किसान श्रेष्ठले तपाई र एमाले सिंगो मधेशको आशा र भरोसा हो भनेपछि ओलीको रोचक जवाफ (भिडिओ) – Nepal Press

किसान श्रेष्ठले तपाई र एमाले सिंगो मधेशको आशा र भरोसा हो भनेपछि ओलीको रोचक जवाफ (भिडिओ)

बारा । नेकपा एमाले विभाजनपछि केपी ओली र किसान श्रेष्ठ सम्भवतः पहिलो पटक एउटै मञ्चमा सँगैको सोफामा बसेर भाषण गर्ने मौका मिल्यो वैशाख ४ गते शुक्रबार । पार्टी विभाजनअघि ओलीसँग अति निकट मानिने किसान अन्तिममा माधव नेपालतिर लागेर शेरबहादुर देउवालाई विश्वासको मत दिन उभिएपछि ओलीले उनीबाट धोका खाएका थिए ।

बाराको प्रसौनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा ओली प्रमुख अतिथि थिए भने किसान सोही क्षेत्रको सांसदका हिसाबले अतिथि थिए । उपप्रधानमन्त्री रघुवीर महासेठसहित मधेशका धेरै एमाले नेताहरुको उपस्थितिमा किसानले ओलीको मात्र प्रशंसा गरेनन्, एमालेबाट मधेशले धेरै आशा गरेकोसमेत बताए ।

करिब तीन वर्षपछि किसानले ओलीको प्रशंसा गर्ने मौकालाई सदुपयोग गर्दै राजनीतिक रुपमा निकटताको अपेक्षासमेत ‘जताए’ । अहिले सामाजिक सञ्जालमा केपी ओलीले किसान अर्को चुनावसम्म एमालेमा आइसक्ने भनेको भिडिओ भाइरल भइरहेको छ । तर, त्यसअघि किसानले एमाले र ओलीको प्रशंसा गरेको भिडिओ पनि छ ।

किसानले आफ्नो भाषणमा भने-

‘अहिलेको गठबन्धन सरकारसँग विशेषगरी आजका प्रमुख अतिथि (केपी ओली)सँग तराई मधेश र मधेशी जनताले धेरै आशा भरोसा गरेका छन् । आजको प्रमुख अतिथिलाई मेरो अनुरोध के छ भने आज उहाँ र उहाँको पार्टीलाई सिंगो मधेशले धेरै आशा र भरोसा गरेको छ । म यो आशालाई निराशामा नबल्दन अनुरोध गर्न चाहन्छु । आउने बजेटमा मधेशको माग समेटिनेछ । धेरै राजनीतिक कुरा तपाईंहरुले बुझ्नु नै भएको छ । प्रमुख अतिथिबाट पनि केही आउनेछ । तपाईंले धेरै व्यस्तताका बीच यहाँ आएर हामीलाई हौसला प्रदान गरेकोमा धन्यवाद छ ।’

किसानले बोलेपछि अन्तिम वक्ता रहेका एमाले अध्यक्ष ओलीले पनि उनलाई जवाफ दिँदै आउने चुनावअघि नै उनी एमालेमा आइसक्ने र एमालेबाट चुनाव लड्ने दाबी गरे ।

ओलीले भने-

‘किसान श्रेष्ठ अर्को पार्टीमा हुनुहुन्छ क्यारे, के नाम रे त्यो पार्टीको ? अर्को चुनाव लड्ने बेलासम्म किसान पनि यही पार्टीमा भइसक्नु हुनेछ । जसले यो पार्टीबाट लड्छ, जसले चिन्हबाट लड्छ, त्यसैले जित्छ । यहाँ पनि अन्त पनि, मधेशभरि, देशभरि । किसान श्रेष्ठको भाषण सुनिहाल्नुभयो, देश विकास गर्न एमाले नै चाहिन्छ भन्नुभयो होइन ? म अर्को कुरातिर अलमलिएको थिएँ, त्यसै भनेको जस्तो लाग्छ, आज नभनेको भए अर्को भाषणमा भन्नु हुनेछ ।’

किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसमेत छन् । आफ्नो क्षेत्रको गाउँपालिकामा ओली प्रमुख अतिथि बनेपछि उनले विकास बजेटकै लागि ओलीलाई समेत खुसी पार्न उक्त भाषण गरेको र कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसमेत रहेकाले उनको सो भाषण आउने बजेट लक्षित रहेको उनी निकटहरु बताउँछन् ।

मधेशको सबैभन्दा ठूलो दल एमाले भएकाले एमालेप्रति आशा र भरोसा रहेको भन्नु अन्यथा नहुने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया

One thought on “किसान श्रेष्ठले तपाई र एमाले सिंगो मधेशको आशा र भरोसा हो भनेपछि ओलीको रोचक जवाफ (भिडिओ)

  1. दल सम्बन्धी अध्यादेश फिर्ता ल्याएको छ सरकारले । अब २०% को व्यवस्था राखेर समाजवादी र काँग्रेसलाई फुटाउनुपर्छ । काँग्रेसमा राजा चाहिन्छ भन्ने २०% भन्दा बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर