राष्ट्रसंघमा नेपालका ६५ वर्ष: रूसको भिटोले ६ वर्ष धकेलिएको कथा – Nepal Press

राष्ट्रसंघमा नेपालका ६५ वर्ष: रूसको भिटोले ६ वर्ष धकेलिएको कथा

राणाकालमा प्रस्ताव, राजाकालमा स्वीकार

इतिहास समाचार हो कि होइन ? पत्रकारिताका पण्डितहरूले आ–आफ्ना व्याख्या गरेका छन् । नेपाल प्रेसको आरम्भ भएकै दिन एउटा इतिहास समाचारको विषय बनेको छ । ६५ वर्षअघि नेपाल विश्वको सबैभन्दा ठूलो मञ्चमा प्रवेश गरेको दिन पारेरै नेपाल प्रेसको नेपाली पत्रकारिताको औपचारिक मञ्चमा प्रवेश भएको छ । इतिहासको एउटा पाटो खोतल्दै नेपाल प्रेसको उपस्थिति संयोग मात्र होइन ।

आज अर्थात् डिसेम्बर १४ नेपाल संयुक्त राष्ट्रसंघमा प्रवेश गरेको ठीक ६५ वर्ष पुगेको छ । सन् १९५५ को डिसेम्बर १४ (विक्रम संवत् २०१२ मंसीर २९) मा नेपालले संयुक्त राष्ट्रसंघमा प्रवेश पाएको थियो । नेपालका लागि उक्त दिन विश्व मञ्चमा प्रवेशको एक औसत दिन मात्रै थिएन । नेपालले आफ्नो वैश्विक कूटनैतिक अभ्यासका लागि पाएको एक विशिष्ट अवसर पनि थियो ।

नेपालले त्यसको व्यापक सदुपयोग ग¥यो पनि । संयुक्त राष्ट्रसंघको सदस्य हुनु अगाडिसम्म नेपालको बेलायत, अमेरिका, भारत, फ्रान्स र चीनसँग मात्रै कूटनीतिक सम्बन्ध थियो । सदस्य राष्ट्र बन्नु अगाडि चार देशसँग भएको कूटनैतिक सम्बन्धको संख्या अहिले १६८ पुगेको छ । यो संयुक्त राष्ट्रसंघमा नेपाल जोडिएपछिको देखिने कूटनैतिक उपलब्धि नै हो ।

त्यो दिन संयुक्त राष्ट्रसंघ प्रवेश गर्ने १६ सार्वभौम देशहरूमा नेपाल पनि एक थियो । दक्षिण एशियाबाट नेपालसँगै प्रवेश गर्ने देश श्रीलंका पनि थियो । अन्य मुलुकहरूमा अस्ट्रिया, अल्बानिया, बुल्गेरिया, कम्बोडिया, फिनल्यान्ड, हंगेरी, आयरल्यान्ड, इटाली, जोर्डन, लाओस, लिबिया, पोर्चुगल, रोमानिया र स्पेन थिए ।

सन् १९५५ को डिसेम्बर १४ मा नेपाल र श्रीलंकाले सदस्यता पाउनु अगाडि दक्षिणएशियाबाट संयुक्त राष्ट्रसंघमा जोडिएका तीन देशहरू मात्रै थिए । भारतले सन् १९४५ को अक्टोबर ३० मा, अफगानिस्तानले सन् १९४६ को नोभेम्बर १९ र पाकिस्तानले सन् १९४७ को सेप्टेम्बर ३० मा सदस्यता पाएका थिए ।

राणाकालमा प्रस्ताव, राजाकालमा स्वीकार

जतिबेला नेपालले संयुक्त राष्ट्रसंघमा सदस्यताको लागि निवेदन दिएको थियो, त्यतिबेला नेपालमा राणाशासन थियो । सन् १९४९ को जुलाई २२ मा नेपालको तत्कालीन परराष्ट्र मामिलाका महानिर्देशक जनरल विजय शमशेरले २७ पृष्ठको निवेदन लेखेर संयुक्त राष्ट्रसंघको सदस्यताको लागि आवेदन दिएका थिए ।

उनले सन् १९४९ को जुलाई २२ मा निवेदन लेखेर पठाएका थिए । तत्कालीन अमेरिकाको न्यू योर्कका नेपाली प्रतिनिधि मेजर पदमबहादुर खत्रीसँगको सहकार्यमा उक्त पत्र लेखिएको थियो । सन् १९४७ को अप्रिल २५ मा अमेरिकासँग नेपालले कूटनैतिक सम्बन्ध स्थापना गरेको थियो । त्यही कूटनैतिक सम्बन्धको आधारमा नेपालका प्रतिनिधि मेजर जनरल पदमबहादुर खत्री संयुक्त राष्ट्रसंघको मुख्यालय भएको शहर न्यू योर्कमा प्रतिनिधि थिए ।

संयुक्त राष्ट्रसंघमा सदस्यताको लागि नेपालको तर्फबाट पत्र लेख्ने मेजर जनरल विजयशमशेर राणा प्रधानमन्त्री मोहनशमशेरका छोरा भएको उनीसँग संगत गरेका नेपालका प्रथम संयुक्त राष्ट्रसंघका प्रतिनिधि ऋषिकेश शाहले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् । शाहको ‘प्रारब्ध र पुरुषार्थ’ नामक आत्मकथामा विजयशमशेरले तत्कालीन समयमा भारत र बर्मा (हालको म्यानमार)मा विभिन्न महावाणिज्य दूतावासहरू खोल्न नेतृत्व गरेको उल्लेख गरिएको छ ।

राणाकालमा दिएको निवेदनको सात वर्षपछि मात्रै नेपालको सदस्यता संयुक्त राष्ट्रसंघको सदस्यको रूपमा स्वीकार भएको थियो । त्यो सदस्यता स्वीकार भएको समयमा राणाकाल सकिएको थियो । प्रजातान्त्रिक व्यवस्थाको संक्रमणकाल रहेको थियो । र, राजा महेन्द्रले आफ्नै मातहत शासन संचालन गरिरहेका थिए । मातृकाप्रसाद कोइरालालाई दोस्रो प्रधानमन्त्रीत्व कालबाट अपदस्थ गरेपछि महेन्द्र हावी भएको संक्रमणकालमा २०१२ मंसीर २९ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो ।

सोभियत संघको भिटो

तत्कालीन नेपालको परराष्ट्र विभागका महानिर्देशकले पत्र लेखेर संयुक्त राष्ट्रसंघको सदस्य बन्न औपचारिक प्रस्ताव गरेको दुई महीना नपुग्दै नेपालको सदस्यता बारेमा सुरक्षा परिषद्मा छलफल भएको थियो । तर, सन् १९४९ को सेप्टेम्बर ७ मा नेपालको सदस्यतालाई सोभियत संघले अस्वीकार गरेको थियो । सुरक्षा परिषद्का पाँच सदस्यहरूमा कुनै एकले अस्वीकार गर्दा सदस्य हुन नपाउने ‘भिटो’ शक्ति लाएर सोभियत संघले नेपाललाई सदस्य बन्न बञ्चित ग¥यो । नेपाललाई सदस्य बन्न रोक्न सोभियत संघले प्रयोग गरेको भिटो ३१औं थियो ।

नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बन्न सोभियत संघले बञ्चित गरेको प्रसंग संयुक्त राष्ट्रसंघको छलफलको हलमा मात्रै सीमित भएन । यसले विश्व प्रसिद्ध अमेरिकी अखबार दि न्यू योर्क टाइम्समा पनि स्थान पाएको थियो । पत्रकार ए.एम. रोसेन्थालको नाममा छापिएको हेडलाइन थियो, ‘संयुक्त राष्ट्रसंघमा रसियाको ३१औैं भिटोले नेपाल र अन्य नौ मुलुकलाई सुरक्षा परिषदको भोटमा सदस्य बन्नबाट बञ्चित ग¥यो ।’ उक्त हेडलाइनपछिको लिडलाइनमा लेखिएको छ, ‘सोभियत संघले दर्ता गरेको ३१औं भिटोको कारण हिमाली अधिराज्य नेपाल संयुक्त राष्ट्रसंघबाट बाहिर पारिएको छ ।’

न्यू योर्क शहरको लेक सक्सेस भन्ने डेटलाइनमा सन् १९४९ को सेप्टेम्बर ८ मा छापिएको उक्त समाचार अहिले पनि अनलाइन मार्फत हेर्न सकिन्छ । भारतसँग अत्यन्तै निकट सम्बन्ध रहेको सोभियत संघले भारतकै इशारा र आग्रहमा नेपाललाई संयुक्त राष्ट्रसंघमा रोक्न भिटो प्रयोग गरेको हुनसक्ने नेपाली कूटनैतिक जानकारहरूको तर्क छ ।

जहाँ नेपाल देखियो

नेपाल संयुक्त राष्ट्रसंघका १९३ सदस्यमा एक हो । तर, नेपाली भूमिका भने संयुक्त राष्ट्रसंघमा निकै महत्वपूर्ण छ । नेपालका प्रथम संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि ऋषिकेश शाहदेखि हालका स्थायी प्रतिनिधि अमृतबहादुर राईसम्म आइपुग्दा धेरै देखिने कामहरू भएका छन् । प्रथम स्थायी प्रतिनिधि ऋषिकेश शाह सन् १९६१ को सेप्टेम्बर १८ मा हवाई दुर्घटनामा परेर मृत्यु भएका संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डको घटनाको अन्तर्राष्ट्रिय छानबिन आयोगका अध्यक्ष भएका थिए ।

तत्कालीन नर्दन रोधेसिया भनिने हालको जाम्बियामा भएको दुर्घटनाको निष्पक्ष छानबिनको नेतृत्व नेपालका शाहले गरेका थिए ।

नेपाल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा समेत दुईपटक निर्वाचित भएको देश हो । सन् १९६९ देखि १९७० तथा सन् १९८८ देखि सन् १९८९ मा नेपाल सुरक्षा परिषद्को निर्वाचित सदस्य भएको थियो । यति मात्रै हैन, नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार काउन्सिलमा सन् २०१८ देखि सन् २०२० मा निर्वाचित हुने सफलता पायो । काउन्सिलमा पुनः नेपाल निर्वाचित भएर सन् २०२१ देखि सन् २०२३ सम्म पुग्न सफल भएको छ ।

नेपालले दुईजना संयुक्त राष्ट्रसंघको उपमहासचिव पाएको छ । सन् २००० देखि २००८ सम्म कुलचन्द्र गौतम तथा सन् २०१२ देखि सन् २०१७ सम्म ज्ञानचन्द्र आचार्य उक्त पदमा पुग्न सफल भएका थिए ।

यस्तै, नेपाल संयुक्त राष्ट्रसंघ शान्ति सेनाको महत्वपूर्ण सहयोगी देश हो । अहिले नेपाल शान्ति सेनामा योगदान गर्ने विश्वको चौथो ठूलो फौजको नेतृत्व गर्ने देश हो । अरबदेखि अफ्रिकी देशहरूमा शान्ति स्थापनाको नेतृत्व गर्ने नेपाली सेनाको त्याग पनि अत्यन्तै धेरै छ । नेपाली सेनाको आधिकारिक वेबसाइटमा जनाए अनुसार शान्ति सेनामा खट्दा ६८ जनाले ज्यान जुमाएका छन् भने ६६ जना अंगभंग भएका छन् ।

यी देखिने भूमिकाहरू बाहेक नेपालले संयुक्त राष्ट्रसंघको विभिन्न निकायमा रहेर आफ्ना भूमिकाहरू निर्वाह गरिरहेको छ । राष्ट्रसंघीय अन्य विभिन्न विषयगत समिति र गैरसरकारी भूमिकामा पनि नेपालको प्रतिनिधित्व गर्व गर्न लायक छ । यसको पछिल्लो कडी बनेकी छन्, अधिकारकर्मी बन्दना राणा । उनी महिला विरुद्ध हुने विभेद उन्मूलन समिति सिडको अध्यक्ष निर्वाचित भएकी छन् ।

संयुक्त रास्ट्रसंघका लागी प्रथम नेपाली प्रतिनिधिले दिएको प्रथम मन्तव्य (भिडियो)

नेपाल सन १९५५ को डिसेम्बर १४ मा संयुक्त रास्ट्रसंघको सदस्य देश भयो । सदस्य देश भएको करिब एक बर्षपछि मात्रै नेपाललको आफ्नो पहिलो प्रतिनिधि पठाएको थियो । ऋषिकेश शाह संयुक्त रास्ट्रसंघमा नेपाली प्रतिनिधि भएर जाने प्रथम व्याक्ति हुन । उनी सन १९५६ को अक्टोबरमा न्यू योर्क पुगेका थिए । अंग्रेजी भाषाको आत्मकथा ‘लुकिङ ब्याक एट माइ ओन करियर’ पुस्तमा शाहले अक्टोबरमा न्यू योर्क पुगेको उल्लेख गरेका छन । सोहि आत्मकथामै शाहले आफुले ओहोदाको प्रमाणपत्र लिएर पहिलो छलफलमा सहभागी भएको बिषय हंगेरिमा सोभियत संघले गरेको आक्रमण थियो । संयुक्त रास्ट्रसंघको दोश्रो आपतकालिन बिषेश छलफलमा आफ्नो छोटो मन्तव्य दिएका थिए शाहले ।

नेपालको प्रतिनिधि भएर संयुक्त रास्ट्रसंघ मुख्यालयमा शाह सहभागी भएको पहिलो बिषय भने स्वेज नहरको संकट बारेमा भएको संयुक्त रास्ट्रसंघको पहिलो आपलकालिन बिषेश अधिबेशन थियो । उक्त अधिबेशनमा उनले इजिप्टमाथी बेलायत र फ्रान्सले गरेको आक्रमणको विपक्षमा मत दिएका थिए ।

आफ्नो पहिलो मन्तव्य बारेमा आफ्नो आमत्मकथामा शाहले लेखेका छन, ‘हामीले हंगेरिमाथी सोभियत संघको ससस्त्र कार्बाहीको विरोधमा वक्तव्य दियौँ । प्रस्तावको पक्षमा खसालेको मतबारे मैले दिएको स्पष्टिकरणले गर्दा नेपालले प्रचार पायो । त्यसबाट अरु शक्ति रास्ट्रहरुले भारतले पनि भारतले पनि नेपाललाइ सधै आफ्नो पक्षमा राख्न नसक्दो रहेछ भन्ने कुरा बुझ्ने मौका पाए ।’
यस्तो थियो शाहले सन १९५६ नोभेम्बर ९ मा दिएको छलफलको मन्तव्य

नेपाल सानो देश भएतापनि यसले आफ्नो इतिहासमा स्वातन्त्रतालाइ सबैकुराभन्दा धेरै प्रशंसा गरेको छ । मेरो देश साना देशहरुको स्वतन्त्रताको लागी बलियो र सर्वस्विकार्य विश्वाश राख्ने देश हो । स्वभाविक रुपमै, एक सानो देश भएकोले हाम्रो हृदय सहानुभुतिको लागी हंगेरी देशका नागहिरुहरुसँग पुग्छ जो भारि मनले आफ्नो स्वतन्त्रता र प्रजातन्त्रको लागी संघर्ष गरिरहेका छन ।

प्रतिक्रिया

One thought on “राष्ट्रसंघमा नेपालका ६५ वर्ष: रूसको भिटोले ६ वर्ष धकेलिएको कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर