लफडाकी पर्याय शर्मिला वाइबा : जालिन् तीन वर्ष जेल ? – Nepal Press

लफडाकी पर्याय शर्मिला वाइबा : जालिन् तीन वर्ष जेल ?

आजकाल युट्युबरको भेषमा ‘अन्तरवार्ता’ लिँदै मान्छे कुट्छिन् वाइबा

काठमाडौं । आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने शर्मिला वाइबालाई चार दिनअघि प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गर्‍यो । उनको हिरासत यात्रालाई लिएर सामाजिक सञ्जालमा धेरैले सकारात्मक प्रतिक्रिया दिएको पाइएको छ ।

शर्मिलाले केही दिनअघि आफूमाथि ब्ल्याकमेलिङ र कुटपिट गरेको भन्दै हाँस्यकलाकार पवन खतिवडा म्याकुरीले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउपछि अदालतबाट ४ दिन म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको छ ।

वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दाबी भएमा अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९१ मा कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा कुटपिट मानिने उल्लेख छ ।

पवन आफ्नो एक साथीको घरमा बसिरहेका बेलामा शर्मिलाले पवनकी पत्नी सुम्निमा र सुम्निमाकी बहिनी गंगालाई लिएर त्यहाँ पुगेकी थिइन् । उनीहरुले प्रहरी पनि त्यहाँ बोलाएका थिए । प्रहरीकै अगाडि आफूलाई कुटपिट भएको पवनको भनाइ छ । सुरुमा शर्मिलाले नै हात हालेको उनले बताएका छन् ।

आफूमाथि तीन महिलाहरू मिलेर कुट्दा प्रहरी मूकदर्शक बनेको पवनले दाबी गरेका छन् ।

‘म त्यस दिन मेरो साथी नवीन थापाको घरमा थिएँ । नवीन थापाको परिवार र रितु बस्नेत पनि थिइन् । राति अबेर हामी वीयर खाँदै सुटिङको बारेमा छलफल गरिरहेका थियौँ । एक्कासि उनीहरू आएर ढोका ढकढक्याए ।

उनीहरू पछिपछि पुरुष प्रहरी आएका थिए । मलाई रंगेहात समात्ने र थुनाउने योजना रहेछ । मसित मेरो साथी नवीन थापाको परिवार थिए । रितु बस्नेत पनि आइपुगेकी थिइन् । मैले कुटाइ खाइरहँदा प्रहरीले हस्तक्षेप गरेनन् । रिसको झोकमा मैले पनि प्रहरीलाई मुख छोडेरै गाली गरेँ । त्यसपछि उल्टै मलाई र रितुलाई नियन्त्रणमा लिएर लगे,’ खतिवडा भन्छन् ।

पवनलाई प्रहरीले नयाँ बसपार्कको चौकीमा पुर्‍यायो । त्यहाँ भने राम्रो व्यवहार भएको उनले बताए ।

‘भोलिपल्ट बिहान उनीहरू पनि आए । दुवैको कुरा सुनेपछि प्रहरीले यो अदालतले हेर्ने विषय भएकाले अदालतमै गएर सल्टाउन सुझाव दिए । तर, उनीहरूलाई चित्त बुझेन । शर्मिला वाइबा फेरि महिला सेलमा जाने भनेर उफ्रिन थालिन् । त्यहाँबाट महाराजगन्ज पठाइयो । महाराजगन्ज प्रहरीले पनि अदालत नै जानुस् भनेर फर्काइदियो,’ खतिवडाले भने ।

सो घटनाकै भोलिपल्ट शर्मिलाको सक्रियतामा सुम्निमाले युट्युबर सम्मेलन गरेकी थिइन् । उनले सबै विवाद छताछुल्ल बनाएपछि त्यसको भोलिपल्ट पवनले पनि युट्युबर बोलाए । अनुहारभरि चोट बोकेर आएका उनले आफूमाथि शर्मिला वाइबा र सुम्निमाले आक्रमण गरेको सुनाएका थिए । त्यसपछि पवनले महाराजगन्ज प्रहरीमा शर्मिलाविरुद्ध जाहेरी दिएका हुन् ।

आफूमाथि तीन जनाले हातपात गरेको बताउँदै आए पनि पवनले शर्मिलाविरुद्ध मात्रै जाहेरी दिएका छन् । पत्नी सुम्निमा र गंगालाई उनले जाहेरीमा मुछेनन् ।

यसको कारण सोध्दा पवनले भने, ‘मुख्य दोषी भनेको शर्मिला वाइबा हुन् । शर्मिला नभएको भए यो घटना नै हुँदैनथ्यो । सबैभन्दा पहिले हात हालेको पनि उनैले हो । मेरी पत्नी शर्मिलाको उक्साहटमा मात्रै परेकी भएर उनीविरुद्ध जाहेरी दिएको छैन ।’

पवनको जाहेरीका आधारमा प्रहरीले मङ्गलवार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइबालाई पक्राउ गरेको थियो । वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दाबी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ । मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ । वाइबा हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा छिन् ।

सधैँ लफडा निम्त्याउने वाइबा

शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको यो पहिलो चोटि होइनन् । उनी सामाजिक सञ्जालमा भाइरल हुन अनेक लफडाहरू गरिरहन्छिन् र हिरासत पुगिरहन्छिन् । ‘जहाँ लफडा त्यहाँ शर्मिला वाइबा’ भन्ने भाष्य नै बनिसकेको छ ।

पल शाह प्रकरणमा नाबालिग गायिकालाई गालीगलौज गरेर शर्मिला भाइरल बनेकी थिइन् । गायिकाको समर्थनमा उभिएकी अभिनेत्री रेखा थापालाई पनि गालिगलौज गरेपछि रेखाको उजुरीमा उनी पक्राउ परेकी थिइन् ।

शर्मिला पत्रकार ऋषि धमलासँग आफ्नो नाम जोडेर पनि भाइरल भइन् । धमलासँगको अन्तरङ्ग सम्बन्धका प्रमाणहरू सार्वजनिक गर्ने उनले चेतावनी दिएकी थिइन् । धमलाले बल्लतल्ल उनलाई थुमथुम्याए । यद्यपि, अहिले पनि शर्मिलासँग धमला थर्कमान छन् ।

धमलासँग विवादकै बीच शर्मिलाले विष पिएको समाचार आयो । उनी वीर अस्पताल भर्नासमेत भएकी थिइन् । यद्यपि, उनले विष पिएको स्वास्थ्य परीक्षणमा देखिएन ।

शर्मिलाको निजी जीवनका धेरै कुराहरू रहस्यको पर्दाभित्र छन् । उनी आफूलाई धनाढ्य व्यक्तिका रूपमा प्रचार गर्ने गर्छिन् । बानियाटारमा भव्य घर रहेको बताउँछिन् । उनीसँग एक बच्ची पनि छिन् । ती बच्ची कहिले आफ्नी छोरी हुन् भन्छिन् कहिले पालेको भन्छिन् । कहिले आफ्नो श्रीमान् बाहिर छन् भन्छिन्, त कहिले अविवाहित भन्छिन् । वाइवाले थुप्रै चर्चित व्यक्तिहरूलाई हनी ट्र्यापमा पारेर ब्ल्याकमेलिङ गर्दै आएको आरोप पनि लाग्ने गरेको छ ।

बुम बोकेर मान्छे पिट्दै

शर्मिला वाइबाका लागि मान्छे कुट्नु पनि नौलो कुरा होइन । पछिल्लो समय त उनी युट्युबरको भेषमा एउटा हातले बुम समातेर अर्को हातले मान्छे पिट्ने गरेकी छन् ।

बाल गायक सचिन परियारका बाबु तेजेन्द्र परियार ‘कलौटे’ लाई शर्मिलाले ‘अन्तरवार्ता’ लिँदै भकुरेकी थिइन् । हालै मात्र उनले म्याकुरीसँग नाम जोडिएकी रितु बस्नेतलाई पनि अन्तरवार्ता लिँदै थप्पड हानिन् । तर, थप्पड खानेहरूले कतै उजुरबाजुर गरेका छैनन् ।

नेपाल प्रेस काउन्सीलले युट्युब च्यानलहरूलाई पनि पत्रकार आचारसंहिताभित्र बाँध्ने प्रयास गरिरहेको छ । तिनीहरूलाई पनि मिडिया नै मानेर उजुरी लिने र कारबाही प्रक्रिया अघि बढाउने गरिएको काउन्सिलका अधिकारी रामशरण बोहरा बताउँछन् ।

शर्मिलाका हर्कतका विषयमा प्रश्न गर्दा उनले भने, ‘त्यो मिडिया अन्तरगत हो होइन भन्ने सुरुमा खुट्याउनुपर्यो । आचारसंहिता उल्लंघन गरिरहेकालाई ओरियन्टेसनमा बोलाउने र एकदमै आपत्तिजनक छ भने नेपाल प्रहरीलाई लेखेर पनि पठाउने गरेका छौं । तर, मिडिया अन्तरगत होइन भने अलिकति अनुसन्धान र अनुगमन गरेर कारबाहीका लागि प्रहरीलाई लेख्न सकिन्छ ।’


प्रतिक्रिया

One thought on “लफडाकी पर्याय शर्मिला वाइबा : जालिन् तीन वर्ष जेल ?

  1. यस्ता भालु टाईपका अाईमाईलाई जेल ह सरखार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर