पर्वत एमालेमा पदम गिरीको शक्ति प्रदर्शन, जिल्ला कमिटीमा प्यानल नै ‘क्लीनस्वीप’ – Nepal Press

पर्वत एमालेमा पदम गिरीको शक्ति प्रदर्शन, जिल्ला कमिटीमा प्यानल नै ‘क्लीनस्वीप’

पोखरा । नेकपा एमाले पर्वतको अधिवेशनमा पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको छ ।

एमाले पर्वतको १०औं अधिवेशनमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित प्यानलमाथि पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको हो ।

तिमिल्सिना समर्थित प्यानलका पदमपाणी शर्मालाई पराजित गर्दै गिरी समर्थित प्यानलका गोविन्द पहाडी अध्यक्ष निर्वाचित भएका छन् । पहाडीले २४८ र शर्माले १२७ मत प्राप्त गरे ।

गिरी समर्थित प्यानलबाट बिमल लामिछाने उपाध्यक्ष, सुवास पौडेल सचिव, चण्डी भुर्तेल र विन्दु अधिकारी उपसचिव निर्वाचित भएका छन् ।
तिमिल्सिना समर्थित प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका मिनप्रसाद श्रेष्ठ, सचिवमा शिवप्रसाद पौडेल, उपसचिवमा जिवनविक्रम उचै र सरिता भण्डारी पराजित भएका हुन् ।

अधिवेशनमा कानूनमन्त्रीसमेत रहेका युवा नेता पदम गिरी समर्थित उम्मेदवारलाई पराजित गर्न राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिनासहित केन्द्रीय नेताहरू एकजुट भएका थिए ।

तिमल्सिना नेतृत्वको समूहमा पर्वतका प्रभावशाली नेताहरु केन्द्रीय सदस्य कल्पना चापागाई,संविधान सभा सदस्य तथा पूर्व मन्त्री विकास लम्साल,प्रदेश कमिटी उपसचिव मन्जु अधिकारी,निवर्तमान जिल्ला कमिटी अध्यक्ष राजु पौडेल,प्रदेश सभा सदस्य भक्त कुँवर,मित्रलाल बस्याललगायतका नेताहरु थिए ।

अर्कोतर्फ कानून मन्त्री पदम गिरी भने एक्लै मैदानमा थिए । उनले सहमतिको प्रयास सफल नभएपछि आफू समर्थित प्यानल नै मैदानमा उतारेका थिए । जिल्लामा सबै नेताहरु एकातिर हुँदा पदम गिरीका लागि यो शक्ति परीक्षण समेत थियो ।

तिमिल्सना समूह गण्डकीको राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट मानिन्छ भने पदम गिरी समूह गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीनिकट मानिन्छ ।

जिल्लाका प्रभावशाली नेताहरु एकातिर हुँदा पदम गिरीको पक्षमा कार्यकर्ता र प्रतिनिधिहरु उभिएपछि परिणाम एकोहोरो बनेको टिप्पणी पर्यवेक्षकले गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

एमाले पर्वत अधिवेशन : गणेश तिमिल्सिनासहित नेताहरूको समूहसँग एक्लै भिड्दै पदम गिरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर