विशाल भट्टराईकी आमाको हृदयको विशालता : मेरो पैतालाले कीरै नमरोस् – Nepal Press

विशाल भट्टराईकी आमाको हृदयको विशालता : मेरो पैतालाले कीरै नमरोस्

८८ वर्षीया पवित्रा भट्टराई बिहे हुँदा जम्मा नौ वर्षकी थिइन् ।

सबैलाई थाहा छ, नौ वर्षको बच्चाले के के गर्न सक्छ ! सबैलाई थाहा छ, नौ वर्षको बच्चाको चेतना कुन हदसम्म छिप्पिएको हुन्छ !

यति कलिलो उमेरको बच्चाले राम्रोसँग लुगा लगाउन समेत जान्दैन, तर पवित्राले भने सिन्दुर नै लगाउनुपर्यो । यस्तो उमेरका बच्चाले आमाको काख छाडेको धेरै भइसकेको हुँदैन, तर पवित्राले जन्मघर नै छाड्नुपर्‍यो । यस्तो उमेरको बच्चाले बारीको गह्रासम्म नाघेका हुँदैनन्, पवित्राले भोजपुरबाट खोटाङसम्म नौ डाँडा काटेर जानुपर्‍यो ।

पवित्राको यो जीवन-कथा झ्वाट्ट सुन्नेहरुलाई दन्त्यकथाजस्तो लाग्न सक्छ । केटाकेटीले खेल्ने भाँडाकुटीजस्तो लाग्न सक्छ । अहिलेको नयाँ पुस्तालाई त एकादेशको कहानीजस्तो लाग्न सक्छ ।

तर, यो कहानीको हर एक प्रसंगहरुमा पवित्राको आँसु र रगतको बुँद मिसिएको छ । यो कहानीको हरेक खुड्किलोहरूमा पवित्राको अविश्रान्त गति छ । यो कहानीको हरेक अनुच्छेदमा पवित्राको हिम्मत र दुःखलाई झेल्ने साहसको प्रतिध्वनि छ ।

त्यसैले त ८८ वर्षको उमेरमा पनि पवित्रा ठमठम हिँडिरहेकी छन् । स्वास्थ्यमा कुनै जटिलता छैन । स्मरण शक्तिमा कुनै समस्या छैन । थाइराइड र प्रेसरलाई त उतायता गरेरै पचाइदिन्छिन् ।

०००

वि.सं. २००२ सालको कुरा हो ।

भोजपुरको सिक्तेलमा साथीहरूसँग खेलिरहेकी पवित्रालाई सिँगार्न सुरू गरियो । घरमा गाउँलेहरू भेला भएका थिए । आफन्त, नरनाता भेला भएका थिए । बेहुलीको लुगा लगाइदिन सुरू गरियो । केही गरगहना पनि पहिर्‍याइयो ।

केहीबेरमा पञ्चेबाजा बजाउँदै पितृप्रसाद भट्टराई दुलाहाको भेषमा जन्तीसहित आइपुगे । अनि त के चाहियो ! पवित्रालाई अन्माइयो ।

के कसो भइरहेको हो, पवित्रालाई थाहै थिएन । आमाले ‘बिहे हो’ भनेकी थिइन् । केका लागि के कारणले बिहे भएको हो, उनलाई थाहा थिएन । बस्, उनको बिहे भयो ।

बिहे भए पनि पवित्रा चार वर्ष जति माइतमै बसिन् । एक दिन बा-आमाले उनलाई भने, ‘अब आफ्नो घर जानुपर्छ ।’

‘आफ्नो घर’ भनेको कहाँ ?

बा-आमाले उनलाई सम्झाएपछि पो झसंग भइन्, उनको घर त एक दिनको बाटो टाढा खोटाङ बजारमा रहेछ । उनले जुन घरलाई घर सम्झिरहेकी थिइन्, त्यो घर त उनको माइत रहेछ । उनले सृष्टि चलाएर खानुपर्ने त पितृप्रसादको घरमा रहेछ ।

अनि उनी मन अमिलो बनाउँदै पितृप्रसादको घरतिर लागिन् ।

माइतमा पुल्पुलिनलाई बा-आमा थिए । बा-आमाको माया थियो । श्रीमान्‌को घरमा त सिर्फ दुःख र संघर्षको पहाड मात्रै थियो । जति चढे पनि नसिकने दुःखैदुःखको पहाड ८ दशकदेखि चढिरहेकी छन् । कहिले सकिन्छ त यो दुःखको पहाड ? उनैलाई थाहा छैन ।

खोटाङ बजारको घरमा घाम ताप्दै बिहेको प्रसंग सम्झिन्छिन्, ‘म त सानै थिएँ । बा-आमाले त्यहाँ जानुपर्छ भनेर पठाए । बा-आमाले पठाएपछि आउनैपर्‍यो, आएँ ।’

०००

खोटाङ बजारका गह्राहरूमा पवित्राका पाखुरी नघोटिए जमिन बन्जर बनेर जान्थे । अन्नका बिउसँगै उनको पसिना पनि जमिनमा पोखिनुपर्थ्यो । र, मात्रै भोक टार्ने अन्न फल्थ्यो । पितृप्रसादको पनि लेखापढीका पार्टटाइम जागिर सकिएको थियो । खोटाङ बजारबाट दिक्तेलमा अड्डा सरेपछि आर्थिक शिथिलता छाएको थियो ।

र पनि पवित्रा-पितृप्रसादले बच्चाबच्चीलाई स्कूल पठाइरहे ।

तीनजना छोरा, दुईजना छोरी । जेठी छोरीले अक्षरमात्रै चिनिन् । कान्छी छोरी एसएलसीसम्म पढिन् । छोराहरू सबैले पढे । जेठो र माइलो जागिरे बने । कान्छो छोरो विशाल भट्टराई राजनीतितिर लागे ।

‘जेठो र माइलोले पढेर जागिर खाए । विशालले चाहिँ जागिर खान मन गरेन,’ पवित्रा सुनाउँछिन्, ‘म जागिर खान्नँ, राजनीति गर्छु भन्यो । दाजुहरूले पनि छाडिदिनू भने । बाले पनि केही भनेनन्, मौन स्वीकृति दिए ।’

अहिले पवित्रालाई लाग्छ, विशालले राजनीतिको बाटो रोजेर ठीक गर्‍यो ।

भन्छिन्, ‘मेरो विशाललाई सारा मान्छेले चिन्छन् । जुन जिल्लामा गए पनि उसलाई नचिन्ने मान्छे हुँदैन । मान्छेले चिन्नु भनेको धेरै ठूलो कुरा हो नि ! नाथे सम्पत्ति भनेको केही पनि होइन, नाउँ ठूलो हो । विशालकै कारणले घरमा मान्छेहरू आइरहन्छन् ।’

०००

विशालका दाइहरूले पनि राजनीति गर्थे ।

२०४५ सालतिर माइलो पर्वत भट्टराई खरिदार थिए । अखिलमा पनि आवद्ध थिए । २०४५ सालको भारतीय नाकाबन्दीको वेला अखिलको पर्चा बाँड्ने क्रममा उसलाई प्रहरीले पक्राउ गर्‍यो । दुई महिनासम्म हिरासतमा राख्यो । धन्न जागिर चाहिँ खुस्किएन ।

‘माइलो छोरो पक्राउ पर्‍यो रे’ भनेको सुन्दा पवित्राको मुटु गाँठो परेको थियो । आमाको मन हो, छोराको हिरासत बसाइ सम्झेरै दुख्ने भइहाल्यो ।

‘हिरासतबाट छुट्यो रे’ भनेको सुन्दा उनको मुटुको गाँठो यसरी फुकिएको थियो कि मानौं वर्षौँदेखि पिँजडामा थुनिएको चरालाई कसैले खोलेर खुल्ला आकाशमा छाडिदिएको होस् । उनको मुटुको गाँठो यसरी फुकिएको थियो कि मानौं भोकाएको गाइको गलाबाट कसैले दाम्लो खोलिदिएको होस् ।

उनी सुनाउँछिन्, ‘त्यसपछि पो राजनीति अलिअलि बुझ्दै गएँ । राजनीति भनेको जनताको सेवा पो रैछ । अनि मलाई मेरो छोराहरुले हिँडेको बाटो मन पर्न थाल्यो । घरमा आए मान्छेहरुले पनि जनताकै भलोका कुरा गर्थे । अनि मलाई राजनीति मन पर्न थाल्यो ।’

उनको घरमा आएका मान्छेहरूले कहिले विभेदको कुरा गर्थे । कहिले महिला मुक्तिका कुरा त कहिले राज्यसत्ताले गर्ने दमनका कुरा गर्थे । कहिले समानताका कुरा, कहिले परवर्तनका कुरा त कहिले अधिकारका कुरा गर्थे ।

बाँझो खेतमा झरी परेजस्तो उनको चेतमा विशालसित आउने मान्छेहरूले गर्ने गफहरू घुस्थे । भोको पेटमा चामलका दाना परेजस्तो उनको दिमागमा विचारका दानाहरू पस्थे । फूलमा मौरी घुमेजस्तो उनको दिमागमा जनताको अधिकारका सवालहरू घुस्थे ।

घरमा अनेक समुदायका मान्छे आउँथे । अनेक खाले कुरा गर्थे । न जातका कुरा आउँथे, न विभेदका । सबैजना घरभित्र बसेर भाँतका गाँस हाल्दै समाजवादका गफ हाल्थे । यही माहौलका कारण पवित्राले थाहा पाइन्, ‘सबैभन्दा माथि विचार र सिद्धान्त हुने रहेछ ।’

‘त्यही कारणले होला, मलाई त घरमा मान्छेहरू आउँदा रमाइलो लाग्छ । मैले पहिलेदेखि नै घरमा आएका मान्छेहरूलाई खाना खुवाएकी छु,’ पवित्रा सुनाउँछिन्, ‘राजनीतिले देश दुनियाँ बुझ्न सघाउँदो रहेछ । मेरो विशालले राजनीति गरिरहेको छ । अझै गरिरहोस् । अझै राम्रो गरोस् भन्ने लाग्छ ।’

०००

पवित्राले राणा शासन भोगिन् । प्रजातन्त्र प्रत्यक्ष महसुस गरिन् । एक तन्त्रीय पन्चायी व्यवस्था पनि भोगिन् । बहुदलपछि माओवादी विद्रोह पनि सहिन् । राजा हटेको पनि प्रत्यक्ष देखिन् ।

नौ दशकमा सबैखाले व्यवस्था देखेकी पवित्रा भन्छिन्, ‘अहिलेकै व्यवस्था ठिक लाग्छ मलाई त । पन्चायतकालमा एक शासन थियो, राजाले जे भन्यो, त्यै फैसला हुन्थ्यो । अहिले जनताले जे भन्छन्, त्यही अन्तिम फैसला हुन्छ ।’

जनताले यसरी अधिकार प्राप्त गर्नुमा विशालको पनि अलिकति भूमिका छ कि जस्तो लाग्छ पवित्रालाई । किनभने विशाल पनि जनताकै अधिकारका लागि हिँडेको थियो भन्ने कुरामा विश्वास्त छिन् । त्यसैले त विशालले हिँडेको बाटोमा उनको साथ र समर्थन सधैं रहिरह्यो ।

२०५९ सालको घटना हो । खोटाङको छितापोखरीबाट विशाललाई माओवादीले नियन्त्रणमा लियो । तिजको दिन कार्यक्रमस्थलबाटै उठाएर लगे । भोजपुर र संखुवासभातिर पुर्याए । ४५ दिनसम्म उनी परिवारको सम्पर्कमा रहन सकेनन् । अन्य पार्टीका मुख्य नेताले गाउँ छाडेर भागे पनि विशाल भने गाउँमै थिए ।

गाउँमै बसेर माओवादीको कडा प्रतिवाद गरिरहेका थिए । यही कारण विशाललाई नियन्त्रणमा लिइएको थियो । त्यो घटना सम्झेर पवित्राको मातृत्व अचानक पग्लिन्छ, ‘त्यसवेला मान्छे मरेका मात्रै खबर आउँथे । कति रोइयो रोइयो नि ! विशालले धेरै दुःख पायो, तर हार खाएन ।’

हरेस नखानेहरुले नै मान्छेको माया पाउँछ भन्ने लाग्छ उनलाई । विशालले पनि हरेस नखाएकै कारण जनताको माया पाइरहेको हो कि लाग्छ उनलाई । जनताबाट भागेर हिँड्नेहरुले माया नपाउने पवित्राको नौ दशकको अनुभवले भन्छ । जनताबाट नभागेकैले पवित्राको विशाललाई साथ र समर्थन छ ।

‘विशालले चुनाव जित्यो । हार्यो पनि । जित्दाखेरि खुसी नै लाग्यो । हार्दाखेरि चाहिँ लाग्यो, राजनीति हो, सधैंभरि जित्नु भन्ने पनि हुँदैन । कहिले कसैले जित्छ, कहिले कसैले,’ पवित्रा हाँस्दै सुनाउँछिन्, ‘हार्दाखेरि दुःखी हुनैपर्ने कुरा छैन । जिते पनि हारे पनि विशाल मेरै छोरा त हो !’

०००

यो नौ दशक लामो पवित्राको जीवनको वहीखाताले भन्छ, उनले आजसम्म कसैको चित्त दुखाएकी छैनन् । कसैको कुभलो चिताएकी छैनन् । कसैलाई खराब भनेकी छैनन् । कसैको दुर्गति होस् भनेर कल्पनासम्म गर्दिनन् । आनी छोइङ डोल्माको गीतले भनेजस्तो, ‘मेरो पैतालाले किरै नमारोस् !’

उनी पितृप्रसादको घरभित्र छिर्दा नन्द, देवर नै आठजना थिए । सानिमा सासु र ससुरा थिए । अनि श्रीमान् थिए । सबैलाई सम्हाल्नुपर्ने अभिभारा पवित्राको किशोर काँधमा थियो ।

‘त्यसवेला बुहारी भनेको त मान्छेको ज्यानै होइन भन्थे । जे जे गरे पनि हुन्छ भन्थे । घरको काम नै धेरै हुन्थ्यो । र पनि सात आठ वर्षसम्म हामी सँगै बस्यौं’, पवित्रा सुनाउँछिन्, ‘त्यति धेरै परिवारभित्र रहँदा पनि मैले कसैको चित्त दुखाइनँ । कोहीसँग पनि नराम्रो भएन । यो बूढी यस्ती छे भनेर मान्छेले भनेको आजसम्म मेरा कानले सुन्न परेको छैन । मलाई देवरहरुले अहिले पनि आमाजस्तै मान्छन् । मेरा तीनजना बुहारीहरुले आजसम्म मलाई नराम्रो भनेका छैनन् ।’

आफ्नो यही स्वभाव छोराहरुमा सरेजस्तो लाग्छ पवित्रालाई । भन्छिन्, ‘विशालले अहिलेसम्म मान्छेको मन दुखाएर हिँडेको याद छैन मलाई । बरु सकेजति माया दिएको छ ।’

केही समयअघिको कुरा हो, विशालले पवित्रालाई रारा तालतिर घुमाउन लगेका थिए । तर, जुन ठाउँमा पुगे पनि राजनीतिकै कुरा हुने । मान्छेहरुले विशाललाई अलमल्याइदिने । जहाँ पनि विशाललाई चिन्ने मान्छेहरु मात्रै भेटिने । पवित्रा अवोध र निर्दोष भाषा बोल्छिन्, ‘मुगुमा त विशाललाई लिन मान्छेहरु नै आए । टाढाटाढाका मान्छेले मलाई विशालको आमा भन्दा खुसी लाग्छ । मैले जन्माएको छोरालाई त्यत्रा मान्छेले चिनेका छन् । उसले सबैको माया पाएको छ । त्यसरी माया पाउनु भनेको उसले पनि माया दिएरै त हो नि !’ उनी थप भन्छिन्, ‘विशाल अझैं ठूलो मान्छे होस् ।’

०००

 


प्रतिक्रिया

3 thoughts on “विशाल भट्टराईकी आमाको हृदयको विशालता : मेरो पैतालाले कीरै नमरोस्

  1. मार्क्सबाद नामको राजनितीक किरो घुसेको रैछ, अब यसले धर्म समाज नष्ट पारेर जंगली बनाउछ नेपाली लाइ।

  2. पत्रकार साथीले लेख्नु भएको कुरा दिदीले हामीलाई भन्नू हुन्थ्यो!!! अत्यन्तै मार्मिक र रियालिटी हो

  3. छोरी श्रीमती बुहारी भाउजु आमा हुदै क्रान्तिकारी आमा हुनुभएकोमा सलाम पर्वत भट्टराई २०४५को गिरफ्तारी लाई देश र जनताको लागि लगानी मान्दै विशाल कमरेडलाई इमान र निष्टाको राजनीतिको लागी शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *