पोग्वाले छिट्टै म्यानचेस्टर युनाइटेड छाड्नेछन्ः एजेन्ट रायोला – Nepal Press

पोग्वाले छिट्टै म्यानचेस्टर युनाइटेड छाड्नेछन्ः एजेन्ट रायोला

एजेन्सी । एजेन्ट मिनो रायोलाले पाउल पोग्वा म्यानचेस्टर युनाइटेडमा खुसी नभएको र अर्को स्थानान्तरणको समयमा उनले टिम परिवर्तन गर्ने जानकारी दिएका छन् ।

युनाइटेडमा फ्रान्सेली मिडफिल्डर पोग्वाको सम्झौता सन् २०२२ को जुनसम्म छ । २७ वर्षीय पोग्वाले जारी सिजन प्रिमियर लिगमा ८ खेल खेलेका छन्, त्यसमध्ये ५ खेलमा मात्र उनी सुरुआती ११ मा रहे । उनले शनिबार सिजनको पहिलो गोल गरेका हुन् ।

‘पाउल खुसी छैनन् । उनी यो कुरा आफैं व्यक्त गर्न सक्षम छैनन् । तर उनको आकांक्षाअनुसार नै काम हुनेछ,’ टुट्टोस्पोर्टससँगको कुराकानीमा पोग्वाका एजेन्ट रायोलाले भने, ‘उनी टिम परिवर्तन गर्दैछन् ।’

‘उनीसँग एउटा सम्झौता छ जुन अझै डेढ वर्ष कायम हुनेछ । तर मेरो बिचारमा पहिलो पक्षका लागि समस्या समाधानको एकमात्र उपाय उनलाई बेच्नु हुनेछ,’ रायोलाका अनुसार सम्झौता नवीकरण पोग्वाको इच्छाअनुसार भएको थिएन ।

पोग्वाले सन् २०१६ मा युभेन्टसबाट युनाइटेड फर्कने गरी ८९ मिलियन पाउन्डको सम्झौता गरेका थिए । उनले आफू रियल मड्रिडबाट खेल्ने सपना बुनिरहेको बताउने गरेका छन् । गत नोभेम्बरमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि युनाइटेडको पछिल्लो परिस्थितिमा पोग्वा खुसी नरहेको बताएका थिए ।

पोग्वाले गत सिजन अधिकांश समय गोलीगाँठाको चोटबाट गुजारेका थिए । उनले सबै प्रतियोगितामा गरी २२ खेल खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *