२०१३ पछि पहिलो अन्तर्राष्ट्रिय फुटबलका लागि तयार भयो रंगशाला – Nepal Press
२०१३ पछि पहिलो अन्तर्राष्ट्रिय फुटबलका लागि तयार भयो रंगशाला
फोटो/भिडियो
विजय गजमेर २०७७ चैत ६ गते २०:४०
२०७७ चैत ६ गते २०:४०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आगामी मंगलबारदेखि ‘थ्री नेसन्स कप’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । र, यससँगै दशरथ रंगशालामा २०१३ पछि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फुटबल फर्किँदै छ ।

यद्यपि, २०१९ को डिसेम्बरमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा फुटबल भए पनि ओलम्पिक टोली (यू–२३)ले मात्रै खेलेको थियो । तसर्थ २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपालको सिनियर राष्ट्रिय टोलीले दशरथ रंगशालामा फुटबल खेलेको छैन । जसको कारण हो २०१५ मा आएको विनाशकारी महाभूकम्प ।

सोही भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको रंगशाला २०१९ को अन्त्यमा पुनःनिर्माण भएको थियो । त्यसपछि नेपालले विश्वकप तथा एएफसी एसियन कपको छनोट खेल्ने भएको थियो ।

तर, कोरोना भाइरसको महामारीका कारण सो छनोटका खेल पनि स्थगित भएपछि रंगशालामा फुटबल जुरेको छैन । तर, यो लामो प्रतीक्षामा पूर्णविराम लगाउने उद्देश्यले एन्फाले ‘थ्री नेसन्स कप’को आयोजना गरेको छ ।

प्रतियोगितामा नेपाल र बंगलादेशको राष्ट्रिय टोली तथा किगिस्तानको यू–२३ टोलीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोबिन लिग पद्धतिमा हुने प्रतियोगिताका लागि दशरथ रंगशाला सिघार्ने काम अहिले धमाधम भइरहेको छ । समूह चरणको समाप्तिसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

रंगशाला तयार गर्ने कार्य ९० प्रतिशत समाप्त भइसकेको एन्फाका प्रवक्ता किरण राईले बताएका थिए ।

मंगलबारदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किगिस्तान यू–२३ भिड्नेछन् भने नेपालले पहिलो खेलमा बिहीबार किगिस्तानसँग खेल्नेछ । नेपाली समयअनुसार खेल साँझ ७ः३० बजे सुरु हुनेछ भने १२ हजार टिकट बिक्री गरिने एन्फाले बताएको छ ।

      

भिडियो