१० एसियाली फिल्म जसले अस्करमा बाजी मार्न सक्छन् – Nepal Press
१० एसियाली फिल्म जसले अस्करमा बाजी मार्न सक्छन्
विष्णु शर्मा २०७७ माघ ६ गते १८:३१
२०७७ माघ ६ गते १८:३१

काठमाडौं । गतवर्ष दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ले सर्वोत्कृष्ट फिल्म बनेर अस्कर अवार्डमा इतिहास रच्यो । विश्व मिडियाले यसलाई एसियाको उदयको रुपमा व्याख्या गरे ।

भलै, नेपालले यसवर्षको संस्करणमा भाग लिने त छैन तर, केही एसियाली प्रतिस्पर्धी छन् जसले अस्करमा पुनः छलाङ मार्न सक्छन् ।

यसपटक एसिया महादेशबाट २७ फिल्म अन्तराष्ट्रिय विधातर्फ समावेश छन् । यसअघि एसियाले १२ पटक अस्करमा जितेको इतिहास छ । जापानले मात्र चारपटक जित्यो । यसवर्षदेखि अस्करले अन्तराष्ट्रिय फिचर विधातर्फ फिल्मको संख्यामा वृद्धि गरेर १५ पुर्‍याउँदैछ ।

फेब्रुअरी ९ मा यस विधाको मनोनयन घोषणा हुनेछ । पुरस्कार वितरण भने २५ अप्रिलमा हुनेछ । यस संस्करणमा १० एसियाली फिल्मले बाजी मार्न सक्ने अनुमान गर्न सकिन्छ ।

१) एसिया –इजरायल
लेखक एवं निर्देशक रुथी प्राइबरको फिल्म ‘एसिया’ले एउटी एकल आमाले बिरामी किशोरी छोरी हुर्काउन जेरुसेलेम सहरमा गरेको संघर्ष पेश गर्छ । इजरायली एकेडेमी अवार्डमा यसले ९ विधामा जितेको थियो । इजरालले १० पटक अस्करमा मनोनयन जनायो तर, एउटा पनि जितेको छैन ।

२) बेटर डेज –हङकङ
हङकङेली निर्देशक डेरेक साङको फिल्म ‘बेटर डेज’ले दक्षिणपश्चिम चीनको चोङकिङ नगरस्थित एउटा विद्यालमा हुने विद्यार्थीमाथि हुने बुलिङ र परिक्षाको दबाबको कथा भन्छ । चिनियाँ स्टारद्धय झोउ दोंगु र ज्याक्सन यीले अभिनय गरेका छन् । चिनियाँ भाषामा फिल्म छ । हङकङ फिल्म अवार्डमा यसले उत्कृष्ट फिल्मसहित आठ अवार्ड जितेको थियो ।

३) ब्रोकन किज –लेबनान
यो विधामा मध्यपूर्वी फिल्मले औषत प्रदर्शन गरिरहेका छन् । जिम्मी किरोज निर्देशित फिल्मले संगीतलाई बर्जित गरिएको समुदायमा एउटा पियानोबादकले गरेको संघर्ष चित्रण गर्छ । कान्समा छानिएको यो फिल्मले विश्व राजनीति र मानवीय जितलाई सन्तुलनपूर्वक चित्रण गर्छ । मानवीय आधारभूत पक्षमा भएकाले अस्करका मतदातालाई यसले आकर्षित गर्न सक्छ ।

४) जालीकट्टु –भारत
लिजो जोस निर्देशित भारतीय फिल्म ‘जाली कट्टु’ अर्को एउटा बलियो प्रतिस्पर्धी हो । अस्कर मतदाताले यसअघि हेरेका भारतीय फिल्मभन्दा यो फिल्म भिन्न छ भनेर कन्भिन्स गर्नु निर्देशकका लागि चुनौति छ । बलिउडभन्दा धेरै पर रहेर यसले एउटा गाउँको कथा भन्छ । एउटा बाक्लो जंगलमा मध्यरात हुने भागदौड र हिंसाको घटनालाई यसले चित्रण गर्छ ।

५) लीप –चीन
चीनले अहिलेसम्म दुईपटक मात्र अस्करमा मनोनयन दर्ता गर्न सक्यो । जु दोउ र हिरो नामक यी दुबै फिल्मलाई झाङ योमुले निर्देशन गरेका हुन् । स्पोर्ट्स ड्रामा लीप अस्कर जित्ने खालको फिल्म महसुस हुँदैन तर, निर्देशक पिटर चानले एउटा गाउँको थ्रीलरलाई यसमा पस्किएका छन् । अभिनेता गो लिङको स्टारपावर दर्शक तान्ने आकर्षण बन्न सक्छ ।

सन् २०१६ को आलम्पिकमा चिनियाँ महिला भलिबल टीमले गरेको संघर्ष यसको कथा हो । सन् १९८० देखि चीनको विकास र राजनीतिमा आएको ठूलो परिवर्तनको कथा यसले चित्रण गर्छ ।

६) लुनाना : अ याक इन द क्लासरुम –भुटान
पाओ छ्योनिङ दोर्जी निर्देशित भुटानी फिल्म ‘लुनाना : अ याक इन द क्लासरुम’ अर्को बलियो प्रतिस्पर्धी हो । २० वर्षपछि भुटानले अस्करमा प्रतिस्पर्धा गर्दैछ । तर, फेस्टिभलमा चाहिँ यो देशको बलियो सहभागिता छ । एउटा तन्नेरी शिक्षक जसलाई उसको चाहना विपरित एउटा दुगर्म ठाउँको स्कुलमा पठाइन्छ । यसको कथा निकै महत्वपूर्ण छ ।

७) द म्यान स्ट्यान्डिङ नेक्स्ट –दक्षिण कोरिया
दक्षिण कोरियाली निर्देशित उ मिङ हो निर्देशित ‘द म्यान स्ट्यान्डिङ नेक्स्ट’ अर्को बलियो प्रतिस्पर्धी हो । ‘प्यारासाइट’के जितपछि अहिले सबैको ध्यान दक्षिण कोरियाको यो फिल्ममाथि छ । सन् १९७९ मा पूर्वराष्ट्रपति पार्क चङ हीको हत्याकाण्डमाथि फिल्म आधारित छ । जब कथा सियोल हुँदै वासिङ्टन हुँदै पेरिससम्म पुग्छ, फिल्मले पटकथा शीतयुद्ध वरपर घुम्छ ।

८) अ सन् –ताइवान
ताइवानी निर्देशक चुङ मोङ होङ निर्देशित ‘अ सन्’ यसपटक अस्करमा प्रतिस्पर्धा गर्दैछ । ताइवानबाट आङ लीका दुई फिल्म ‘क्राउचिङ टाइगर’ र हिडन ड्रागनले मात्र अस्कर जितेका छन् । ट्रयाजेडीले एक परिवारमा आएको विचलन यसको कथा हो । बाबु –छोरा वरपर फिल्म घुम्छ । गोल्डेन हर्स अवार्डमा फिल्मले फिल्म र निर्देशन विधामा जित दर्ता गरेको छ ।

९) द सन–इरान
इरानी निर्देशिक माजिद माजिदी निर्देशित ‘द सन’ अर्को प्रतीक्षित फिल्म हो । सन् १९९८ को माजिदी निर्देशित फिल्म ‘चिल्ड्रेन अफ हेभन’ पनि अस्करमा मनोनयन भएको थियो । इरानले अघिल्लो दशकमा अस्गर फरादीको ‘अ सेप्रेसन’ र ‘द सेल्सम्यान’बाट पनि अस्कर जितेको छ । गतवर्ष भेनिसमा द सन्ले तीन अवार्ड जितेको छ । यसवर्षको हेभिवेट प्रतिस्पर्धीको रुपमा यसलाई लिन सकिन्छ ।

१०) ट्रु मदर्स –जापान
नाओमी कावासी निर्देशित जापानी फिल्म ‘टु्र मदर्स’ सम्भावित विजेता हो । कान्समा रुचाइएको यो फिल्म जापानबाट यसवर्ष अस्करमा समावेश छ । विश्वव्यापी प्रवृत्तिको रुपमा रहेको बच्चा एडप्टेसनको विषयवस्तुलाई फिल्मले चित्रण गर्छ । हिरोमी नागासाकु र अजु माकिताको बलियो अभिनय यो फिल्मको दर्शनीय पक्ष हो । यी दुई पक्षले गर्दा अस्करका मतदाता आकर्षित हुनसक्ने सम्भावना छ ।