युवा राजदूत दावाफूटीको कूटनीतिक कौशल, के-के आयो चार्टर्ड जहाजमा ? (भिडियो/फोटो) – Nepal Press
युवा राजदूत दावाफूटीको कूटनीतिक कौशल, के-के आयो चार्टर्ड जहाजमा ? (भिडियो/फोटो)
विष्णु शर्मा २०७८ जेठ ६ गते १४:३८
२०७८ जेठ ६ गते १४:३८

काठमाडौं । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामाग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदा दंग थिइन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी आफैं उपस्थित थिए सामाग्री लिनका लागि ।

स्पेनले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जसमा महामारीका बेला नभई नहुने अत्यावश्यक र महँगा सामाग्री छन् ।

चार्टर्ड जहाजमा ल्याएका ती सामाग्रीलाई विहिबार स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका निर्देशक म्याग्डी मार्टिनेज सोलेमनले काठमाडौं विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका सामाग्रीमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २.४ मिलियन मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै निर्देशक सोलेमनले नेपालको महामारीविरुद्ध स्पेन सँधै साथमा रहेको बताउँदै थप सहयोगका लागि तयार रहेको बताए । मानवीय सहायता गर्न पाउँदा स्पेनलाई खुशिको महसुस भएको उनले जनाए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले सहायताका लागि स्पेनलाई धन्यवाद दिए । उनले नेपालको परिस्थितीबारे जानकारी दिँदै नेपाल र स्पेनको परम्परागत सम्बन्धबारे चर्चा गरे ।

स्पेनका लागि नेपाली राजदूत दावाफूटी शेर्पाले महामारीविरुद्ध सहायताका लागि स्पेनलाई थप सहयोगका लागि पहल गरिएको र राजदूतावासले सक्रिय भूमिका निर्वाह गरेको बताइन् ।

विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा युरोपेली संघकी राजदूत नोना डेप्रेज पनि सहभागि थिइन् । निर्देशक सोलेमनसहित स्पेनी मिडियाको टोली काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सामाग्री ल्याएर नेपाल आइपुगेको टोलीको नेतृत्व गरेका सोलेमनले परराष्ट्र मन्त्रालयमा आयोजना हुने बैठकमा भाग लिएका छन् । उनले विहीवारै परराष्ट्र सचिव भरतराज पौड्याल र बरिष्ठ स्वास्थ्य अधिकारीलाई भेट्ने कार्यक्रम रहेको राजदूतले बताइन् ।

युरोपेली युुनियनको सिभिल प्रोटेक्सन संयन्त्रअन्तर्गत रहेर स्पेनले ती सामाग्री प्रदान गरेको हो ।

स्पेनबाट आएको उक्त चार्टर जहाज शुक्रबार स्वदेश फर्किने भएको छ । कोभिड लकडाउनले काठमाडौंमा अड्किएका झन्डै ५० जना स्पेनी नागरिक र पर्वतारोहीलाई लिएर उक्त जहाज फर्कने भएको छ ।

विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा स्पेनी मिडियाले सगरमाथामा फैलिएको कोभिड संक्रमणबारे चासो राखेका थिए । जवाफमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले यसले सरकारलाई चिन्तित तुल्याएको र पर्वतारोहीको सुरक्षाका लागि आफूहरुले अधिकतम प्रयत्न गरिरहेको बताएका थिए ।

नेपालमा सामाग्री ल्याउनुअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका स्पेनी समकक्षी अरन्चा गोन्जालेजबीच टेलिफोन संवाद भएको थियो । युरोपेली युनियन अन्तर्गतका अन्य मुलुकले पनि महामारीविरुद्ध नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

युरोपबाट पहिलोपटक स्वास्थ्य सामाग्रीको खेप काठमाडौं आइपुगेको हो ।

दावाफूटी राजदूत नियुक्तिका लागि सिफारिस हुँदै गर्दा उनको कुटनीतिक क्षमता र उमेरलाई लिएर विभिन्न टीकाटिप्पणी भएका थिए ।

युवा राजदूतले मुलुकलाई संकट परेका बेला आफ्नो क्षमता प्रदर्शन गरेकी छन् । उनकै सक्रियता र पहलमा स्पेन सरकार आफैंले अग्रसरता लिएर विमान चार्टर गरी धेरै टाढाको मुलुक नेपाललाई सहयोग गरेको छ ।

कूटनीतिमा उमेर र अनुभवभन्दा पनि क्षमता र कौशल आवश्यक छ भन्ने उनले प्रमाणित गरेकी छन् ।