कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल (भिडियो) – Nepal Press

कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ १४ गते १२:५७
२०७७ माघ १४ गते १२:५७

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ ।

खोप अभियान शुरू भएपछि आशासँगै उत्साह छाएको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको माघ १० गते भेटिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बिहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।