द्वन्द्वले चोट दियो, सिर्जनाले खुसी – Nepal Press
द्वन्द्वले चोट दियो, सिर्जनाले खुसी
संघर्ष र सिर्जना
समर्पण श्री २०७७ मंसिर २९ गते १५:३४
२०७७ मंसिर २९ गते १५:३४

काठमाडौं । उनी आफूलाई कलाकार ठान्दैनन् । न ठान्छन् कुनै उस्ताद कवि । तर, स्केच पेपरमा कुचीले रङ पोतिरहँदा उनका खुशी अनुहारभरि छरिन्छन् । तिनै खुशी कविताका शब्दमा टिप्छन्, गीतका लयमा उन्छन्, चित्रमा उतार्छन् ।

नवराज (बस्नेत) सँग प्रशस्त दुःख छन् । उनी ती दुःख परास्त गर्न पेन्टिङ र कविताको सहारा लिन्छन् । त्यो पनि उनको निम्ति उति सहज छैन । घाँटीभन्दा तलका भागले नवराजलाई साथ नदिएको दुई दशक बित्यो । सधैंलाई निदाएका औंलाहरूले कुची समाउँदैनन् ।

कलम च्याप्न त परको कुरा; ओच्छ्यानमा लमतन्न परे पनि अन्तःस्करणले उकासिरहन्छ– गर्, केही त गर् ! त्यसपछि उनका आँखा सिरानी छेवैमा छरिएका कुची, रङ र स्केचबुकतर्फ दौडन्छन् । ती सबैलाई एकट्ठा गर्न जीवनसँगिनीलाई इशारा गर्छन् । जीवनसँगिनीकै सहारामा सिरानी भएपट्टि घोप्टो पर्छन् । ओठले कुची टिप्छन्, हातका दुई भागले सकी नसकी च्याप्छन् । कुइनो घिसिपिटी अड्याउँछन् र मुखले च्यापेको कुची रङमा घोल्दै सुन्दर आकृति कोर्छन् ।

उनी गणेशको चित्र बनाउँदै थिए । बनाउने क्रममा कुइनामा घाउ भएर तन्ना रगताम्य भएछ । दुखाइलाई बेवास्ता गरेर चित्रमै घोत्लिएका उनी रगत बगिरहेबारे बेखबर भएछन् । ‘हामीले देखेपछि मात्र थाहा भयो । आफ्नै बिमार लुकाएर पनि चित्र बनाउने बानी छ उहाँको’ चिन्तामिश्रित भावमा जीवनसँगिनी सुनाउँछिन् ।

केही दिनयता त्यही चोटका कारण उनको चित्र बनाउने क्रम रोकिएको छ । ‘यही गणेशको चित्रमा अब फिनिसिङ गर्न बाँकी छ । घाउ कहिले निको हुने हो कुन्नि’, अधुरै रहेको चित्रतर्फ इंगित गर्दै नवराज सुनाउँछन् । एउटा चित्र बनाउन एक हप्ताभन्दा बढी समय लाग्छ । कुइनोले टेक्नुपर्छ, पटक पटक त्यहीं घाउ भइरहने समस्याले असहज भइदिन्छ । मुखैले कलम च्यापेर सुन्दर अक्षरमा लेखिएका कविता पनि निकै भइसके । त्यो पनि छाप्ने तर्खरमा छन् नवराज ।

पहिला त उनी खूब निराश हुन्थे । सिर्जनात्मक काम गर्न निकै मन लाग्थ्यो । अरूले बनाएको चित्र वा नयाँ कुरा देख्दा आँशु बगाउँदै सोच्थे– मेरो पनि हात/गोडा ठीक भइदिएको भए कत्ति बनाउँथें होला ।

उनको निराशा त्यो दिनदेखि सकियो, जुन दिन नवराजले फरक कला देखे । ‘टीका बम्जन, जसको एम्बुसमा परेर दुई हात काटिएका थिए । उनी मुखैले गीत लेख्थे । मुखले गीत लेखेको देखेपछि सपनाको नयाँ टुसा पलाउन थाल्यो । मैले सोचें– हात नचलेर के भो ? मुखैले सिर्जनात्मक काम गर्न म पनि सक्छु नि !’

बाल्यकालदेखि नै चित्रकलामा रुचि थियो उनको । स्कूले जीवनमा भएका प्रतियोगितामा पुरस्कार हात पार्थे उनी । अझ रुचि त नृत्यमा थियो । स्कूल र गाउँको कार्यक्रममा खूबै राम्रो नाच्थे । सपना पनि थियो– एकदिन नृत्य पारखी बन्ने । ‘यदि म राम्ररी चल्न सक्थें भने आज राम्रो नृत्यकार हुनसक्थें हुँला’, उनी विगत सम्झन्छन् ।

एउटा भयानक दुर्घटना जसले नवराजको जीवनको हर कुरा बदलेको थियो । त्यो क्षण उनी बाँचुन्जेल भुल्न सक्दैनन् । ‘त्यो बेला संकटकाल थिएन भने मेरो जीवनमा संकटै आउने थिएन । म जिन्दगीभर अपांग बन्नुपर्ने थिएन’, उनी त्यतैतिर फर्कन्छन् ।

माओवादी द्वन्द्वले दिएको त्यो चोट

त्त्कालीन माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वको समय । गाउँमा (सोलुखुम्बु, सोलु दूधकुण्ड) माओवादी र सरकार दुवैतर्फको आतंक थियो । २०५७ साल फागुन १९ गते । १६ वर्षका नवराज एसएलसीको टेस्ट परीक्षा दिएर त्यसदिन घरमै बसेका थिए । अन्तिम परीक्षाको तयारी गर्दै थिए उनी ।

दिउँसोतिर तत्कालीन भूमिगत पार्टी माओवादीका कार्यकर्ताहरू उनको घरमा आए । गाउँमा कुनै छलफल वा कार्यक्रम गर्नु परे प्रायले उनैको घरको हल सम्झन्थे । त्यसदिन माओवादीहरू पनि गोप्य छलफलका लागि उनको घरमा आइपुगेका थिए । नवराजले हल खोलिदिए । ठूलो कोठामा उनीहरूको छलफल चल्दैथियो । उनी कोठाबाट बाहिरिएर बार्दलीमा गए । अचानक उनले परबाट सेनाहरू लहरै हिंड्दै गरेको देखे ।

‘तल त माओवादी साथीहरू छन्, सेनाहरूले चाल पाए भने भिडन्त पो हुनसक्छ’, नवराज अत्तालिए । दुर्घटना निम्तन दिनुहुने थिएन । उनी छट्पटिए । तल गएर जानकारी दिन्छु भनेर उठेका मात्र थिए, शरीर अचानक असन्तुलित भयो । उनी पछाडिपट्टि एक्कासि तल खसे । ढुंगामा गएर शरीर बजारियो । बेहोश भए । बजारिएको आवाज आएपछि भान्सा कोठाबाट आमा र ठूलीआमा अत्तालिंदै आए । निकैबेरपछि होश खुल्यो ।

होशमा आउँदा नाथ्री फुटेको थियो । छातीभरि रगत लत्पतिएको थियो । केही बेरपछि आमा र ठूलीआमाले दु्ईपट्टिबाट उचालेर उभ्याउन खोजे । खुट्टा टेकेका मात्र थिए, करेन्ट लागेको अनुभव भयो । दुई पाइला हिंड्ने क्रममा उनी पुनः बेहोश भए ।

‘माओवादी साथीहरू भने त्यति नै बेला निस्किसकेछन् । कुनै दुर्घटना नहोस् भनेर ठानेको मैले आफैं दुर्घटनामा परेछु’ उनी सुनाउँदै जान्छन्, ‘नवराज लड्यो भनेपछि घरमा सबैजना जम्मा भए । तर अस्पताल लैजाने होश कसैमा आएनछ । बेहोश भएपछि गाउँमा फुकफाक गरेर राखिएछ । छोपेको पो हो कि भनेर धामी लगाइएछ ।’

धामीले सूर्य उदाउँदा ठीक हुन्छ भनेका थिए । भोलिपल्ट बिहान ८ बजिसक्यो, निको भएन । अवस्था नाजुक हुँदै गएपछि हतार हतारमा स्ट्रेचर खोजेर जिल्ला अस्पताल पुर्‍याइएछ । जिल्लामा लगेपछि डाक्टरले भनेछन्, ‘बिरामीको अवस्था जटिल छ । यहाँ हुँदैन काठमाडौं लैजानुपर्छ ।’

बुबा भूपू नेपाली सेना थिए । त्यसकारण काठमाडौंको छाउनी हस्पिटलमा उपचार निःशुल्क हुन्थ्यो । आइतबार बिहान ७ बजे प्लेनमार्फत नवराजलाई छाउनी हस्पिटल लगियो । ‘बिरामीको स्पाइनलमा असर परेको छ, एकपटक एमआरआई गरौं । त्यसपछि रिपोर्ट अनुसार उपचार गरौं’, डाक्टरले सुझाए । घाँटीदेखि तलको भागमा गहिरो चोट लागेको थियो ।

रिपोर्ट त आयो । ज्वरो बढेको कारण तत्काल अप्रेसन नगर्न डाक्टरले सुझाए । ‘प्राथमिक उपचार राम्रो भएनछ । नसामा गम्भीर असर पुगेछ । अप्रेसन गर्न मिल्दैन । अलि समय लाग्छ । विस्तारै ह्विलचियरमा राखेर फिजियोथेरापी गर्दै ठीक बनाउनुपर्छ’, डाक्टरले भने ।

सुधार होला भन्ने आशा त थियो । तर, शरीरमा अझै गम्भीर असर देखा पर्दै गए । शरीर सुक्दै गयो । ज्वरो कम भएन ।

चाँडै ठीक भएर काठमाडौं घुम्ने अनि घर गएर एसएलसीको परीक्षा दिने सोच बनाएका थिए नवराजले । तर, त्यसो भएन । उनलाई स्पाइनल इन्जुरी भएको थियो । ठीक हुने आश भित्रैबाट मर्न थाल्यो ।

‘तपाईंको छोराले पहिलाको जस्तो जीवन पाउन कठिन छ । ह्विलचियरमै जीवन बिताउनुपर्छ । फिजियोथेरापी गर्नुपर्छ । भित्रको नसामा गम्भीर असर परेको छ’, बुबालाई चिकित्सकले भनेको अस्पष्ट कुरा नवराजले सुने, ‘एक भाग काटिएको छ, एक भागमा रगत छ, एक भाग बाँकी छ । तैपनि हेरौं नसाको केसमा भन्न सकिन्न । दैवको हातको कुरा हो ।’

त्यसपछि बा नवराजको छेउ बसेर धुरुधुरु रुन थाले । उनी पनि बासँगै भक्कानिए । ‘कतिले मलाई हेर्न सक्थे, कतिले हेर्न नसकी आँशु पुछ्दै फर्कन्थे’, नवराज सम्झन्छन् ।

डेढ महीनापछि ह्विलचियरमा उनलाई राखिन थालियो । पहिलो पटक ह्विलचियरमा बसेपछि उनले एकाएक सम्झे– गाउँमा उफ्रँदै नाचेको र नृत्य पारखी हुने सपना । उनले रुँदै सोचे– पुरानो जिन्दगी यति नै रहेछ ।

नवराजलाई अब ह्विलचियरमा बाले भित्र–बाहिर गर्न थाले । छाउनी अस्पतालमा उनलाई हेरचाह गर्ने बा मात्र थिए । काका आउने–जाने गरिरहन्थे ।
एकदिन बुबालाई एक जनाले सल्लाह दिएछन्, ‘नआत्तिनु । तर यहाँको मात्र भर नगर्नु । नसाको डाक्टर उपेन्द्र देवकोटा राम्रो हुन् । एकपटक नर्भिकमा लगेर जँचाउनु । केही हुन्छ कि !’

बुबाले काकालाई त्यो कुरा राखेछन्, ‘एकपल्ट डाक्टर उपेन्द्र देवकोटालाई देखाउने पो हो कि ! उनले नर्भिकमा हेर्छन् अरे, न सुधार भै’हाल्छ कि !’

त्यसपछि नवराजलाई नर्भिकमा लगियो । ‘अप्रेसन पहिल्यै गर्नुपर्दथ्यो । त्यो घाउमा पछि मासु पलायो भने क्यान्सर हुने सम्भावना हुन्छ । ठीक त परै जाओस् दुई वर्ष पनि ऊ जाँदैन । किन राखेको अहिलेसम्म’, एमआरआई हेरेर डा. देवकोटाले चिन्तित हुँदै भने । डा. देवकोटाले अप्रेसन गर्नुपर्ने अडान लिए । ‘नसा च्यापिएको छ । पहिल्यै नै हड्डी ठाउँमा ल्याएर भित्र खुकुलो गरिदिनुपर्दथ्यो । बचाउन भए नि अप्रेसन गर्नुपर्छ । घरको स्थिति के छ । मलाई तीन दिन भित्र भन्नुहोला’, डा. देवकोटाले भने ।

उपचार खर्च जुटाउन सकस

नर्भिकमा खर्च दुई लाख रुपैयाँ भन्दा बढी लाग्ने रहेछ । त्यति खर्च जुटाउन नसक्ने दुःखेसो पोखेपछि डा. देवकोटाले भने, ‘परिवारको अवस्था त्यस्तो छ भने वीर अस्पतालमा मेरो न्यूरोको वार्ड छ । त्यहाँ चिट्ठी लेख्दिन्छु । उताबाट डिस्चार्ज गरेर ल्याउनुहोला ।’

नवराजलाई छाउनीबाट डिस्चार्ज गरेर वीर अस्पतालमा लगियो । अप्रेसन निःशुल्क भयो । अप्रेसनपछि फिजियोथेरापी गर्नुपर्ने डाक्टरले सल्लाह दिए । त्यसका लागि पुनः छाउनी लैजाने कुरा भइरहेको थियो । त्यही बखत अर्को घटना घटिदियो । काकाको घरबाट फर्कँदै गर्दा नवराजका बालाई मोटरसाइकलले पछाडिबाट ठक्कर दियो । नवराजलाई पुनः छाउनी लैजाने योजना बुबाको दुर्घटनाले असफल भयो । अब, बा र छोरा एकै अस्पतालमा उपचाररत रहे । दुई महीनापछि बाको अप्रेसन सकियो र उनमा सुधार हुँदै गयो ।

त्यतिबेला जोरपाटीमा अर्थोपेडिक अस्पताल भर्खर खुल्दैथियो । त्यहाँबाट स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको आवश्यकतालाई मनन गरेर कनकमणि दीक्षितले स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र खोल्न लागेका रहेछन् ।

नवराजको ठूलो बा र काका बुझ्न गए । सबै कुरा मिलेपछि नवराजलाई त्यहाँ लगियो । जोरपाटीमा स्पाइनल इन्जुरीको पहिलो बिरामी भएर बसे । त्यहाँ जानुअघि उनी ओल्टेकोल्टे फर्कन पनि सक्दैनथे । दाँया–बायाँ घाउ थियो । नियमित फिजियोथेरापीले उनलाई केही सहज बनाएको थियो ।

अस्पतालमै सिर्जना !

त्यहाँ गीत संगीत तथा साहित्यिक कार्यक्रम पनि हुन्थ्यो । नवराजलाई गाउन रहर हुन्थ्यो, तर घाँटीको चोटले स्वर पुग्दैनथ्यो । अरूले कविता भन्थे । उनी पनि वाचन गर्न खोज्थे । हात चलाउने थेरापीले गर्दा अलिअलि हात त चल्यो । आर्टिफिसियल यन्त्रको सहयोगमा चम्चा बाँधेर खान सिकाइयो । र लेख्न पनि । तर त्यो सम्भव भएन । अरू बिरामीको सुधार हुँदै जाँदा सहज देखियो, उनको शरीरमा बाँकी सुधार देखिने अवस्था भएन ।
विस्तारै आफूलाई बेवास्ता गरेको अनुभव गर्न थाले उनले । उनलाई चाहिं डिस्चार्ज गरेर घर पठाउन थालिएको थियो । तर उनी संगीत सिक्न चाहन्थे । उनले संगीत सिक्ने अडान लिए । स्वरमा सुधार हुने अपेक्षा थियो ।

जिद्दी नछाडेपछि उनी त्यहाँ रहने भए । त्यसपछि कम्प्युटरमा नक्कली औंला हालिदिएर कम्प्युटर, ल्यांग्वेज र म्युजिक सिकाउन थालियो । ६ महीना त्यहाँ उनले संगीतको आधारभूत कुरा सिके । विस्तारै उनको स्वर खुल्दै गयो । त्यही क्रममा फेरि अर्को दुर्घटना घट्यो । बुबा वाथरुम जाँदा मार्बलमा चिप्लिएर लडेछन् । बुबाको ढाडमा असर पर्‍यो । बुबा फेरि छाउनीमा उपचाररत रहे ।

बुबाको दुर्घटनापछि नवराजले पुनस्र्थापना केन्द्र छाड्नुपर्ने अवस्था आयो । त्यसपछि उनी ६ महीना घर गए । घर गएपछि फेरि समस्या आउन थाल्यो । उनलाई पत्थरी पनि भएछ र बुबालाई क्षयरोग देखिएछ । बुबा फेरि छाउनीमा भर्ना भए । उनी पनि छाउनीमा उपचाररत रहे ।

०००

उनी जीवनदेखि थाकेका थिए । चरम निराशा बाहेक नवराजसँग अर्थोक केही थिएन । त्यसबेला अस्पतालमा एक जना जर्नेल डाक्टरले हौसला दिंदै भने, ‘उपचार नि हुँदै गर्छ बाबु । दिमाग ठीक छ । संसारमा कस्तो कस्तो मान्छेले के –के गरेका छन् । तिमीले पढाइ अघि बढाऊ, सिर्जनात्मक काम गर । आँट्यौं भने सक्छौ ।’

डाक्टरको हौसलाले नवराजमा केही उत्साह थपियो । त्यसपछि स्थगित रहेको पढाइलाई उनले अगाडि बढाउने निधो गरे ।

हुन त उनले टेस्ट परीक्षा नै पास गरिसकेका थिए । तर, फसाद पर्‍यो कक्षा ८ को सर्टिफिकेट स्कूलसँगै जल्दा । ‘हाम्रो स्कूलको अफिस जलेको थियो । मैैले कक्षा ८ को सर्टिफिकेट लिएको थिइनँ । सरले स्कूल जल्दा सर्टिफिकेट पनि जल्यो भनेर भने । त्यसपछि मैले ८ कक्षाको फर्म भरेर प्राइभेट परीक्षा दिएँ’ उनी सुनाउँछन् ।

पढाइ छाडेनन्, लेख्ने मान्छे अर्कै राखेर परीक्षा !

लेख्ने मान्छे अर्को राखेर  उनले कक्षा आठ हुँदै टेस्ट परीक्षा समेत दिए । एसएलसी पनि दिए । स्वाध्ययनसँगै काठमाडौंको आरआर (रत्नराज्य क्याम्पस) क्याम्पसबाट स्नातक समेत सके । बीचमा उनले लोकसेवा तयारी गरे । परीक्षा पनि दिए । ‘लिखितमा त पास भएँ, अन्तर्वार्तामा फालिएँ’, उनी सुनाउँछन् ।

पछि उनको परिवार काठमाडौंको डल्लुमा भाडामा बस्न थाल्यो । फेरि यही बेला अर्को घटना आइलाग्यो । आमालाई फोक्सोको क्यान्सर देखियो । बुबा कमजोरी, आमालाई क्यान्सर । यसपछि उनले पढाइलाई अघि बढाएनन् । यही बीचमा नयाँ सोच मस्तिष्कमा सल्बलाउन थाल्यो । गीत, कविता लेख्ने रहर जाग्यो । पुनः चित्रकलालाई अघि बढाउने उत्साह थपियो ।

‘जीवनलाई नयाँ ढंगबाट अगाडि बढाउँछु, जाँदा पनि सिर्जनात्मक परिचय बोकेर जाऊँ जस्तो लाग्यो । केही गर्ने हुटहुटी बढ्यो’ उनी सुनाउँछन्, ‘अनि हातले नभएर के भो मुखैले लेख्छु र चित्र कोर्छु भनेर थालें ।’

कोठामा बस्दा वरिपरिका विद्यार्थी उनीसामु आउँथे । नजानेको कुरा सोध्थे । उनी जानेको बताइदिन्थे । त्यही क्रममा उनले मुखले बनाएको चित्र विद्यार्थीहरूले देखे । ‘आहा ! कति राम्रो चित्र ! मलाई पनि बनाइदिनु न !’ उनीहरूले जिद्दी कस्न थाले ।

उनी चित्र बनाइदिन्थे । त्यसपछि उनको कलाको प्रशंसा वरिपरिकाले पनि गर्न थाले । ‘म खास राम्रो त बनाउँदिन जस्तो लाग्छ । तर उनीहरूको हौसलाले अझै राम्रो बनाउन सक्छु कि भन्ने चाहिं भइरहन्छ’, उनी मुस्कुराउँदै भन्छन् ।

नवराजले मुखले चित्र बनाउन थालेको पाँच वर्ष जति भयो । दुई–चार दर्जन चित्र उनले मुखैले बनाइसके । ‘तीमध्ये सबै मसँग छैनन् अहिले । कोही साथीहरूले लगे, कोही भाइबहिनीहरूले । अहिले चाहिं संकलन गर्छु भन्ने लागेको छ’, उनी सुनाउँछन् । उपचारपछि आमा क्यान्सर मुक्त भइन्, बुबाको स्वास्थ्य सामान्य हुँदै गयो । तीन वर्षअघि मात्र उनको बिहे भयो । आफूसँग जोडिएको जीवनसाथीको नवराजलाई ठूलो साथ छ । उनमा ऊर्जा यसकारण पनि थपिएको छ ।

एउटा सामान्य मानिसले कति असामान्य जीवन बाँच्छ, त्यसको उदाहरण हुन् नवराज । यही असामान्य जीवनमा सामान्य व्यक्ति भन्दा राम्रो काम गर्ने हुटहुटी उनमा बढ्दो छ । यही हुटहुटीले उनलाई अहिले खुशी दिएको छ ।