त्यो एमाले र यो एमाले, तस्बिरमा हेर्नुस् को थपिए को छुटे ? – Nepal Press
त्यो एमाले र यो एमाले, तस्बिरमा हेर्नुस् को थपिए को छुटे ?
फोटो फिचर
नेपाल प्रेस २०७८ वैशाख ९ गते १०:४९
२०७८ वैशाख ९ गते १०:४९

काठमाडौं । ठाउँ त्यही, पार्टी त्यही तर दृष्य भने फरक देखियो मदननगर बल्खुस्थित एमाले केन्द्रीय कार्यालय शिलान्यास समारोहमा । २७ वर्षअघि त्यही ठाउँमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास हुँदा पार्टीको हर्ताकर्ता थिए तत्कालीन महासचिव माधवकुमार नेपाल ।

यसपटक त्यही ठाउँमा अत्याधुनिक कार्यालय शिलान्यास समारोह नेपालले बहिष्कार नै गरे । उनलाई बुधबार साँझ भेट्दा ओलीले पार्टी कार्यालय भवन शिलान्यास समारोहमा उपस्थित हुन आग्रहसमेत गरेका थिए । तर, बिहीबार विहान माधव नेपालमात्र होइन उनी पक्षधर नेता कार्यकर्ता बल्खु गएनन् ।

तत्कालीन एमाले केन्द्रीय कार्यालय भवन शिलान्यास हुँदाका अध्यक्ष मनमोहन अधिकारीको निधन भइसकेको छ । तर, कार्यालय बनाउने अभियानको अगुवाक्ष गर्न तत्कालीन उपमहासचिव वामदेव गौतम पनि शिलान्यास समारोहमा देखिएनन् ।

‘एमाले नै हौं भनेर बसेका नेताहरू कम्तीमा स्थापना दिवस र कार्यालय शिलान्यास कार्यक्रममा उपस्थित भइदिएको भए एकता चाहेको सन्देश जाने थियो’ केन्द्रीय सदस्य कर्ण थापाले भने ‘बल्खुको पार्टी कार्यालय त साझा हो नि, बालुवाटार आउँदिन भन्ने नेताले बल्खु पनि नआएर पेरिसडाँडा नै आफ्नो मुकाम हो भन्ने पुष्टि गर्नुभयो’ ।

२०५१ मा एमाले कार्यालय शिलान्यास हुँदा खुला राजनीतिको सिनमै नदेखिएका माओवादी नेता रामवहादुर थापा ‘बादल’ आजको शिलान्यास समारोहमा मञ्चको पहिलो लहरमै थिए ।

त्यसैले त्यो एमाले र यो एमालेको केन्द्रीय कार्यालय भवनमात्र फरक डिजाइनमा बन्दै छैन, पार्टी पनि फरक ढंगले बन्दैछ भन्ने सन्देश पनि हो शिलान्यास समारोह । अध्यक्ष केपी ओली स्वयंले आफ्नो राजनीतिक प्रतिवेदनमा अहिलेको एमाले २०७५ जेठ ३ अघिको जस्ताको त्यस्तै नभई, माओवादी आन्दोलनका असल मान्छेहरूसहितको नयाँ पार्टी भनेका छन् ।

पार्टी कार्यालय शिलान्यास समारोह जननेता मदन भण्डारीको शालिक अघिल्तिर आयोजना भएको थियो । कोभिडका कारण सीमित नेता कार्यकर्ताको बीच आयोजित कार्यक्रममा अध्यक्ष ओली, प्रथम महिला राधिका शाक्य, महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, बादल, सुवास नेम्वाङ लगायत थिए ।

प्रवक्ता प्रदीप ज्ञवालीले संक्षिप्त जानकारी दिएपछि अध्यक्ष ओलीमात्र सम्बोधन गरेका थिए । यसअघि सो भवन शिलान्यास गर्दै दुई वर्षभित्र नयाँ अत्याधुनिक भवनमा कार्यालय संचालन हुने अध्यक्ष ओलीले बताए ।