क्यानको बलियाे पहलले सन्दीप विश्वकपमा, चतुर र पारसविरुद्धको प्रपोगाण्डा पटाक्षेप – Nepal Press

क्यानको बलियाे पहलले सन्दीप विश्वकपमा, चतुर र पारसविरुद्धको प्रपोगाण्डा पटाक्षेप

काठमाडौं । अन्ततः क्रिकेटर सन्दीप लामिछानेको विश्वकप खेल्ने सपना र उनलाई विश्वकपमा हेर्ने नेपाली दर्शकहरूको चाहना पूरा हुने भएको छ । अमेरिकी दूतावासले भिसा नदिएपछि विश्वकपका दुईवटा म्याच खेल्न वञ्चित भए पनि वेस्ट इन्डिजमा हुने बाँकी दुई म्याचमा उनी उपलब्ध हुनेछन् ।

दुईपटकको प्रयासमा पनि अमेरिकी दूतावासले भिसा दिन इन्कार गर्दा सन्दीप निकै निराश थिए । उनी यसअघि आफूविरुद्ध मुद्दा पर्दा र जेल जाँदा पनि यति नटुटेको निकटस्थहरू बताउँछन् । हुन पनि एउटा नेपाली खेलाडीका लागि विश्वकप खेल्नु दुर्लभ अवसर नै हो । १० वर्षपछि बल्लतल्ल फर्केर आएको यो अवसरबाट वञ्चित हुनुभन्दा पीडादायी सन्दीपका लागि के हुन सक्थ्यो । त्यसमाथि सन्दीप ती खेलाडी हुन्, जसले नेपाललाई टी २० विश्वकपमा पुर्‍याउन अहम् भूमिका निभाएका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याउने सबैभन्दा ठूलो श्रेय नेपाल क्रिकेट संघ (क्यान) लाई नै दिइनुपर्छ । सन्दीपको मुद्दाको फैसला लगत्तैबाट क्यानले उनलाई विश्वकपमा खेलाउन पहल थालेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग क्यानका पदाधिकारीले निरन्तर संवाद र समन्वय गरेका थिए । आईसीसीले पनि सन्दीपलाई नेपाली टीममा समावेशका लागि निकै नै लचकता प्रस्तुत गर्‍यो ।

सन्दीपको मुद्दा फैसलाअगाडि नै नेपालले आफ्नो १५ सदस्यीय टीम घोषणा गरिसकेको थियो । तर, त्यस बेला टीम घोषणा गर्दा फैसला पछाडि सन्दीपलाई समावेश गर्न सकिने रणनीति क्यानले लिएको हो । स्रोतकाअनुसार सन्दीपले सफाइ पाएको खण्डमा १५ सदस्यीय स्क्वाडबाट एकजना फास्ट बलरलाई सन्दीपले प्रतिस्थापन गर्ने आईसीसीसँग क्यानको समझदारी थियो । त्यहीअनुसार फैसलापछि आईसीसीले सन्दीपलाई १५ सदस्यीय टीममा समावेश गर्न अनुमति दियो । तर, सन्दीपले भिसा नपाएपछि फेरि पुरानै स्क्वाडलाई निरन्तरता दिइयो ।

अमेरिकाको भिसाका लागि क्यानले अधिकतम प्रयास गरेको हो । पहिलो पटकमा भिसा दिन इन्कार गरिएपछि क्यानले सरकारलाई गुहारेको थियो । क्यानका पदाधिकारीहरू सन्दीपलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठदेखि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसम्मको दैलो ढक्ढकाउन पुगे । खेलकुद परिषददेखि खेलकुद मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालय सबैले सन्दीपको विषयमा चासो र गम्भीरता पनि देखाए । परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट समेत जारी गरेको थियो । तर, दूतावासले यसलाई लत्त्याइदिएपछि सरकारको केही लागेन ।

अमेरिका जाने ढोका बन्द गरिएपछि क्यानले ‘ट्र्याक टु’ अन्तर्गत सन्दीपलाई वेस्ट इन्डिज लैजान पहल सुरू गरेको हो । तर, यो प्रक्रियालाई भने निकै गोप्य राखियो जुन निकै महत्त्वपूर्ण छ । सन्दीपलाई फलानो देशबाट लैजाने भनेर ढिंडोरा पिटिएको भए फेरि पनि एकथरि तत्त्वहरू उनलाई रोक्न सलबलाउने थिए । सम्बन्धित दूतावासमा भिसा नदिनका लागि लबिङ सुरु हुन सक्थ्यो, जसरी अमेरिकी दूतावासमा गरिएको थियो । तर, यसपालि उनीहरूले चालै पाएनन् ।

सन्दीपले अमेरिकाको भिसा नपाएपछि एउटा जमातले क्यानविरुद्ध अफवाहको खेती सुरू गरेको थियो । एकाध खेल पत्रकार र मिडियाले क्यानले सन्दीपलाई १५ सदस्यीय स्क्वाडमा समावेश नगरेकाले नै उनलाई अमेरिकाले भिसा नदिएको भन्दै भ्रम फैलाएका थिए । यसलाई पत्याएर क्यानका अध्यक्ष र सचिवविरुद्ध सामाजिक सञ्जालमा तीव्र आक्रमण भइरहेको थियो । सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याइएपछि यस्तो नियोजित प्रपोगाण्डा उदांगो भएको छ ।

सन्दीपको भिसा प्रकरणमा क्यानलाई दोष दिने कुनै ठाउँ छैन । उनले सफाइ पाएकै दिन कत्ति पनि ढिलाइ नगरीकन क्यानले निलम्बन फुकुवा गरेको हो । लगत्तै आईसीसीसँग समन्वय र भिसा प्रक्रिया पनि सुरु गरिएको थियो । क्यानले एक खेलाडी प्रतिस्थापनका लागि आईसीसीसँग अनुमति माग्यो । जसअनुसार एक खेलाडीको स्थानमा सन्दीपलाई स्क्वाडमा समावेश गरिएको थियो । प्रतिस्थापित खेलाडीलाई अमेरिकामा टीमसँगै रहने गरी ट्राभलिङ रिजर्भमा राखियो । तर, सन्दीपको भिसा नआइसकेको हुँदा क्यानले कुन खेलाडीलाई उनले प्रतिस्थापन गरेका हुन् भन्ने खुलासा गरेको थिएन । त्यसैले प्रपोगाण्डा फैलाउनेहरूले स्पेस पाए । यति मात्र नभएर कथंकदाचित सन्दीपको भिसा नलागेको खण्डमा पुरानै स्क्वाडलाई निरन्तरता दिन पनि आइसीसी मञ्जुर भएको थियो ।

यथार्थमा सन्दीपविरुद्ध अदालतमा मुद्दा परेदेखि कसैले उनलाई अनवरतरूपमा बलियो साथ दिएको छ भने त्यो क्यान नै हो । खासगर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चौतर्फी आक्रमण सहेर भए पनि सन्दीपको पक्षमा निरन्तर अडान लिएका हुन् । सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गरे लगत्तै क्यानले राष्ट्रिय टिममा समावेश गर्ने निर्णय गरेको थियो । त्यस बेला एउटा कित्ताबाट क्यानको तेजोवध गरिएको थियो । महिलावादी अभियन्तादेखि गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेताहरूले सामाजिक सञ्जालमै क्यानको निर्णयप्रति विरोध जनाएका थिए । तर, चतुर टसमस भएनन् ।

सन्दीपलाई टीममा समावेश गर्ने क्यानको निर्णय नेपालका लागि निकै प्रतिफलदायी पनि बन्यो । नेपालको एक दिवसीय मान्यता जोगाउन, एसिया कपमा सहभागी गराउन र टी २० विश्वकपमा पुर्‍याउन सन्दीपले निर्णायक भूमिका निभाए । लिग २ मा नेपालले पछिल्ला १० मध्ये ९ वटा म्याच लगातार जितेर नेपालले एक दिवसीय मान्यता जोगाएको हो । ती खेलहरूमा सन्दीपले बलिङबाट मात्र नभएर ब्याटिङबाट पनि योगदान दिएका थिए ।

नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का ९ महिनाअगाडि क्यानको सचिव बने । विगतमा सन्दीपसँग पारसको केही व्यक्तिगत तीतामीठा थिए होलान् । तर, क्यानमा आइसकेपछि पारसले सन्दीपप्रति कुनै पनि मनमुटाब नराखीकन उनलाई बलियो साथ दिँदै आएका छन् । चीनमा आयोजित एसियन गेम्समा सहभागी नहुने सन्दीपले निर्णय लिँदा पारसले उनलाई भेटेर फकाएका थिए ।

अहिलेको भिसा प्रक्रियामा पनि सबैभन्दा बढी पारस नै खटिएका थिए । उनी विश्वकप हेर्न अमेरिका जाने योजनामा थिए, तर सन्दीपको भिसा नलागेकाले नै रोकिएका हुन् । अमेरिकी दूतावासदेखि नेपालका सरकारी निकायहरूमा उनले नै समन्वय गरिरहेका थिए । यद्यपि, सार्वजनिकरूपमा खुलेर सन्दीपको पक्षपोषण नगरेको भन्दै फ्यानहरू अझै पनि उनीप्रति सन्तुष्ट छैनन् ।

सन्दीपले आज फेसबुकमा लेखेको स्टेटमेन्टमा पनि चतुर र पारसको नामै लिएर धन्यवाद दिएका छन् । क्यानविरुद्ध फैलाइएको प्रपोगाण्डामा विश्वास नगर्न उनले आग्रह गरेका छन् ।

जे होस, सन्दीपको उपस्थितिले नेपाली टीमको मनोबल उकासिने छ नै । नेपालको बलिङसँगै ब्याटिङ स्ट्रेन्थ पनि बढेको छ । कप्तानले ढुक्कसँग चार ओभर बल थमाउन सक्छन् । चाहिएको बेला महत्त्वपूर्ण विकेट लिने क्षमता सन्दीपको छ । यद्यपि, वेस्ट इन्डिजको पीचले स्पिनरभन्दा फास्ट बलरलाई बढी मद्दत गर्छ । लामो समयदेखि प्रतिस्पर्धात्मक क्रिकेटबाट बाहिर रहेकाले सन्दीपको फिटनेस र फर्ममा पनि प्रश्न छ । अदालतबाट सफाइ पाएपछि उनी मानसिकरुपमा भने दबाबमुक्त छन् ।

सन्दीपले विश्वकपमा कस्तो गर्लान् त्यो आफ्नो ठाउँमा छ । तर, उनले विश्वकप खेल्न पाउनुपर्थ्यो । सन्दीपको समावेशले क्रिकेट समर्थकहरूमा उत्साह भरिएको छ । नेपालले तीनवटा म्याच खेल्दैछ र तीनवटै प्रतिस्पर्धी टेस्ट राष्ट्र हुन् । श्रीलंका, साउथ अफ्रिका र बंगलादेशमध्ये कम्तिमा एउटालाई नेपालले स्तब्ध पार्न सक्यो भने त्यो ठूलो सफलता मानिनेछ । सन्दीपले अमेरिकामा पर्सी हुने श्रीलंकाविरुद्धको म्याचमा खेल्न पाउने छैनन् । साउथ अफ्रिका र बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा हुने खेलहरूमा सम्भवतः उनी प्लेइङ ११ मा अटाउन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर