असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो – Nepal Press

असारदेखि धरहरा चढ्न पाइने, २०औं तलासम्मको निर्माण सकियो

नेपाल प्रेस २०७७ पुष ९ गते १९:२३
२०७७ पुष ९ गते १९:२३

काठमाडौं । २०७२ सालको भूकम्पले ढालेको धरहरा पुनर्निर्माण भइरहेको छ । अहिलेसम्म धरहराको २०औं तलासम्मको काम सकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले २०औं तलाको बार्दली निर्माणको काम भइरहेको जानकारी दिएका छन् । यही बार्दलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।

धरहरा परिसरभित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङस्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए । ४२.२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहरा २३ तलाको बन्नेछ ।

त्यसबाहेक टक्सार संग्रहालय, भूकम्प संग्रहालयलगायतको संग्रहालय रहने भवनको निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । जमीनमुनिको दुईतलाबाट लिफ्ट प्रयोग गरी २०औं तलासम्म जान मिल्ने गरी तयार पारिएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ ।

भूकम्पले ढालेको तीन वर्षपछि मात्रै पुनर्निर्माणको कामले गति लिएको हो । धरहरा पुनर्निर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते उद्घाटन गरेका थिए ।

मुख्तियार भीमसेन थापाले १८८२ सालमा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पुर्याएपछि नौतले बनाइएको थियो ।

आगामी असार मसान्तसम्ममा हस्तान्तरण

३ अर्ब ४५ करोड रुपैयाँ लागतमा पुनर्निर्माण हुँदै गरेको धरहरा आगामी असार मसान्तभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका सिईओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए ।

प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले आगामी असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने समेत बताए ।