राष्ट्रपतिबाट मेलम्ची उद्घाटन हुने, भृकुटीमण्डपमा बन्यो ढुंगेधारा (फोटो/भिडियो) – Nepal Press
राष्ट्रपतिबाट मेलम्ची उद्घाटन हुने, भृकुटीमण्डपमा बन्यो ढुंगेधारा (फोटो/भिडियो)
नेपाल प्रेस २०७७ चैत १९ गते १८:१०
२०७७ चैत १९ गते १८:१०

काठमाडौं । गत आइतबार काठमाडौंमा भित्रिएको मेलम्ची खानेपानीको औपचारिक उद्घाटन भोलि हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धाराको टुटी खोलेर मेलम्ची उद्घाटन गर्नेछिन् ।

भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘ढुंगेधारामा ठूलो र सानो गरी ३ वटा धारा बनाइएको छ । उद्घाटन कार्यक्रमको तयारी पुरा हुदैछ । भोलिबाट सर्वसाधारणले सार्वजनिक धाराबाट पानी खान पाउनेछन् ।’

सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनले बताए । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो । अहिले उद्घाटन स्थलमा मञ्चको निर्माण र सजावट धमाधम भइरहेको छ ।

काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

तस्बीर/भिडियो :निशान सिंह गुरुङ