निशा अधिकारी भन्छिन्- शरद र म मात्र थियौं भने यो मुद्दा नै चल्दैनथ्यो, सन्तानका लागि सम्झौता – Nepal Press

निशा अधिकारी भन्छिन्- शरद र म मात्र थियौं भने यो मुद्दा नै चल्दैनथ्यो, सन्तानका लागि सम्झौता

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको दाम्पत्य जीवनमा धाँजा फाटेको छ । उनीहरू अब प्राविधिकरूपमा मात्रै पति-पत्नी छन् ।

दुवै आ-आफ्नो करिअरको ‘पिक’ मा रहेको बेला २०७४ सालमा शरद र निशाबीच विवाह भएको थियो । त्यसको एक वर्षपछि उनीहरूले पहिलो सन्तानका रूपमा पुत्रलाभ गरे । निशाले अमेरिकामा सन्तान जन्माएकी थिइन् ।

सुरूमा ठीकठाक चलिरहेको यो जोडीको दाम्पत्य सम्बन्धमा बिस्तारै दरार आउन थाल्यो । पतिसँग असमझदारी बढेपछि निशा माइतीघरमा बस्न थालिन् । २०७९ सालमा निशाले जिल्ला अदालत काठमाडौंमा अंश तथा मानाचामलको मुद्दा दायर गरिन् । त्यसको फैसला अदालतले गत मंसिर २८ गते सुनाएको थियो ।

निशाले आफ्नो निवेदनमा शरदबाट दुई तिहाइ (तीन भागको दुई भाग) अंश पाउनुपर्ने मागदाबी गरेकी थिइन् । शरदले एक तिहाइमात्रै अंश दिन तयार रहेको जवाफ दिएका थिए । अदालतले मझदारमा बसेर फैसला गर्दै शरदको सम्पत्तिबाट एक तिहाइ निशाले पाउने र अर्को एक तिहाई नाबालग बच्चाको लागि छुट्याउन भनेको छ । नाबालग छोराको अंश उनी साबालग नहुञ्जेल बाबु र आमा दुवैको संरक्षणमा रहने फैसला न्यायाधीश शिशिरराज पाण्डेले गरेका छन् ।

अदालतको फैसला कार्यान्वयन भइसकेको भने छैन । निशाले आफू अमेरिकाबाट भर्खरै नेपाल आएको हुँदा कार्यान्वयनमा ढिलाइ भएको बताइन् ।

‘फैसला हुँदा म अमेरिकामा थिएँ । केही दिनअघिमात्रै फर्केको हुँ । अब बल्ल कार्यान्वयनको प्रक्रियामा जाँदैछ,’ उनले भनिन् ।

स्मरणीय यो छ कि निशा र शरदबीच सम्बन्ध विच्छेद भएको छैन । निशाले सम्बन्धविच्छेदको मुद्दा नहालिकन अंश मुद्दा हालेकी हुन् । आफैं कमाउने हुँदा हुँदै श्रीमान्‌को सम्पत्तिमा लोभ देखाएको भनेर उनीप्रति विभिन्न नकारात्मक टिकाटिप्पणीहरू पनि भइरहेका छन् । यसमा निशाले चित्त दुखाइन् ।

उनी भन्छिन्, ‘विवाहपछि श्रीमान् र श्रीमतीसँग रहेको सम्पत्ति दुवैको साझा हुन्छ । दुवैले कमाएको पैसा पनि सगोलमा जान्छ । कुन कसले कमाएको हो भन्ने छुट्याउन सकिन्न । छुट्टिँदाखेरि त्यो आधा-आधा हुने हो । श्रीमान्‌को मात्र होइन, मेरो पनि आधा हुन्छ । त्यही कानूनी व्यवस्थाका आधारमा अदालतले फैसला सुनाएको छ । मैले सम्पत्तिमा लोभ गरेको भनेर व्याख्या गर्नु कानूनको अज्ञानता हो जस्तो लाग्छ ।’

आफ्नो एक मात्र सन्तानको भविष्यका लागि आफूहरूले सम्झौता गरेको निशा बताउँछिन् ।

‘बाबुको भविष्यको सुरक्षा र आर्थिक स्थायित्वको मात्रै मलाई चिन्ता हो । हामी पटकपटक छलफलमा बस्दा पनि बाबुलाई नै केन्द्रमा राखेका छौं । हामीलाई एक अर्काको सम्पत्ति चाहिएको छैन । शरदले पनि मेरो नलिने र मैले पनि शरदको नलिनेमा हामी क्लीयर नै छौं । त्यसैले अहिले जसको नाममा आए पनि पछि सबै बाबुकोमा जान्छ भन्ने समझदारी हो ।’

डिभोर्सको मुद्दा नहालिकन अंश मुद्दा हाल्नुको कारण प्रष्ट्याउँदै उनले भनिन्, ‘म र शरदमात्रै भएको भए यो मुद्दा नै जाँदैनथ्यो । तर, सन्तान भएपछि उसको चिन्ता हुन्छ । भोलि गए सन्तानको बिचल्ली त हुनु भएन नि ! हामी दुईजना अलग हुँदा उसलाई पर्न सक्ने मनोवैज्ञानिक असरबारे पनि हामी सचेत हुनुपर्छ । हामी आफ्नो अनभिज्ञतामा हिँडिरहँदाखेरि भोलि मलाई फ्याट्ट केही भयो भने छोराको अभिभारा कसले सम्हाल्छ ? एउटा सन्तानको आमा भएपछि यस्तो खालको जिम्मेवारीवोध हुँदो रहेछ । कुनै पनि अभिभावकले यो मोडसम्म आइपुग्दा के-के बितेको होला भन्ने सबैले महसुस गर्नसक्ने कुरा हो ।’

निशाले आज सामाजिक सञ्जालमार्फत पनि आफ्ना केही भनाइहरू राखेकी छन् । श्रीमान्‌सँगको मुद्दाबारे पहिलोपटक सार्वजनिकरूपमा उनले टिप्पणी गरेकी हुन् ।

श्रीमान् र श्रीमतीले एक-अर्काबाट एक पैसा पनि नलिने र दुवैको भाग सबै छोराको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अघि बढेको उनले जानकारी गराएकी छन् ।

निशाले नेपाली र अंग्रेजीमा लेखेको स्टाटस यस्तो छः

यो मुद्दा बहिर अएदेखि विभिन्न टिका टिप्पणी र गाली पनि खादै आएको हुँदा, मेरा केही कुरा-

१. कानूनमा आमा र बुवा दुईटैको सबै कुरा भाग लाग्ने व्यवस्था छ । मैले किन कानूनी उपचार लिनुपर्‍यो भन्ने कुरा व्यक्तिगत हो ।

२. मेरो छोराको बुवा र मैले एक अर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ ।

३. तसर्थ एक अर्काको धन सम्पत्तिमा दुईटैको नजर नरहेको कुरा छ ।

४. छोरा र छोरी लाई बराबर अंश दिने प्रावधान छ । तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा पनि नितान्त व्यक्तिगत हो ।

५. ‘leave in peace’ गरेपछि ‘Rest in peace’ । मर्नुअगाडि मेरो एकमात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा म ढुक्कसँग मर्न पकाउने मात्र होईन, यो कुरामा मलाई गर्व पनि छ ।

६. बाँकीका कुरा- कानून संशोधन भएर धेरै अगाडि आइसक्यो, कानूनी उपचार लिएर कुराहरू सुल्झाउने प्रवृत्तिलाई ‘normalize’ गरौं ।

समाजमा हानी नहुने गरी, आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभावकको कर्तव्य र स्वतन्त्रता पनि हो । यस विषयमा धेरै कुराहरू गर्न सकिन्छ । अरुको जुत्ता नलगाएसाम त्यो जुत्ताले दिने पीडाको (experience) हुँदैन । त्यसैले कृपया आफ्ना बालबालिका र नाति नातिननको भविष्यको लागि के-के गर्नुपर्छ निर्धक्क रूपमा गरौं र गर्न दिऊँ । अझ पनि कानूनमा संशोधन गर्नुपर्ने थुप्रै कुराहरू बाँकी छन । भएकै कुराहरू बुझेर, उपयोगमा नल्याएसम्म सामजिक रूपान्तरण धेरै सुस्त गतिमा अगाडि बढ्छ ।

विगतको दुई वर्ष मेरो लागि व्यक्तिगत रूपमा धेरै गाह्रो भएको छ । अब यो समाप्त भएकोमा म खुशी छु । बाबुलाई राम्ररी हेरचाह गरिएको छ । आमाबाबु दुवैको पूर्ण ध्यान र दुई शान्त वातावरणमा उसले अझै राम्रो हेरचाह पाउनेछ भन्न सायद आवश्यक छैन । एक सक्रिय र एक निष्क्रिय अभिभावकको विषाक्त वातावरणमा बच्चालाई एक्सपेज गर्नु आवश्यक छैन ।

बच्चा दुबैको माया र हेरचाहको हकदार हुन्छ । यदि परिवारलाई सँगै राख्ने हरेक प्रयास असफल भयो भने, तपाईँ टुट्नुअघि नै तपाईँको ऊर्जा सेलाउँदै गयो भने यदि सबैका लागि राम्रो हुन्छ भने नरकको बाटो रोज्नु परे पनि रोज्नुहोस् । यसले तपाईँलाई तोड्छ, तपाईँको सामु हजार प्रश्न खडा गर्छ र धेरै चीजहरूमा शंका उत्पन्न गर्छ तर तपाईँ बाँच्नु हुनेछ । तपाईंको बच्चाको मायाले तपाईंलाई राम्रो ठाउँमा तान्नेछ । यो मेरो अनुभव हो । परिवारको सपोर्ट लिएको छु । परम कृतज्ञता । मैले बालबालिकाको मनेपरामर्षादाताको सहयोग लिएको छु र अझै पनि लिईरहेको छु । मैले अँध्यारो दिनहरू पार गरें । मेरो मानसिक र भावनात्मक ठाउँहरू कम गरेँ । सबै कुरालाई प्राथमिकता दिएँ । कथित सुखी परिवारको मेरो मूल विश्वासमा काम गरें । धेरै भावनाहरू जस्तै धेरै तहहरूमा असफल हुनु र आमाबाबुहरूमा लाग्ने दोषहरूमा काम गरे । सबै गरे । यो सजिलो थिएन । तर, मैले छोडेको ठाउँबाट जिन्दगी उठाउन म तयार छु । काला दिनहरू र दु:खहरूका कारण नै जीवन सुन्दर छ । पहिलेभन्दा बलियो भएर सकारात्मकताले भरिएको नरम हृदय र दिमागको साथ अगाडि बढ्दै जानेछु मेरो उत्कृष्ट साथीसँगस् मेरो छोरा !


प्रतिक्रिया

2 thoughts on “निशा अधिकारी भन्छिन्- शरद र म मात्र थियौं भने यो मुद्दा नै चल्दैनथ्यो, सन्तानका लागि सम्झौता

  1. दुई जना मिल्न नसक्नेले तेस्रोको सपना किन?आफ्नो भविष्य थाहा नपाउनेले अर्काको भविष्यको कुरा हुटिट्याउले पृथ्वी थाम्नु जस्तै हो।

  2. महिलाको कमाइ धेरै हुन थालेपछी श्रीमानलाइ नटेर्ने आम नेपाली प्रवृति को पुनरावृत्ति नै हो यो घटना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *