सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासको अझै आनाकानी, सरकारको पहल जारी – Nepal Press

सन्दीपलाई भिसा दिन अमेरिकी दूतावासको अझै आनाकानी, सरकारको पहल जारी

परराष्ट्रमन्त्रीलाई भेटेर अमेरिकी दूतावासका अधिकारीले के भने ?

काठमाडौं । नेपालसमेत सहभागी हुने टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा ५ दिनपछि सुरु हुँदैछ । दोस्रोपटक विश्वकप खेल्ने उत्साहमा छन् नेपाली क्रिकेट समर्थक । तर, नेपाललाई विश्वकपमा पुर्याउन प्रमुख भूमिका खेलेका क्रिकेटर सन्दीप लामिछाने भने यो मेघा इभेन्टमा छुट्न सक्छन् ।

विश्वकपको आयोजक राष्ट्र अमेरिकाले सन्दीपलाई अझै भिसा दिएको छैन । गत सोमबार सन्दीपलाई अन्तरवार्ताका लागि बोलाएर दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । त्यसयता सरकारी स्तरबाट नै दूतावाससँग कुराकानी भइरहेको भए पनि ठोस प्रगति भएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुद परिषद हुँदै खेलकुद मन्त्रालयमा सन्दीपको भिसा रोकिएको बारे पत्राचार गरेको थियो । खेलकुदबाट परराष्ट्र मन्त्रालयमा पत्राचार भयो । त्यस आधारमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वयमले अग्रसरता लिएका छन् । तर, दूतावासले सकारात्मक जवाफ नदिएको स्रोत बताउँछ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले दूतावासका उच्च अधिकारीलाई मन्त्रालयमै बोलाएर कुराकानी गरेका छन् । ती अधिकारीले घुमाउरो तरिकाले असमर्थता जनाएको स्रोतले बतायो । उनले आफूहरु पनि दबाबमा रहेको संकेत गरेका थिए ।

यद्यपि, परराष्ट्रमन्त्रीले प्रयास जारी राखेका छन् । यदि परराष्ट्रमन्त्रीबाट सम्भव नभएको खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहलकदमी लिनुपर्ने हुन्छ । उनले आवश्यक पर्यो भने अमेरिकासँग आफैंले कुरा गर्ने बताइरहेका छन् । प्रधानमन्त्री र परराष्ट्रमन्त्री दुवै सन्दीपको विषयमा गम्भीर रहेको स्रोत बताउँछ ।

विभिन्न बिदाको कारणले अमेरिकी दूतावास बन्द भइरहेकाले पनि सन्दीपको भिसा प्रक्रिया अगाडि बढ्न ढिलाइ भइरहेको छ । गत बिहीबार बुद्ध जयन्तीको सार्वजनिक बिदा थियो । शुक्रबार एक दिन दूतावास खुल्यो ।

शनिबार र आइतबार दूतावासमा साप्ताहिक बिदा हुन्छ । आज सोमबार पनि अमेरिकाको मेमोरियल डे भन्दै बिदा दिइएको छ । भोलि नेपालमा गणतन्त्र दिवसको सार्वजनिक बिदा छ ।

अमेरिकी दूतावासको क्यालेन्डरमा भोलि बिदा नभए पनि नेपालको बिदाले प्रभाव पर्न सक्छ । त्यसैले अब बुधबार मात्रै प्रक्रिया अघि बढ्न सक्ने बताइएको छ । स्रोतका अनुसार बिहीबारसम्म सन्दीपले भिसा पाउने नपाउने छिनोफानो भइसक्ने छ ।

भिसा नदिइएको विषयमा नागरिकस्तरबाट चर्को विरोध भएपछि दूतावास दबाबमा भने परेको छ । अमेरिकी राजदूत डीन आर थम्पसनले एकपटक सन्दीपलाई फेरि अन्तरवार्तामा बोलाउने सोच बनाएको दूतावास स्रोतले दाबी गर्यो ।

स्रोतका अनुसार उनी सन्दीपले सफाइ पाएको मुद्दाकै सम्बन्धमा केही सोधपुछ गर्न चाहन्छन् । सन्दीपको जवाफबाट सन्तुष्ट भएमा भिसा दिनसक्ने सम्भावना पनि दूतावास स्रोतले औंल्याएको छ ।

नेपालमा अदालतले सन्दीपलाई निर्दोष ठहर गरिसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फैसलालगत्तै उनीमाथिको निलम्बन फुकुवा गरेको थियो ।

यही आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न अनुमति दिएको छ । त्यसैले सन्दीपलाई विश्वकपमा खेलाउन न कुनै कानूनी अड्चन छ न यसमा कुनै नैतिक प्रश्न उठ्छ ।

अमेरिकी दूतावासमा सुमधुर सम्बन्ध भएका केही अधिकारकर्मी, अभियन्ता र सेलिब्रिटी नेताहरुले सन्दीपलाई रोक्न लविङ गरिरहेका छन् ।

अदालतले सफाइ दिइसकेपछि पनि केही मिडिया र मिडियाकर्मीहरु सन्दीपमाथि आक्रमण गर्न छोडेका छैनन् । उनलाई विश्वकप खेल्न रोक्न अमेरिकी दूतावासलाई दबाब र प्रभावमा राख्ने रणनीतिअनुसार नै समाचार र टिप्पणीहरु लेखाउने काम भइरहेको स्रोतको दाबी छ ।

स्रोत भन्छ, ‘जेसुकै भए पनि आफैंले आयोजना गरेको विश्वकपमा सहभागी एक देशको प्रमुख खेलाडीलाई बिनाआधार र कारण रोक्नु अमेरिकाको हेपाहापन हो । यो नेपालको स्वाभिमान र आत्मसम्मानको विषय पनि हो । सरकारले दह्रो खुट्टा उभिन सकेन भने सन्दीप विश्वकपमा छुट्ने पक्का छ ।’

नेपालले विश्वकपको वार्मअप म्याच आज क्यानाडाविरुद्ध खेल्दैछ । यसमा सन्दीप छुटेका छन् । दोस्रो वार्मअपमा पनि उनी अनुपस्थित रहने निश्चित छ । विश्वकपमा नेपालका दुई खेल अमेरिकामा र दुई खेल वेस्ट इन्डिजमा छन् । पहिलो खेल नेपालले नेदरल्यान्ड्सविरुद्ध ४ जूनमा खेल्दैछ । यदि अमेरिकाले भिसा दिएको खण्डमा जुनसुकै दिन सन्दीप अमेरिका गएर टीममा जोडिन सक्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर