मायाजालमा पारेर एकल महिलामाथि लुट: घरबार गयो, तीन करोड स्वाहा भयो ! – Nepal Press

मायाजालमा पारेर एकल महिलामाथि लुट: घरबार गयो, तीन करोड स्वाहा भयो !

चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् ।

कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’

४५ वर्षकी प्रनिता एकल महिला हुन् । श्रीमानको सात वर्षअघि निधन भएको थियो । काठमाडौं घर भए पनि श्रीमान् हुँदा पनि बेवास्ता गर्ने भएपछि १० वर्षसम्म दुबईमा रोजगारी गरेर दुई सन्तान हुर्काएकी रहेछन् ।

एक छोरा र एक छोरी हुर्काएर छोराको विवाह पनि गरिदिएकी रहिछन् उनले । छोरा श्रीमतीसहित विदेश छन् । छोरीले पनि १२ पास गरिसकेकी छन् । विदेश गएर पढ्ने तयारी गरिरहेकी छोरी आमासहित परिवार नै ठगीमा परेर बेघरबार भएपछि न्याय पाउने आशामा चितवनका प्रशासन धाइरहेका छन् ।

प्रेमको नाटक गरेर संगठित अपराध

प्रनिताकै अनुसार उनी पैसाको हिसाबकिताबमा पहिलेदेखि कमजोर थिइन् । बुबाको मृत्युअघि नै छोराबुहारी अष्ट्रेलिया गएकाले उनीहरूले कल्पनाको बैंकमा भएको रकमको हिसाबकिताब इमेलमार्फत राखिदिने र लिने, तिर्ने सबै उनलाई सुझाउने रहिछन् ।

यहीबीचमा प्रनिताको काठमाडौंकै टोखा बस्ने कैलाशमणि खरालसँग चिनजान भयो । ‘छोराले पीआर नपाएकाले कमाएको अलिअलि रकम जग्गामा हालौं भन्ने सल्लाह भएको थियो’, प्रनिताले नेपाल प्रेससँग भनिन्, ‘त्यही जग्गा खोज्ने क्रममा खरालसँग चिनजान भयो ।’

प्रनिता एकल महिला भएकfले खरालले त्यसलाई ठग्ने अवसर बनाए । उनले अलिअलि अभिभावक जस्तो, माया गर्ने जस्तो व्यवहार देखाउन थालेपछि प्रनिता ले उनलाई आफ्नो मान्न थालिसकेकी थिइन् । घर आउजाउ पनि बाक्लिएको थियो ।

प्रनिता सम्झिन्छिन्, ‘म त सोझो एक्लो मान्छे । उसले श्रीमतीसँग सम्बन्ध विच्छेद भएको, छोराछोरी पनि आफूसँग नभएको भन्यो, पत्याएँ । ती सब त मलाई लुट्न पो रैछ ।’

प्रनिताले भने जस्तै तीन वर्षअघि जग्गा खोज्ने क्रममा भेटिएका खरालले मन, विश्वासमात्रै लुटेनन् उनको, काठमाडौंदेखि चितवन ल्याएर संगठित गिरोहको समूह नै बनाएर करिब तीन करोड रुपैयाँ लगेको प्रमाण त प्रनिताको झोलामै छ ।

नौ बिघा जग्गा किन्ने भन्दै माडी ल्याए, अरू तीन पनि अपराधमा जोडिए

काठमाडौंमै केही घडेरी किन्ने भनेर जग्गा खोज्न निस्किएकी प्रनितालाई मायाजालमा पारेपछि सबैभन्दा पहिले घडेरीबाट मोडेर टोखाको कुखुरा फार्ममा पैसा हाल्ने भनेर २० लाख रुपैयाँ लिएको कागज अहिले पनि उनीसँग छ ।

पैसा दिइसकेपछि उनले त्यहाँ फार्म त नाममात्रको भएको थाहा पाइन् । एकातिर २० लाख दिइसकेको अर्कोतिर जग्गा किन्नै बाँकी रहेकाले तराईमा जमिन जोड्नुपर्छ भन्दै खरालले उनलाई चितवन ल्याइपुर्‍याए । त्यसपछि चितवनको माडी कल्याणपुरमा ४ जना जग्गाधनीको जमिन ९ बिघा किन्ने भनेर पैसा लिन सुरु भयो ।

त्यहीबीचमा माडी नै घर भएका गंगादेवी पाण्डे र मैया भन्ने माया भट्टराई पनि उनीहरूको समूहमा जोडिए । दुई महिलासँगै रत्ननगर टाँडीका नवराज तिमल्सेना पनि समूहमा जोडिएको चैत ३० गते जिल्ला प्रशासन कार्यालयमा प्रनिताले दिएको उजुरीमा उल्लेख छ ।

पाँच लाख, १० लाख हुँदै प्रनिताको खाताबाट खरालले निरन्तर पैसा लैजान थाले । ‘कहिले जग्गाको लागि घुस जनप्रतिनिधिलाई दिनु छ त कहिले मालपोतमा दिनुपर्नेछ भन्दै कति पटक नगदै लगे लगे’, प्रनिता भन्छिन्, ‘त्यो पैसाको त हिसाबकिताब नै छैन ।’

जग्गा किन्ने रहरले चितवन आइपुग्दासम्म प्रनिताको नाममा काठमाडौंमा ७ आना, १५ आना र ६ आना घडेरी थियो । साढे दुई तलाको घर पनि आफ्नै थियो । तर, करिब दुई करोड खर्च हुँदासम्म माडीमा किनिएको भनिएको ९ बिघा जमिन उनको नाममा आएन । अन्त लगानी गरिएको भनिएको पैसा पनि कतैबाट आएको थिएन ।

कहिले पोखरी पुर्न त कहिले कित्ताकाटको लागि भन्दै मागेको पैसा दिइरहिन् उनले । ‘मेरो पैसा पर्सि आउँछ, आज तिमी देऊ न भन्थ्यो’, प्रनिताले भनिन्, ‘एक पटक फसिहाल्यो, फर्काउला नि त भनेर थप्दै गएँ । तर, पैसा फर्काएनन् ।’

बरु माडीका दुई महिला माया र गंगाले प्रनिताको काठमाडौं घरमै गएर खरालसँगको नराम्रो सम्बन्ध सार्वजनिक गरिदिन्छौं भनेर रकम माग्न थाले ।

प्रहरी कार्यालय परिसरमै भेटिएकी उनकी छोरीले भनिन्, ‘पैसा लिन मलाई समेत तेरो ममीको खरालसँग नराम्रो सम्बन्ध छ भन्न भ्याए ।’

गत वैशाखमा छोरीको कक्षा १२ को परीक्षा सकिएपछि हिसाब गराउँदा आफ्नो करिब ३ करोड रुपैयाँ उनीहरूले लिएकाे थाहा पाएपछि बल्ल झस्किइन् प्रनिता । त्यसयता भने करिब वर्ष दिनको यो समयमा उनी पैसा उठाउन भौंतारिइरहेकी छन् ।

प्रहरी हिरासतमा खराल, अरू तीन सम्पर्कमा छैनन्

छोरीले हिसाब गर्ने बेलासम्म काठमाडौंको साढे दुई तलाको घर पनि प्रनिताले गुमाइसकेकी थिइन् । ‘म सोझो मान्छे, तेरो नराम्रो कुरा भनिदिन्छु भने । पैसा मागे । धम्क्याए । डरले घर पनि बन्धकी राख्न राजी भएँ’, उनले भनिन् ।

प्रनिताले साढे दुई तलाको घर गिरोहका सदस्यहरूका नजिकका मान्छेलाई ३० लाख बन्धकीमा पास गरिदिएकी छन् । सबै सकाएपछि एक छोरीसहित उनी बेघर भएकी छन् ।

माडीमा स्थानीय जनप्रतिनिधिको रोहबरमा पनि पटक पटक छलफल भयो । गत वैशाखमा त उनी तीन महिना माडी आएर बसिन् । तर, आफूले बिक्री गरेको जमिनको पैसा नपाएपछि जग्गाधनीले पनि जग्गा चलाउन दिएका छैनन् ।

माडीका इलाका मालापोत कार्यालयका प्रमुख नवराज घिमिरेलाई पैसा दिनुपर्ने भन्दै गंगा र मायालाई दिएको चेकको रेकर्ड पनि उनीहरूसँग छ । तर, घिमिरे आफूले जमिन कित्ताकाटमा रकम नलिएको दाबी गर्छन् । उनले भने, ‘मसँग कुनै पनि खालको चेक आएको छैन, भए बैंक स्टेटमेन्ट बुझ्न सकिन्छ ।’

आफू बेघर भएपछि उनीहरूले जिल्ला प्रशासनमा दिएको निवेदन जाँच गरी आज सोमबार जिल्ला प्रहरी कार्यालय चितवनमा ठगीको अपराध भन्दै कारबाही अघि बढाउन पत्र पठाएको छ ।

चितवन आएको मौकामा प्रनिताको निवेदनलाई आधार मानेर खराललाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । अरू तीन जना भने सम्पर्कमा छैनन् । प्रशासनमा पहिलो निवेदन परेको कारण थप प्रक्रिया भने अनुसन्धान गर्दै अघि बढाउने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनले लेनदेन वा ठगी कस्तो हो, अनुसन्धान र छलफल गरी कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।

आइतबार प्रहरीले हिरासतमा लिएको कैलाशमणी खराललाई सोमबार ढिलो गरि जिल्ला प्रहरी कार्यालय चितवनले हरेक दिन बिहान हाजिर हुनेगरि हाजिरी जमानीमा छोडेको छ ।

हिरासत बाहिर रहेका खरालले नेपाल प्रेससँग कुरा गर्दै महिलाको रकम हिनामिना भएको स्वीकार गरे । उनले जग्गाको व्यवसायबारे थाहा नभइ हात हाल्दा महिलाको रकम हिनामिना भएको दाबी गरे ।

तर, उनसँगको सम्बन्धबारे भने उनले बोल्न नचाहने भन्दै भने- म परिवार भएको मान्छे हो । मेरो उहाँसँग सम्बन्ध छैन । उहाँको बारेमा पनि बोल्न चाहन्न ।

 


प्रतिक्रिया

9 thoughts on “मायाजालमा पारेर एकल महिलामाथि लुट: घरबार गयो, तीन करोड स्वाहा भयो !

  1. यस्तो किसिमको लूट र हनि ट्यापिङ्ग धेरै त महिलाले नै गर्छन् !

    1. सहि । कानुन मा गम्भीर त्रुटी छ। महिला ले जे भने पनि मान्यता हुने । थुक्क मेरो देश

  2. मैले देखेको घटना हो यो । महिला नै दोषी छ यसमा ।

  3. मानसिक सन्तुलन बिग्रेको महिला हो। चितवन माडी मा बजार चोक मा हास्ने रुने गरि रको थियो।

    1. कल्पना एकल महिला हुन उनले आजसम्म सकैको १ पैसा खाएकी छैनन ।गलत मानिस को संगत मा परेर उनको सबै स्वाहा भयो ।कसैले पनि जथाभावी नबोल्नुहोला केस प्रहरीमा पुगेको छ कल्पना बैनी ले न्याय अवस्य पाउने छिन ।

  4. लाज पचेकी आईमाई । धेरै जग्गा धनी को बिचल्ली बनाको छ यसले ।

  5. यो ठगी मा माडी न पा वडा नं ७ का प्रतिनिधी माडी स्थित मालपोत कार्यलयका केहि कर्मचारी स्थानिय केहि मानिसहरु समेत को मिलेमतो मा गैरकानुनी रुपमा कित्ता काट बन्द भएको अवस्था मा अवैध रुपमा करीब १२ बिगाहा जग्गा मा कित्ताकाट समेत गरेको कुरा गाउँ टोल मा हल्ला छ । कल्पना गजुरेल सोझी मानिस हुन मेन ठगी को मुख्य योजनाकार कैलाश हो भने मतियार मा गंगा तथा मैयां नामक स्थानिय महिला र गोपालनगर को केवल भन्ने कमल भुजेल समेत हो ।

    मुख्य योजनाकार कैलाश खराल
    सहयोगी हरु-माडी न पा वडा नं ७ का प्रतिनिधी तथा स्थानिय केहि मानिसहरु
    मतियारहरु-माधव प्रसाद खनाल,मैया भन्ने मायाँ भट्टराइ,गंगा पाण्डे, नवराज तिमल्सिना र गोपालनगर को केवल भन्ने कमल भुजेल
    ठगी रकम -अन्दाजी ३ करोड

  6. मैले केहि गरेको छैन मलाई हिसाब गर्देउ भनेको भएर हिसाब मात्र गर्देको हो काम गरेको भाग मैले ४ लाख मात्र लिएको हो आवस्यक परे फिर्ता गर्दिन्छु ।कैलास को दोस छैन मैया र गंगा को दोस छ मैले जानेको यत्ती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर