डोरम्यान’ सम्मका कर्मचारी तथा मजदूरहरूलाई होटलको स्टार अनुसार निश्चित तलब दिंदै आएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *