सुदूरपश्चिममा नयाँ सरकारको नेतृत्व नाउपाले गर्ने, बहुमत सांसदले गरे लक्ष्मण किशोरमा सहमति – Nepal Press

सुदूरपश्चिममा नयाँ सरकारको नेतृत्व नाउपाले गर्ने, बहुमत सांसदले गरे लक्ष्मण किशोरमा सहमति

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने भएको छ । नाउपाका बहुमत सांसदहरूले आफ्नो नेतृत्वको सरकार गठन गर्ने र उक्त सरकारको नेतृत्व लक्ष्मण किशोर चौधरीले गर्ने गरी लिखित सहमति गरेका छन् ।

संसदीय दलका नेता रहेका घनश्याम चौधरी, प्रमुख सचेतक खुसीराम चौधरी, लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने र त्यसको नेतृत्व आफूले गर्ने गरी सहमति भएको लक्ष्मण किशोर चौधरीले जानकारी दिए ।

‘हामी हाम्रै नेतृत्वमा सरकार गठन गर्ने गरी सहमति गरेका छौँ’ उनले भने ‘त्यसको नेतृत्व मैले गर्ने गरी सहमति भएको छ । ’
सुदूरपश्चिममा नाउपाका ७ सांसद थिए । इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् । लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ मध्ये ४ सांसदले सहमति गरेका छन् ।

चार सांसद कांग्रेस नेतृत्वको काम चलाऊ सरकारमा पनि सहभागी छन् । घनश्याम चौधरी आर्थिक मामिला, खुसीराम चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री हुन् भने लक्ष्मण किशोर चौधरी सामाजिक र रामेश्वर चौधरी भूमि व्यक्ति कृषि तथा सहकारी मन्त्री हुन् । कांग्रेस सरकारमा सहभागी नभएका दुई सांसद कैलाश चौधरी र टिका थापा उक्त सहमतिमा सहभागी थिएनन् ।

नाउपाले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने थप विवाद उत्पन्न हुने देखिएको छ । यस अघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर उक्त जिम्मेवारी कैलाश चौधरीलाई तोकेकी थिइन् ।

अब नाउपाले मुख्यमन्त्री पाउने अवस्थामा चार सांसदले लक्ष्मण किशोरलाई समर्थन गरेका छन् भने पार्टी केन्द्रीय नेतृत्वले कैलाश चौधरीलाई अगाडि सार्ने देखिन्छ यस्तो अवस्थामा पार्टीभित्र थप किचलो उत्पन्न हुने देखिन्छ ।

सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन्।
सत्ता गठबन्धनबाटै सरकारमा सहभागी हुने विषयमा नाउपामा एक मत देखिन्छ भने मुख्यमन्त्रीको विषयमा भने पेचिलो भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर