नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो) – Nepal Press

नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (भिडियो)

नेपाल प्रेस २०७७ माघ ८ गते १५:४०
२०७७ माघ ८ गते १५:४०

काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।