अनलाइनमा नंग्याउन लगाएर पैसा कमाउने गिरोहकाे चंगुलमा नेपाली युवती – Nepal Press

अनलाइनमा नंग्याउन लगाएर पैसा कमाउने गिरोहकाे चंगुलमा नेपाली युवती

काठमाडौं । नवलपरासीकी २० वर्षीया युवती कमला (नाम परिवर्तन) काठमाडौंको माकलबारीमा जागिर खोज्दै जाँदा गत चैतको अन्तिम साता अञ्जली अधिकारीको सम्पर्कमा पुगिन् । सटरमा पसल राखेर चटपटे बेच्दै आएका व्यक्तिले कमलालाई अञ्जलीले जागिर दिने भन्दै नम्बर दिएका थिए ।

उनले अञ्जलीलाई फोन गरिन् । जवाफ आयो- ‘टाइपिङको काम छ, भेटेर कुरा गरौं न !’ कमला आफू जस्तै जागिर खोजिरहेकी साथीलाई लिएर स्थानीय एक क्याफेमा भेट्न पुगिन् । अञ्जलीले कामबारे बताइन्, मासिक कम्तीमा ३० हजार रुपैयाँसम्म पारिश्रमिक हुने आश्वासन दिइन् ।

‘त्यसपछि मेरो नागरिकता र पासपोर्ट मागियो । कोठामा बसेर काम गर्नुपर्ने र एउटा कोठामा एक जनामात्र बस्नुपर्ने भनिएको थियो । त्यसैले उनीहरुले नै फ्ल्याट खोजिदिए । चार कोठाको फ्ल्याटमा बस्न ४ युवती तयार थियौं’, कमला भन्छिन् ।

उनका अनुसार अञ्जली पनि अन्य दुई युवतीसहित माकलबारीमै फ्ल्याटमा बस्थिन् । बैशाख १ गते उनीहरुलाई फ्ल्याटमा राखियो । प्रत्येकलाई एकएक वटा ल्यापटप र क्यामरा दिइयो । प्रत्येक कोठामा बेग्लाबेग्लै वाइफाई जोडियो।

‘हाम्रो पासपोर्ट अगाडि देखाएर फोटो खिचेपछि पहिलो दिन आईडी बनाइयो । त्यसपछिका दुई दिन राम्रोसँग नेट चलेन । चौथो दिन अञ्जलीले गर्नुपर्ने काम भनिन् । उनी आफैले देखाएर सिकाउन थालिन् । त्यसपछि हामी झसङ्ग भयौं’, कमला भन्छिन् ।

उनका अनुसार फ्ल्याटमा रहेका चारै जना युवतीले आआफ्नो कोठामा बसेर अनलाइनमा आएकालाई उनीहरुको मागबमोजिम आफ्ना गोप्य अंगहरु देखाउनुपर्ने थियो । त्यसबापत उनीहरुलाई ‘कोइन’ आउँथ्यो। अनुहार नदेखाइ भनेबमोजिम गर्न उनीहरुलाई निर्देशन आयो ।

‘हामीले जति धेरै कोइन प्राप्त गर्न सक्यौं, हाम्रो तलब पनि त्यति नै धेरै हुने रहेछ । एउटा कोइनको २.७५ गुणा नेपाली रकम हामीलाई दिने भनिएको थियो, तर हामी काम सुनेर तर्सियौं’, कमला भन्छिन् ।

अञ्जली आफैंले पनि मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएकी थिइन् । अर्की एक युवतीको नाम लिएर मासिक ४–५ लाख रुपैयाँसम्म कमाउने गरेको पनि सुनाइन् ।

‘दैनिक ६ घण्टासम्म अनलाइन बसे हुन्छ भनिएको थियो । रातको समयमा धेरै ग्राहक अनलाइन आउने भएकाले त्यतिबेला बढी फाइदा हुने बताइएको थियो’, कमलासँगै फ्ल्याटमा बसेकी सिन्धुपाल्चोककी २० वर्षीया रमिला (नाम परिवर्तन)ले भनिन् ।

उनीहरुले लगाउने पारदर्शी कपडाहरु अञ्जली र उनको गिरोहले फ्ल्याटमा व्यवस्था गरिसकेको थियो । कोठामा शान्त भएर कुरा गर्नुपर्ने, कोठालाई आकर्षक देखाउनुपर्ने, चिटिक्क भएर बस्नुपर्नेलगायत निर्देशनलाई कडाइ साथ पालना गर्न उनीहरुले भनेका थिए ।

‘हामीले कुराकानी गर्दा विदेशी बनेर कुराकानी गर्नुपर्ने थियो’, रमिलाले सम्झिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले आर्थिक अवस्था कमजोर भएका युवतीहरुलाई पहिचान गरी गिरोहले जागिरको प्रलोभनमा स्ट्रिप च्याट (च्याटमा नांगिएर प्रस्तुत हुने र कोइन प्राप्त गरी पैसा कमाउने)मा लगाएको बताए ।

‘गिरोहले यसरी थुप्रै ठाउँमा सोझासाझा युवतीहरुलाई प्रयोग गरिरहेको हुनसक्छ । हामी अनुसन्धान गर्दैछौं’, एसएसपी भट्टराईले भने ।

सन् २०२० को तथ्यांकअनुसार स्ट्रिप च्याटका विश्वभर ९० करोड ६१ लाख प्रयोगकर्ता छन् । विश्वमा अधिक हेरिने वेभसाइटमा स्ट्रिप च्याट पनि पर्छ ।

प्रयोगकर्ताहरुले अनलाइनमा बसिरहेका युवतीहरुसँग कुराकानी गर्ने, आफ्नो मागबमोजिम उनीहरुलाई अंग देखाउन लगाउने र त्यसबापत डलर तिरेर किनेका कोइनहरु पठाउने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

कोरियन भाषा पढ्न भारतको सिमलाबाट आएकी युवती स्ट्रिप च्याटमा

भारतको सिमलामा परिवारसँग बस्दै आएका दिदीबहिनी कोरिया भाषा सिक्न एक वर्षअघि नेपाल आएर भक्तपुरको बालकोटमा बसिरहेका थिए । परिवार नेपालको रुकुमबाट सिमलामा बसाइ सरेकाले यी दिदीबहिनी नेपाली बुझ्छन् र सामान्य बोल्न पनि सक्छन् ।

बालकोटमा मामाको होटल रहेकाले उनीहरु दिउँसो होटलमा पनि बस्थे । यही क्रममा दुई महिनाअघि एक व्यक्तिले होटलमा बसिरहेको अवस्थामा उनीहरुसँग कुराकानी गरे । उनले आफूसँग आकर्षक काम रहेको भन्दै उनीहरुलाई अफर गरे । अनलाइनमा बसेर विदेशमा सामान बिक्री गर्नुपर्ने र मासिक कम्तीमा ३० हजार रुपैयाँ आम्दानी हुने उनीहरुलाई भनियो ।

कोठामै बसेर गर्न सकिने र त्यसका लागि पासपोर्ट र नागरिकता चाहिने ती व्यक्तिको भनाइ थियो । दिदीबहिनी दुइटा कोठामा बस्थे । दिदी तयार भइन् र पासपोर्ट र नागरिकता बुझाइन् । केही दिनमा उनलाई ल्यापटप र क्यामरा पनि उपलब्ध गराइयो ।

‘तर बुझ्दै जाँदा पछि काम त अर्कै रहेछ । म राति ११ देखि बिहान ३ बझेसम्म नियमित अनलाइन बस्थें । एक महिनामा ३० हजार पारिश्रमिक पाएँ’, सिमरन (नाम परिवर्तन)ले भनिन् ।

सिमरनलाई त्यसरी काम दिने व्यक्ति अञ्जलीका बोस भएको अनुसन्धान अधिकारी बताउँछन् ।

ल्यापटप चोरीको उजुरीले खुल्यो पोल

१६ वर्षीया किशोरी पनि गिरोहको जालमा परेकी थिइन् । करिब एक महिना काम गरेपछि ती किशोरी काम गर्न तयार भइनन् । काम गर्न नमानेपछि गिरोहले ल्यापटप र क्यामरा लग्यो ।

किशोरी आफ्नो ल्यापटप चोरिएको भन्दै काठमाडौंकै एक प्रहरी वृत्तमा उजुरी गर्न पुगिन् । उजुरी तिनै अञ्जलीका बोसविरुद्ध थियो, तर किशोरी प्रहरीकहाँ पुगेको ती व्यक्तिले चाल पाएपछि भागे । पछि किशोरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा पुगिन् । गिरोहले गरिरहेको धन्धाबारे प्रहरीले चाल पायो ।

‘गिरोहले स्ट्रिप च्याटमा युवतीहरुलाई प्रयोग गरेर मोटो रकम कमाइरहेको देखिन्छ । बोस भनिएका व्यक्तिको नाममा धेरै ठाउँमा वाईफाई जोडिएको देखिन्छ । ती ठाउँमा युवतीहरु प्रयोग भइरहेको पनि देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन् ।

एसएसपी भट्टराईले अञ्जलीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको र संलग्न अन्यको पनि खोजी भइरहेको बताए ।

‘प्रारम्भिक रुपमा हेर्दा एउटा जागिरको प्रलोभन देखाएर अर्कै काममा लगाएको देखिन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *