शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक, पार्टीलाई दिए हट्न तयार रहेको जानकारी – Nepal Press

शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक, पार्टीलाई दिए हट्न तयार रहेको जानकारी

काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले शीर्ष नेताहरुलाई भेटेरै आफू जुनसुकै बेला हट्न तयार रहेको सन्देश समेत सुनाएका छन् ।

नेकपा एसका एक नेताका अनुसार गत साता बसेको संसदीय दलको बैठकमै उनले आफू मन्त्री पद त्याग्न तयार रहेको र ढिलोमा जेठ १५ सम्म राखेर आफ्नो ठाउँमा अर्को कोही सांसदलाई मन्त्री बनाए हुने बताएका थिए ।

जेठ १५ मा बजेट आउने भएकाले बजेटसम्म बस्ने त्यसपछि नबस्ने उनको आशय देखिएको ती नेताले बताए । बुढाले मन्त्री पदमा आशक्ति नदेखाएपछि नेताहरुलाई सम्भावित पार्टी विभाजन रोक्न एकजना असन्तुष्ट सांसदलाई मन्त्री बनाउने मौका मिल्ने देखिन्छ ।

बुढाको भनाइ उदृत गर्दै ती नेताले भने–यो शहरी विकास मन्त्रालय त ठूलो रहेछ मैले केही मेलो पनि पाउन सकिन । मान्छेहरु धेरै आएर म त घरबाटै काम गर्दैछु । नेताहरु पैसा माग्न पनि आइरहने,म त आत्तिएँ ।

स्रोतका अनुसार बुढा मन्त्री बन्ने बेलामै नेकपा एसका एकजना पदाधिकारीको घरबास नै लिलामीबाट रोक्न २ करोड रुपैयाँ दिएका थिए । पार्टी नेताहरुको जानकारीमै उनले सो रकम दिएको बताइन्छ । त्यसपछि अर्का एक नेताले ५ करोड मागेको विषय नेकपा एसका सांसदहरुबीच सार्वजनिक चर्चा नै भइरहेको छ ।

क श्रेणीका निर्माण व्यवसायी समेत रहेका बुढा यार्सागुम्बाका पनि नामी व्यापारी हुन् । उनी जुवाका सोखिन भएकाले मन्त्री पदको दबाब थेग्न नसकेर आफैं छाड्न खोजेको बताइन्छ । नेकपा एसका नेता कार्यकर्तादेखि विभिन्न व्यक्तिले उनलाई पैसा मागेर हैरान पारेका छन् ।

बुढाले जीवनमा एकपटक मन्त्री बन्ने चाहना पूरा भएपछि अब अर्को चुनावपछि सक्रिय राजनीति समेत नगर्ने निकटस्थहरुलाई बताएका छन् । उनले अब दाजु कर्णबहादुर बुढाका लागि डोल्पाको मैदान खाली गर्न खोजेका छन् । कर्ण नेपाली कांग्रेसका नेता हुन् ।

राप्रपाबाट एमाले प्रवेश गरी २०७० मा पहिलोपटक सांसद बनेका बुढा त्यसयता लगातार डोल्पाबाट चुनाव जितिरहेका छन् । उनी यसअघि रविन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला केही समय राज्यमन्त्री थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर