देउवा निवासमा माधवले पोखे दिक्दारी, चार नेताबीच के के विषयमा भयो छलफल ? – Nepal Press

देउवा निवासमा माधवले पोखे दिक्दारी, चार नेताबीच के के विषयमा भयो छलफल ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि कुनै छलफलमा सहभागी हुन नपाएको र आफूहरु अपमानित भएर बसिरहेको भन्दै विपक्षी गठबन्धनका शीर्ष नेतासँग दिक्दारी पोखेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ माधव नेपाल, महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरुको भेटमा नेपालले दिक्दारी पोखेका हुन् । प्रमुख सचेतक मेटमणि चौधरीसहित देउवा निवास पुगेका नेपालले जसपा विभाजनपछि अन्योल थपिएको बताएका थिए ।

शीर्ष बैठकमा प्रचण्ड र केपी ओलीले जसपा फुटाएको र नेकपा एस पनि विभाजन गर्न अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधनको सम्भावना कायमै रहेकोबारे समेत छलफल भएको थियो । कांग्रेसलाई सदन अवरोध खुलाउन माधव नेपालको समेत आग्रह रहेको नेताहरुले बताएका छन् । कांग्रेसले अवरोध गरेको निहुँमा सदन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने र त्यही मौकामा आफ्नो दल विभाजन गर्ने अध्यादेशसमेत आउन सक्ने भएपछि नेपालले कांग्रेसलाई लचिलो बन्न आग्रह गरेको बताइन्छ ।

सर्वोच्च अदालतले जसपा विभाजनसम्बन्धी उपेन्द्र यादवको मुद्दामा दिने फैसलापछि नयाँ मुभ लिन सकिने एक नेताले बताए । नेताहरुको छलफलमा अदालतमा विचाराधीन मुद्दाको बारेमा समेत सामान्य छलफल भएको स्रोतले जनाएको छ ।

बुधबारको छलफलमा मधेश सरकारमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई जोगाउनेबारे छलफल भएको छ । त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा कांग्रेसको सहयोग आवश्यक पर्नेबारे समेत छलफल भएको छ ।

माधव नेपाल सत्तापक्षमा रहे पनि असन्तुष्ट छन् । आफूलाई रमिते बनाइएको र कुनै छलफल तथा बैठकमा नबोलाइएकोमा उनले अपमानित महसुस गरेका छन् । केही समय पर्खेर हेर्ने तर यही अवस्थामा नबस्ने उनले पार्टीका आन्तरिक बैठकमा बताएका छन् । बजेट र नीति कार्यक्रममा समेत आफ्नो पार्टीलाई बाइपास गरिएको नेपालको भनाइ छ ।

देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा माधव नेपालको उपस्थिति त्यसैको संकेत भएको नेकपा एसका नेताहरुले बताएका छन् । यद्यपि बुधबारको छलफल मधेश प्रदेशको सरकारका बारेमा केन्द्रित रहेको चौधरीले बताए ।

चौधरीले मधेश सरकार जोगाउन चार दलबीच सहमति भएको र यसको असर संघीय सरकारमा पनि पर्न सक्ने बताए । उनले आफूहरु अहिलेको सत्ता गठबन्धनमा लतारिएर नबस्ने बताए । एमाले, माओवादी र जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि नेकपा एसलाई उनीहरुले सहभागी नगराएकाले आफूहरु स्वतन्त्र ढंगले छलफल गर्न गएको उनको भनाइ छ ।


प्रतिक्रिया

3 thoughts on “देउवा निवासमा माधवले पोखे दिक्दारी, चार नेताबीच के के विषयमा भयो छलफल ?

  1. यिनै हुन् नेपाललाई अस्थिर बनाईराख्ने विदेशीका एजेण्ट । देश स्थिरतातर्फ जाने संकेत पायोकि यिनलाई डाहा हुन्छ । अहिले त दिल्लीले खुवाएको असुल्न लागेको होला ।

  2. के चाहन्छन् माधव नेपाल?
    स्पष्ट छ, माधव कुनै पनि हालतमा एमालेलाई कमजोर बनाउन चाहन्छन्। सत्ता समीकरणमा एमालेको वर्चश्व माधव नेपालका लागि पीडाको विषय बनेको छ। त्यसैले त भौंतारिएर बुढानिलकण्ठमा शेरबहादुर देउवाको दौराको फेर समात्न पुगेका छन्। #सानो_चित्तका_पात्र
    यस्ता पात्र नेता बन्ने नैतिक अधिकार राख्दैनन्।

  3. यी चारैजना यो मुलुकलाई रसातल पुराउने पात्र हुन शेरबहादुर देउवा सुरासुन्दरी देखि प्राडो पजेरो र करोडौं मा सांसदहरूको मुल्य राख्ने र अपचलनका मसिया दरवारमा प्रजातन्त्र बुझाउने देखि श्रीमती र छोरालाई शक्ति दुरुपयोग गरेर दाम कमाउन लगाउने अर्का पात्र माधवकुमार नेपाल अरूण तेस्रो जलविद्युत आयोजना देखि पदलोलुप मान संमान र स्वार्थको लागि देशै बन्दगी समेत तेस्रो र चौथो परिचालित व्यक्तिहरू हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर