कसको प्रधानमन्त्री, कस्तो प्रधानमन्त्री ? – Nepal Press

कसको प्रधानमन्त्री, कस्तो प्रधानमन्त्री ?

चार वर्षअघि भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरदेखि डेढ किलोमिटर दक्षिणको शहर मैसुरमा पुगेको थिएँ । कर्नाटक राज्य दोस्रो ठूलो शहर मैसुर । साँझ होटलका कर्मचारीहरूसँग रमाइलो कुराकानीको मेसो मिल्यो । थालनीमा विषय थियो, ‘नेपालका हिमाल, पशुपतिनाथदेखि भारतका क्रिकेटर विराट कोली र अनुश्का शर्माका सफल प्रेम कहानीसम्म, सालमान खान र कट्रिना कैफका असफल प्रेम कथा पनि ।’

बिसौनीमा मैले राजनीति मिसाएँ । उनीहरूलाई सोधेँ, ‘नेपालका नेताहरू चिन्नुहुन्छ ?’ ‘यी उहाँलाई चिन्छु,’ एकजनाले मोवाइलमा गुगल सर्च गरेर केपी शर्मा ओलीको तस्बिर देखाएर भने, ‘टेलिभिजन र सामाजिक सञ्जालमा उहाँको चर्चा हेरेको हुँ ।’

सोधेँ, ‘अनि कस्तो लाग्छ, उहाँ ?’ ‘एकदमै खराब,’ उनको रोषपूर्ण जवाफ थियो, ‘चीनसँग मिलेर भारतीय भूमि आफ्नो नक्सामा राखेका छन् ।’ मैले तथ्य बुझाउन खोजेँ उनले सुन्नै चाहेनन् । भारतीयहरू आपसमा धेरै मामिलामा विभाजित छन् । धार्मिक र सांस्कृतिक मनोविज्ञानबाट हेर्दा भारतीयहरू बारुदको पहाडमा उभिएका छन् । तर, उनीहरू एउटै विषयमा एकजुट छन्, त्यो हो देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनता । चाहे पाकिस्तान हेप्ने मामिला होस् वा चीनलाई हेर्ने मामिला अथवा नेपाललाई घेर्ने मामिला ।

तलतिरको छिमेकी भारतमा नरेन्द्र मोदीलाई हेरौं वा मास्तिर चीन चिहाएर सी जिनपिङलाई बुझौं अथवा अलि पर अमेरिकामा डोनाल्ड ट्रम्पको उदयलाई हेरौं । अथवा रुसतिर पुटिनलाई । उनीहरूको उदय ‘राष्ट्रवाद’ अर्थात् देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाधीनताको प्रश्नसँग जोडिएको छ ।

मैसुरका ती होटल कर्मचारीहरूको आक्रोशलाई त्यही रूपमा बुझेँ । किनभने त्यही बेला केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो । त्यही बेला अर्थात् ६ जेठ २०७७ मा प्रतिनिधिसभालाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले भारतलाई सोधेका थिए, ‘भारतको एउटा प्रतीक चिन्ह छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ । म भारतलाई सोध्नेछु- सिंहमेव जयते कि सत्यमेव जयते ?’

नयाँ संविधान घोषणा रोक्न काठमाडौं आएका प्रधानमन्त्रीका विशेष दूत तत्कालीन विदेश सचिव एस. जयशंकरको आदेश अवज्ञा होस् वा नाकाबन्दीको दृढतापूर्वक प्रतिरोध । एकपछि अर्को यस्ता अनेकन श्रृंखलाहरूले नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बिम्ब भारतीयहरूको सामान्य जनताको तहसम्म ‘भयनाक’ बनाइएको प्रष्ट हुन्थ्यो । एक हिसाबले ओलीप्रति उनीहरूको घृणापूर्वक धारणा थियो । माथि उल्लेखित विकास क्रमहरूको नतिजा ।

कसको प्रधानमन्त्री ?

नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा ३० असार २०८१ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । सत्ता गुमाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो प्रतिक्रिया थियो, ‘छिमेकीहरू खुशी छैनन्, यो सरकार धेरै टिक्दैन ।’ कुनै बेला नेपालको स्वाधीनताको लागि भन्दै छिमेकीविरुद्ध सुरुङ युद्धको घोषणा गरेका उनै प्रचण्डले २९ कात्तिक २०८१ मा भारतीय पत्रिका द हिन्दूका लागि सुहासिनी हैदरलाई लामो अन्तर्वार्ता दिएका छन् । त्यो पढिरहँदा यस्तो लाग्छ, के उनी नेपालकै पूर्वप्रधानमन्त्री हुन् त ?

प्रधानमन्त्री ओली चीन जानुअघि लिइएको पूर्वसन्ध्यामा द हिन्दूमा दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, ‘केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदै हुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो । उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ ।’

यसो भन्ने प्रचण्ड को हुन् ? एउटा घटनाको स्मरण गरे पुग्छ,

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण निस्किन ठीक तीन दिनअघि १४ जेठ २०८० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवन उद्घाटन गरे । भारतका ‘हिन्दू राष्ट्रवाद’ का विचारक विनायक दामोदर सावरकर जन्मजयन्तीको अवसरमा उद्घाटित उक्त संसद भवनको भित्तामा राखिएको ‘अखण्ड भारत’ को मुरलमा नेपाली भूमि लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिला हुँदै बंगलादेशसम्मको क्षेत्रलाई समेटियो । त्यसको चर्को विरोध भयो ।

बंगलादेशले आपत्ति जनाउँदै भारतको आधिकारिक धारणा माग गर्‍यो । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ‘बंगलादेशको दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्न त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न’ निर्देशन दिए । पाकिस्तानले खेद प्रकट गर्‍यो । पाकिस्तानका परराष्ट्र मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पत्रकार सम्मेलन गरेर भनिन्, ‘अखण्ड भारतको अनावश्यक दाबी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो, जसले भारतका छिमेकी देशहरूको मात्र होइन, आफ्नै धार्मिक अल्पसंख्यकहरूको पहिचान र संस्कृतिलाई पनि प्रहार गर्न खोजेको छ ।’

नेपालमा पनि जनस्तरबाट चर्को विरोध भयो । धेरैलाई लागेको थियो, ‘१७ जेठदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले जवाफ माग्नेछन् ।’ तर त्यस्तो भएन, प्रचण्डमा आँट देखिएन ।

एमालेले मदन भण्डारी र कांग्रेसले बीपीलाई सबैभन्दा ठूला घरेलु नेता मान्छन् । नेताहरूले भाषण गर्दा होस् या आलेख तयार पार्दा यी दुवै नेताको विचार उद्धृत गर्दै लेख्छन् । नेपाली समाज अहिलेमात्रै होइन उति बेला पनि नकारात्मकताको नै खोजी नै थियो । एउटा प्रश्न काल्पनिक उठ्न सक्छ, ‘उति बेला मदन र बीपीको दानवीकरणमा किन भएन ?’ उत्तर सहज छ, ‘किनभने यी दुवै नेता लामो समय खुल्ला राजनीतिमा रहन पाएनन् ।’

१८ जेठ २०८० मा भारतीय विदेश मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई प्रधानमन्त्रीबीच यो विषय नउठेको जानकारी दिए । उनले भने, ‘नेपाली पक्षले कुरा नउठाएकाले नेपालमा यसको विषयमा प्रदर्शन भइरहेको छ कि छैन भन्ने मलाई जानकारी भएन ।’

ठिकै छ, भारतसँग जवाफ त मागेनन् नै । भारत भ्रमणपछि सांसदहरूले मागेको उत्तर दिँदै रोस्ट्रममा उभिएर निर्लज्जतापूर्वक उल्टै भारतको बचाउ गरे । उही भारतीयहरूको भाका र भाषामा भने, ‘यो भारतको सांस्कृतिक नक्सा हो ।’

२४ जेठमा राष्ट्रियसभाको रोस्ट्रममा उभिएर प्रधानमन्त्री जे बोलिरहेका थिए, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई माया गर्ने जो कोही नेपालीका निम्ति त्यो दृश्य मनमा बिझाउने थियो, त्यो आवाज कर्कशपूर्ण र विडम्बनापूर्ण थियो ।

‘अखण्ड भारत’ को नाममा भारतद्वारा जारी नक्साप्रति आपत्ति जनाउँदै बंगलादेश र पाकिस्तानले जवाफ मागेरहेको बेला यता नेपालका प्रधानमन्त्री भने पटकपटक भारतको बचाउ गरिरहेका थिए । हाम्रा प्रधानमन्त्री बोलिरहेका छन् कि भारतका एक प्रतिनिधि ? खुट्याउन मुस्किल थियो ।

प्रचण्ड भाकामा, लक्की विष्टहरूको भाषा

गएको मंसिरमा भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वएजेन्ट लक्ष्मणसिंह विष्ट (लक्की विष्ट) ले ३० मंसिर २०८१ मा नवभारत टाइम्स अन्तर्वार्ता दिँदै १५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरे । यसका लागि भारतीय एजेन्सीहरूले काम गरिरहेको दाबीसहित उनले भनेका थिए, ‘तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ ।’

३१ साउन २०८१ यता अर्थात् केपी शर्मा ओली प्रधानमन्त्री भए यता भारतीय मिडियामा आएका टिप्पणी र समाचारहरू ६ जेठ २०७७ ताका आएका भन्दा फरक छैनन् । ६ जेठ २०७७ ताका अर्थात् ओली प्रधानमन्त्री भएको बेला कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरियो । उतिबेला पत्रकार रविश कुमारले भनेको ‘गोदी मिडिया’ ले तत्कालीन प्रधानमन्त्री ओली र नेपाल विरुद्ध घृणा र उन्मादले भरिएका भद्दा सामग्रीहरू प्रस्तुत गरे ।

‘ओली इस्किया’ शीर्षकमा ओली र नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भद्दा सामग्री बनाए । नेपालले नयाँ नक्सा जारी गरेको आक्रोशमा भारतीय ‘गोदी मिडिया’ ले ‘ओली इस्किया’ शीर्षकमा भद्दा सामग्री बनाए । ३१ साउन २०८१ यता यही शैलीमा प्रस्तुत भइरहेका भारतीय मिडिया । यता हाम्रा प्रचण्डहरू, टिप्पणीकारहरू भन्छन्, ‘छिमेक खुशी छैनन्, सरकार ढल्छ ।’

‘अखण्ड भारत’ को नाममा भारतद्वारा जारी नक्साप्रति आपत्ति जनाउँदै बंगलादेश र पाकिस्तानले जवाफ मागेरहेको बेला यता नेपालका प्रधानमन्त्री (प्रचण्ड) भने पटकपटक भारतको बचाउ गरिरहेका थिए । हाम्रा प्रधानमन्त्री बोलिरहेका छन् कि भारतका एक प्रतिनिधि ? खुट्याउन मुस्किल थियो ।

कर्नाटकको मैसुरमा भेटिएका ती होटलका कर्मचारी होस् वा ‘रअ’ का पूर्वएजेन्ट लक्की विष्ट वा द हिन्दूका सुहासिनी हैदर अथवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको काखमा हुर्किएका पत्रकार अर्नब गोस्वामी उनीहरू त्यसबेला देखि यसबेलासम्म प्रधानमन्त्री ओलीसँग आक्रोशित छन् । कारण उही हो, प्रधानमन्त्री ओली नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा उभिए । त्यसो गर्दा उनीहरूको स्वार्थमा ठेस लाग्यो ।

हो, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भने जस्तो प्रधानमन्त्री ओलीसँग छिमेकीहरू खुशी छैनन् होला । अर्नब गोस्वामी वा लक्की विष्टहरू आक्रोशित होलान् । तर, एउटा तथ्य के हो भने सबै सबैको हुन सजिलो छ । सबैभन्दा गाह्रो काम, आफ्नै हुन हो । अर्थात् नेपालीको हुन । अहिले प्रधानमन्त्री ओलीले भुक्तान गरिरहेको अप्ठ्यारो अथवा अर्नब गोस्वामी वा लक्की विष्टहरू नजरमा चुकाइरहेको मूल्य केपी ओली उनीहरूको भएनन् । आफ्नै भए । आफ्नै अर्थात् नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा उभिए ।

त्यो बेलादेखि यो बेलासम्म निशानामा छन्, प्रधानमन्त्री ओली । नक्सा जारी भएको छ, संसदबाट ओलीले सोधे, ‘सिंहमेव जयते कि सत्यमेव जयते ?’ तर, उही बेला विश्लेषक, स्तम्भकारहरूले लेखिरहेका थिए, ‘नक्कली राष्ट्रवाद’ । त्यतिमात्रै होइन संविधान जारीपछि भारतले नाकाबन्दी लगायो । ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको डटेर सामनामात्रै गरेनन् पछाडि फर्किन बाध्य पार्‍यो । त्यसलाई पनि ‘नक्कली राष्ट्रवाद’ भनेर भाष्य निर्माण गर्न खोजियो ।

कस्तो प्रधानमन्त्री ?

यति बेला ऊर्जामन्त्री दीपक खड्का कुलमान घिसिङसँग कुस्ती खेल्छन् । कुलमानका मान्छेहरू भावुक हुन्छन् । र भत्सर्ना गर्छन्, ‘प्रधानमन्त्री र एमालेको ।’ ताप्लेजुङमा चन्द्र ढकाल केबलकार निर्माणमा लाग्छन् । केवलकारविरोधी उत्तेजित हुन्छन् । र, भन्छन्, ‘केपी ओली मुर्दावाद, एमाले मुर्दावाद !’ मेयर बालेन शाह आफ्नै कर्मचारीसँग धुन्धुकारी शैलीमा सिँगौरी खेल्छ । काम गर्न सक्दैनन् । बालेनका मान्छेहरू आक्रोशित हुन्छन् । भन्छन्, ‘केपी ओली मुर्दावाद !’ रवि लामिछानेहरू सहकारीका अरबौं रकम हिनामिना गर्छन् । संसदीय समितिले कारबाही गर भन्छ । कारबाही हुन्छ । झन्झनाउँछन् । र, भन्छन् ‘एमालेहरू मुर्दावाद !’ दुर्गा प्रसाईँहरू बैंकको अरबौं ऋण तिर्दैनन् । बैंकले चिठी काटेपछि आक्रोशित भएर भन्छन्, ‘एमालेका नेताहरू मुर्दावाद !’ ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोकेर हिँडेका प्रदीपविक्रम राणाहरूको नारा छ, ‘केपी ओली मुर्दावाद !’

उताका अर्नब गोस्वामीदेखि यताका बालेनहरूसम्म । उताका लक्की विष्टदेखि यताका दुर्गा प्रसाईँहरूसम्म किन भनिरहेका छन्, ‘केपी ओली मुर्दावाद !’ यसको उत्तर खोजौं ।

समाजशास्त्री/अर्थशास्त्रीहरूका अनुसार विश्वका आर्थिक केन्द्रहरू तीव्ररूपले पूर्वतर्फ सरिरहेका छन् । विश्व पूँजीवादी प्रणाली स्थानान्तरण हुँदैछ । यूरोप, अमेरिकाबाट एशियातर्फ सर्दैछ । एसिया यसको मुख्य क्षेत्र बन्दैछ । माथितिरको चीन यसको केन्द्रभागमा । तलतिरको भारत पनि बिस्तारै उठिरहेको छ । त्यसको ठ्याक्कै बीचमा नेपाल छ । विश्वको इतिहासमा अहिलेको समय तेस्रो चरणको एशियाली युग हो । अब यहाँनिर हेर्नुहोस् काठमाडौंमा उभिएर अमेरिकनहरू बेइजिङतर्फ चियाउन चाहन्छन् । पश्चिमाहरू काठमाडौंमा आरामसँग उभिएर चीन र भारततर्फ हेर्न चाहन्छन् । भारतीयहरू चाहन्छन् ‘हाम्रो आदेश मानिरहोस् ।’

नेपालीहरू आफ्नै पौरखमा खुशीले नाचेको हेर्ने उनीहरूको चाहना होइन । नेपालीहरू आफ्नै खुट्टामा उभिएर दौडिएको दृश्य उनीहरूको लागि प्रिय होइन । उनीहरूलाई थाहा छ, ‘एमाले बलियो राष्ट्रिय शक्ति भयो भने नेपाल समृद्धिको दिशामा अघि जान्छ । एमालेका र एमालेका नेतृत्वकर्ता केपी शर्मा ओली शक्तिशाली बनिरहे भने नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता बलियो हुन्छ । स्वाधीनता र स्वाभिमान अक्षुण्ण रहन्छ ।’

नेपाली कांग्रेससँगको सत्ता सहकार्यमा ३१ साउन २०८१ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । सत्ता गुमाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो प्रतिक्रिया थियो, ‘छिमेकीहरू खुशी छैनन्, यो सरकार धेरै टिक्दैन ।’

त्यही कारण अनेकन एजेन्सीहरू प्रयोगमार्फत् एमाले र एमाले अध्यक्षको गलत बिम्ब बनाएर कमजोर बनाउन चाहन्छन् ।

नोम चोम्स्की अमेरिकी भाषाविद्, दार्शनिक, इतिहासकार, सामाजिक चिन्तक । अमेरिकी साम्राज्यवादको आलोचक उनको अर्को परिचय हो । चोम्स्की विश्वका १० चर्चित जीवित विद्वानमध्ये एक मानिन्छन् । १० मध्ये जिउँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन् प्लेटो, अरिस्टोटलबाट सुरू हुने १० को सूचीमा चोम्स्कीमात्रै जीवित छन् । मिडियाको सन्दर्भमा पनि चोम्स्की सबैभन्दा पढिने चिन्तक हुन् ।

नोम चोम्स्की र इडवार्ड एस हरम्यानले सन् १९८८ मा प्रकाशित गरेको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट : द पोलिटिकल इकोनोमी अफ द मास मिडिया’ मा मिडियाले उत्पादन गर्ने विषयवस्तु पनि बजारका अन्य उत्पादनजस्तै नाफाका आधारमा हुने गर्छन् भन्ने निचोड प्रस्तुत गरेको छ ।

उनै चोम्स्कीले इराकमाथि अमेरिकाले आक्रमण गर्नुअघि कर्पोरेट हाउसरएजेन्सीहरूले कसरी माइन्ड फ्रेमिङ गर्छ ? यसमाथि गजब विश्लेषण गरेका थिए । अमेरिकाले इराकी मान्छेहरूको नरसंहार गर्नेछ । दुनियाँले उनीहरूलाई मान्छे होइन, आतंककारी देख्नेछन् किनभने दुनियाँका कर्पोरेट मिडियाहरूले उनीहरूलाई आतंककारीका रूपमा माइन्ड फ्रेमिङ्ग गरिदिएका हुन्छन् । तर, एउटा अमेरिकन (गोरा) माथि कसैले आक्रमण गर्‍यो भने त्यहाँ मानवताको प्रश्न उठ्छ । दुनियाँलाई रुवाइदिन्छन् ।’

उता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो आतंककारी भनेकै अमेरिकाविरोधी, मानव अधिकार भनेकै अमेरिकनहरूको जसरी एजेन्सीहरूले ‘माइन्ड फ्रेमिङ्ग’ गरिदिने गरेका छन् । यता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो खराब भनेकै ‘केपी ओली र एमाले’ भन्ने भाष्य बनाएर ‘माइन्ड फ्रेमिङ्ग’ गर्ने अभियान चलिरहेको छ ।

सही नीति, बलियो नेतृत्व

‘अफ्रिकन नेसनल कांग्रेस पार्टी’ कसको पार्टी हो ? यसको उत्तर सायद कमैले मात्र दिन सक्छन् । ‘नेल्सन मण्डेला को हो ?’ तर, यसको उत्तर सबैले दिन सक्छन् । रंगभेदविरोधी आन्दोलनका नायक नेल्सन मण्डेलाले सन् २००४ मा सार्वजनिक जीवनबाट बिदा लिने घोषणा गरे । दक्षिण अफ्रिकीहरू चाहन्थे, फेरि पनि आफ्ना प्रिय माडिबा देशको राष्ट्रपति बनून् ।

२७ वर्ष जेल जीवन बिताएर सन् १९९४ मा पहिलो राष्ट्रपति बनेका मण्डेलाले ५ वर्षपछि राष्ट्रपति पद छोडे । त्यसपछि त्यहाँ एउटा बहस भयो, ‘पार्टीले नेता बनाउँछ कि नेताले पार्टी ?’ उनीहरू सबै सहमत थिए, ‘कि मण्डेलाले ‘अफ्रिकन नेसनल कांग्रेस’लाई बनाएका हुन् ।’ तर, त्यहाँ अफ्रिकन नेसनल कांग्रेसको कारण मण्डेलाले भएको राजीतिक उचाई लिएका हुन् भन्ने शिराबाट कहिल्यै बहस भएन ।

विश्वविद्यालयको परीक्षामा कवि भूपी शेरचनको ‘हो चि मिन्हलाई चिठी’ शीर्षकको कवितालाई स-प्रसंग व्याख्या गरिरहेको हामीलाई भियतनाम वा भियतनाम कम्युनिष्ट पार्टीको बारेमा कतिलाई थाहा छ ? सायद कमैलाई, तर कमरेड हो चि मिन्हको बारेमा धेरैले थाहा पाएका छन् । लेनिनवादको नारा लगाउनेहरूलाई रूसको बोल्सेभिक पार्टीको बारेमा कति थाहा छ ? सायद कमैलाई होला ? तर, लेनिनलाई नपढेका कमै छन् । क्युबाको कम्युनिष्ट पार्टीको बारेमा थाहा नहुनेहरूले पनि क्युबाली कम्युनिष्ट फिडेल क्यास्त्रोका बारेमा थाहा पाएका छन् । पेरूको साइनिङ पथ मेटिसक्दा पनि गोन्जालोका बारेमा आज पनि मान्छेहरूले पढि नै रहेका छन् । माओको गाथापछि मात्रै चिनियाँ क्रान्तिको कथा पढिन्छन् ।

नेल्सन मण्डेला, माओ वा फिडेलको पुरानो कथामात्रै होइन आज पनि उही प्रसङ्ग हो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा नाम धेरैले कण्ठ गरेको छन्, तर उनको पार्टीको बारेमा कमैले पढेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम धेरैलाई थाहा छ । तर, उनको पार्टीको नाम भारतीय जनता पार्टी कमले थाहा पाउँछन् ।

हो, पार्टी बलियो बन्न नीति ठिकठाक हुनुपर्छ । सही हुनुपर्छ । तर, नीतिसँगै नेतृत्व र नेता बलियो भएन भने गन्तव्यमा पुग्नै सकिँदैन । आजको सन्दर्भमा नेकपा (एमाले) को नीतिमा कुनै समस्या छैन, रहेन । न बहस छ, न प्रहार नै । अहिले प्रहार भइरहेको हो, नेतृत्वमाथि । नेतृत्व अर्थात् केपी ओली । मूल नेतृत्वको गलत बिम्ब एकहिसाबले दानवीकरणसम्म । पार्टी होस् वा देश ।

उता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो आतंककारी भनेकै अमेरिकाविरोधी, मानव अधिकार भनेकै अमेरिकनहरूको जसरी एजेन्सीहरूले ‘माइन्ड फ्रेमिङ्ग’ गरिदिने गरेका छन् । यता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो खराब भनेकै ‘केपी ओली र एमाले’ भन्ने भाष्य बनाएर ‘माइन्ड फ्रेमिङ्ग’ गर्ने अभियान चलिरहेको छ ।

बलियो नेतृत्व भएन भने अरुहरू कमजोर हुन्छ । निर्वाचनपछि भारतीय सञ्चारमाध्यमहरूले लेखे, ‘यो जित भारतीय जनता पार्टीको होइन, नरेन्द्र मोदीको हो ।’ भारतको निर्वाचनमा पार्टीको कम नेताको बढी प्रभाव देखियो । अमेरिका, युरोपहरूमा पनि कुरो उही हो । निर्वाचनमा पार्टीको भन्दा बढी नेताको प्रभाव देखिन्छ । यो वा त्यो कोणबाट अब्बल नेता निर्माणमा लागेका हुन्छन्, तर यहाँ कुनै नेताले समाजमा केही असल अभियान सुरू गर्‍यो भने उनलाई सिध्याउने काउन्टर अभियान सुरू भइहाल्छ । अन्य देशमा नेताको सधैँ उत्कृष्टता खोजी र आशाको प्रचार हुन्छ, तर यहाँ हामीकहाँ नेताहरूको उत्कृष्टता होइन निकृष्टताको खोजी र निराशाको प्रचार हुन्छ ।

एमालेले मदन भण्डारी र कांग्रेसले बीपीलाई सबैभन्दा ठूला घरेलु नेता मान्छन् । नेताहरूले भाषण गर्दा होस् या आलेख तयार पार्दा यी दुवै नेताको विचार उद्धृत गर्दै लेख्छन् । नेपाली समाज अहिलेमात्रै होइन उति बेला पनि नकारात्मकताको नै खोजी नै थियो । एउटा प्रश्न काल्पनिक उठ्न सक्छ, ‘उति बेला मदन र बीपीको दानवीकरणमा किन भएन ?’ उत्तर सहज छ, ‘किनभने यी दुवै नेता लामो समय खुल्ला राजनीतिमा रहन पाएनन् ।’

मदन भण्डारी खुला राजनीतिमा आएको केही समयमा मारिए । बीपी जेल र प्रवासमा समय बिताउनु बाध्य थिए । बीपी र मदन लामो समय खुला राजनीति भएको भए यस्तो हुन्थ्यो भन्नु वस्तुवादी त हुँदैन, तर एउटा सहज अनुमान गर्न सकिन्छ, यी नेताहरू पनि निकृष्टताको खोजी र निराशाको प्रचारको शिकार अवश्य बन्ने थिए । सही नीतिसँगै यसको लागि पार्टी निर्माणसँगै उत्कृष्ट नेता निर्माण पनि गर्ने हो ।

आज दुनियाँको राजनीतिको पानीढलो भनौं वा ‘फेनोमेना’ देशको माटोसँग जोडिएर बलशाली भएको छ । अर्थात् देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाधीनता । तलतिरको छिमेकी भारतमा नरेन्द्र मोदीलाई हेरौं वा मास्तिर चीन चिहाएर सी जिनपिङलाई बुझौं अथवा अलि पर अमेरिकामा डोनाल्ड ट्रम्पको उदयलाई हेरौं । अथवा रुसतिर पुटिनलाई । उनीहरूको उदय ‘राष्ट्रवाद’ अर्थात् देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वाधीनताको प्रश्नसँग जोडिएको छ । आज हामीलाई समय र इतिहासले सोधेको प्रश्न हो, ‘अरुतिर माटोको पक्षमा उभिने नेताहरू शक्तिशाली भइरहने तर हामीकहाँ चैँ दण्डित हुने ?’ अब यसको उत्तर दिन हामी तयार हुनुपर्छ ।

(लेखक राई प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् । )


प्रतिक्रिया

6 thoughts on “कसको प्रधानमन्त्री, कस्तो प्रधानमन्त्री ?

  1. नेता भनेकै ओलि मात्र हुन् अहिले देशमा । विदेशीका दलाल, भाडाका टट्टुले मात्र हो ओलिको विरोध गर्ने ।

    1. ओली सत्तासिन भए देखि पार्टीको नाम परिबर्तन भैसक्यो “नेकपा एमाले” बाट “नेपाल कमाऊ निस्ट पाटी” ऎ मलाई ले पहिले मेरो भाग बाँकि जे गरे गर भएको छ
      भ्रस्ट चार बढेको छ ,बलात्कारी लाई काखी च्यापेर हिड्छन् ,सहकारी ठग लाई उन्मुक्ति दिन्छन तिम्रा बा ले अनि जति बखान गरे पनि रास्ट्रियता देखि सकियो तिम्रा बाको
      अब लेख लेखे बापत तक्मा पक्का लेखक लाई

  2. नेकपा एमालेले मदन भण्डारीको जबजलाई कति पालना गरेको छ ? यो कम्युनिष्ट पार्टी हो कि कम्युनिष्ट नाम गरेको अर्कै?

    1. एमालेले जबजलाई मात्र पालना गरेको छ । दोषी चस्माले मात्र देख्दैन । चश्मा कसैले दोषी बनाईदिएको छ । ध्यान आफ्नो चश्मा कसले दोषी बनाईदिएछ भन्नेतिर जाओस् । स्वाभिमानी भएर बाँच्न सिकौैं । अरूको दास भएर होईन । जीवन त पशुले पनि बाँचिरहेकै हुन्छ ।

  3. ओली सत्तासिन भए देखि पार्टीको नाम परिबर्तन भैसक्यो “नेकपा एमाले” बाट “नेपाल कमाऊ निस्ट पाटी” ऎ मलाई ले पहिले मेरो भाग बाँकि जे गरे गर भएको छ
    भ्रस्ट चार बढेको छ ,बलात्कारी लाई काखी च्यापेर हिड्छन् ,सहकारी ठग लाई उन्मुक्ति दिन्छन तिम्रा बा ले अनि जति बखान गरे पनि रास्ट्रियता देखि सकियो तिम्रा बाको
    अब लेख लेखे बापत तक्मा पक्का लेखक लाई

  4. यो लेख समग्रमा असाध्यै राष्ट्रवादी यथार्थपरक राष्ट्रवादी नेपालीको पक्षमा लेखिएको लेख र पात्रको म जस्तो सामान्य मान्छेले के वर्णन गरौ जय होस् यथार्थपरक लेख लेख्ने को पनि ( म २०८० कार्तिक मा भारतको जयनगर देखि दक्षिण भारत डिल्ली हुदै ३७ जनाको समुह घुम्न गएका थियो जयनगरबो कस्मेटिक पसल देखि जगन्नाथ पुरीको होटलवाला वा …. केपी ओलीको को विरोधी पुस्करका पुजारी राजावादी भेटे उदाहरण पेश गर्दछु )।भारतीय हरू ढोगीहरू हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *