वास बदल्दै चराहरु – Nepal Press
वास बदल्दै चराहरु
फोटो फिचर
ध्रुव भट्टराई २०७७ पुष २५ गते ११:४५
२०७७ पुष २५ गते ११:४५

विराटनगर । नेपालमा पाहुनारुपमा आउने जलपंक्षी चराहरुले गन्तव्य बदल्न थालेका छन् ।

असोजको अन्त्यतिर रुसको साईबेरिया, पूर्वी युरोप र पूर्वी एशियाबाट विभिन्न प्रजातिका चरा बसाइँसरी नेपाल आउँछन् । पछिल्लो समय पाहुनाका रुपमा नेपाल आउने साईबेरयिन चराले गन्तव्य बदल्न थालेका हुन् ।

करिब ७ महिनाको नेपाल बसाइपछि ती चरा घर फर्कन्छन् । पछिल्लो समय ती चरा दक्षिण भारतीय क्षेत्रमा जान थालेको कोशी पन्छी समाजका अध्यक्ष सञ्जीव आचार्यले बताए ।

उनले पछिल्लो २ वर्षमा नेपालमा गणना भएका ८ सय ८८ प्रजातिका चरामध्ये दुई चौथाई चराहरु नेपालहुँदै दक्षिण भारतीय क्षेत्र जाने गरेको जानकारी दिए ।

अव्यवस्थित शहरीकरण, बासस्थानको विनाश, सिमसार क्षेत्रमा मानिसको बढ्दो चहलपहलका कारण चराहरुले गन्तव्य परिवर्तन गर्न थालेका हुन् ।

पूर्वी नेपालमा यो वर्ष ६२ प्रजातिका १९ हजार ५ सय ४४ जलपंक्षी गणना रेर्कड भएको छ । गत वर्ष भन्दा यो वर्ष जलपंक्षीको संख्या १६ प्रतिशतले वृद्धि भएको छ । कोसी बर्ड सोसाइटीका अनुसार गत वर्ष ६१ प्रजातिका १६ हजार १२ जलपंक्षीको गणना गरिएको थियो ।

प्रत्येक वर्ष जलपंक्षी चराहरुले गन्तव्य बदल्न थालेको अवस्थामा यो वर्ष संख्यामा भएको बृद्धी हुनु सुखद भएको चराविद्हरुले बताएका छन् ।

आचार्यका अनुसार सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपंक्षीहरूको गणनाको क्रममा सुनसरीको बर्जु तालमा ३७ प्रजातिका ११ हजार २५ पानी चरा गणना गरिएको छ । गतवर्ष बर्जुमा ३६ प्रजातिका ९ हजार ४५६ जलपंक्षी रेर्कड गरिएको थियो ।

त्यसैगरी कोसी टप्पुमा ५५ प्रजातिका ७ हजार ३ सय ७९ जलपंंक्षी गणना गरिएको छ । यसपटकको गणनामा सिलसिले हाँस र विजुलागैरी हाँस बढी भेटिएको छ ।

चरा गणकहरुले यसपटक बर्जुतालमा ८ वर्षपछि ‘वैकाल्टिल हाँस’ समेत भेटेका छन् ।