मिर्गौला रोगका कारण मृत्यु दर बढेकाले सचेत रहन विज्ञहरुको सुझाव


रुपन्देही । वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. रजत कायस्थले अन्य रोगको तुलनामा मिर्गौला रोगका कारण मानिसको मृत्यु हुने दर विश्वमा नै बढ्दो क्रममा रहेको बताएका छन् ।
उनले नेपालमा वर्षेनी मिर्गौलाका विरामीहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै बेलाबेलामा मिर्गौलाको परिक्षण गर्न आग्रह गरे । विश्व मिर्गौला दिवसको अवसरमा बुटवलमा बृहत् जनचेतनामूलक र्यालीपछि आयोजित कार्यक्रममा सरकारीस्तरबाटै मिर्गौला रोग र रोकथामबारे समुदायस्तरमा सचेतनामूलक कार्यक्रम पुर्याउनुपर्ने उनले सुझाए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले मधुमेह र रक्तचापका कारण मृगौलामा पनि समस्या देखिने गरेको बताए ।
डा. गौतमले नियमित रुपमा हिँडडुल र शारीरिक व्यायाम गर्ने तथा सन्तुलित आहार सेवन गर्ने बानी बसाल्दा व्यक्तिको तौल नियन्त्रण हुने र यसबाट उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला तथा अन्य दीर्घकालीन रोगबाट बच्न सकिने बताए ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले नियमित स्वास्थ्य परिक्षण गर्नसके समयमै मिर्गौलाको समस्या पहिचान गर्न सकिने बताए ।
उनंले अस्पतालमा गए केही न केही समस्या देखा पर्छ भन्ने गलत मानसिकताको कारण नेपालीहरुमा गम्भीर स्वास्थ्य समस्या हुने गरेको बताए ।
चिकित्सकहरुका अनुसार नेपालमा बर्षेनि करिब तीन हजारजनाको मिर्गौला फेल हुने गरेको छ । हाल देशमा करिब पांच हजार जनाको निःशुल्क तथा एक हजारजनाको सशुल्क हेमोडाइलाइसिस र तीन सयजनाको पेरिटोनियल डाइलाइसिस भइरहेको छ । देशमा करिब दुई हजार जनाले मिर्गौला प्रत्यारोपण गरी जीवन बिताइरहेका छन् ।
बिहीकार बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजना तथा यसक्षेत्रका रोटरी, रोट्र्याक्ट लगायतका विभिन्न संघसंस्थाहरुको सहकार्यमा सचेतनामूलक र्याली निकालिएको हो ।
रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल परिसरबाट निकालिएको जनचेतनामूलक र्याली राजमार्ग चौराह, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुंदै ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो ।