त्रिवि केन्द्रीय क्याम्पसमा १७ जना अध्यक्षका उम्मेदवार, नेविसंघबाट को वास्तविक दाबेदार ? – Nepal Press

त्रिवि केन्द्रीय क्याम्पसमा १७ जना अध्यक्षका उम्मेदवार, नेविसंघबाट को वास्तविक दाबेदार ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।

क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचीमा अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियू क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको क्याम्पस निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।

उनले अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल (क्रान्तिकारी) बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएको बताए । त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।

तर, कांग्रेसनिकटको विद्यार्थी संगठन नेविसंघको आधिकारिक उम्मेदवार अझै टुंगिएको छैन । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको उम्मेदवारको सूचीमा अनोज कार्की र दीपकराज जोशी दुवैलाई नेविसंघ भनी उल्लेख छ । निर्वाचन अधिकृत न्यौपानेले हिजो एक सूचना प्रकाशित गर्दै त्रिवि समितिबाट दर्ता भएका उम्मेदवारहरुको नामावली कारणबश छुटेकोले पुन: प्रकाशन गरिएको उल्लेख गरेका छन् ।

अनोजको पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, पार्टीका निर्देशक समिति संयोजक किशोरसिंह राठोरलगायत छन् । कार्कीको मनोनयन दर्तापछि दुजाङ शेर्पाले दीपकराज जोशीको नाम पठाएका थिए । यहाँ नेविसंघकै अन्य ५ जना बागी उठेका छन् ।

कार्कीले आफूविरुद्ध षड्यन्त्र गरिएको भन्दै निर्वाचन अधिकृतको राजीनामा मागेका छन् । उनले समय सीमाभित्रै आफ्नो उम्मेदवारी दर्ता हुँदा कार्यतालिका अनुसार मनोनयन पत्र समेत नलिएको अर्को समूहले एका-एक मनोनयन पत्र कहाँबाट पायो ? भन्दै प्रश्न गरेका छन् । दावी विरोधको समय पनि नदिएको भन्दै कार्कीले निष्पक्ष तरिकाले मनोनयन गरेर चुनाव सम्पन्न गर्नुपर्ने बताएका छन् ।

आज साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको तथा आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि तोकेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिविअन्तर्गतका क्याम्पसमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर