पर्यटक लोभ्याउन मधुमल्लामा ‘टिकटक रोड’ – Nepal Press
पर्यटक लोभ्याउन मधुमल्लामा ‘टिकटक रोड’
फोटो फिचर
ध्रुव भट्टराई २०७८ वैशाख १ गते १६:३३
२०७८ वैशाख १ गते १६:३३

मधुमल्ला । नयाँ वर्षको अवसर पारेर मोरङको मिक्लाजुङ गाउँपालिका- ७ र ८ मा पर्ने मावा नुनसरी सामुदायिक वन क्षेत्रभित्र ‘टिकटक रोड’ उद्घाटन गरिएको छ । उद्घाटनकै दिन रोडमा टिकटक बनाउने, तस्बिर खिच्ने र अवलोकन गर्नेको भीड लागेको छ ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले रोडको उद्घाटन गरे ।

आन्तरीक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मधुमल्ला बजारको उत्तरतर्फ मधुमल्ला-मावा तोरीबारी सडक खण्डको करिब २ किलोमिटर जंगल क्षेत्रमा टिकटक रोड निर्माण गरिएको हो ।

आगन्तुकहरूको मन लोभ्याउन विभिन्न तुल र ब्यानर टाँगिएका छन् । ढुङ्गाहरूमा कलात्मक आकृति दिइनुका साथै रंगरोगन गरिएको छ । यात्रुहरुलाई रुखको छहारीसंगै बस्न फलैचाको र राति उज्यालोको लागि सडक बत्ती राखिएको छ ।

घुम्न आउनेहरूलाई इन्टरनेटमा रम्न र टिकटक बनाउनेहरूका लागि फ्रि वाईफाईको समेत व्यवस्था गरिएको मधुम्लला पर्यटकीय मार्ग व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले बताए ।