उच्च अदालतले रवि र छविको मुद्दा एकै दिन हेर्ने, लगाउको आदेशमा बिहीबार बोलाइयो सबै प्रतिवादीलाई – Nepal Press

उच्च अदालतले रवि र छविको मुद्दा एकै दिन हेर्ने, लगाउको आदेशमा बिहीबार बोलाइयो सबै प्रतिवादीलाई

रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशी बन्जाडेको मुद्दा एकैपटक हेर्ने भएको छ । आज उच्च अदालतको एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टको संयुक्त इजलासले लामिछाने र जोशीको मुद्दासँगै राख्न आदेश दिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा एकसाथ हेर्नेगरी लगाउको आदेश दिएको हो ।

यो आदेशसँगै यो सँगै जोडिएका सबैको मुद्दा एकैपटक हेरिने भएको अदालतका सूचना अधिकारी रामबहादर कुँवरले नेपाल प्रेसलाई बताए ।

‘आजको आदेशअनुसार थुनामा नराखी मुद्दा लड्नुपर्ने छविको माग, रविलाई धरौटीमा नछाडी थुनामा राख्नुपर्ने उच्च सरकारी वकिलको माग, र रविको धरौटीविना साधारण तारिखमा बस्न पाउने निवेदनसहित तीनवटा मुद्दा जोडिएर एउटै पेसीमा जानेछ, सँगै यो सँग जोडिएका सबैको मुद्दा एकैपटक हेरिने भएको छ’, उनले भने ।

उनका अनुसार आगामी बिहीबार यो मुद्दासँग जोडिएका सबैको मुद्दा एकै पटक हेरिने भएको हो ।

अहिले उनीहरु दुवैको मुद्दा जिल्लासँगै उच्चमा रहेको छ । रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको एक करोड रुपैयाँ धरौटी खारेजी र साधारण तारिखमा छाड्नपर्ने माग गर्दै लामिछाने गत सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका थिए ।

सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीसहित तारिखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पनि निवेदन दिएको थियो ।

तर उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामा राख्नुपर्ने माग गर्दै निवेदन दिएको छ। आजको इजलासले जोशी र सरकारी वकिल दुवैतर्फको उपस्थितिमा यस्तो आदेश दिएको हो ।

रविले रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पहिलो पटक सोमबार तारिख बुझेका छन् । उनलाई अर्को तारिख आगामी वैशाख २३ गतेलाई दिइएको छ भने पूर्व डीआईजी छविलाल जोशी भने रुपन्देही अदालतमा थुनामा छन् ।

यसअघि सरकारी वकिलले लामिछानेको मुद्दा जोशीसँगै राखेर सुनवाइ गर्न माग गरेपछि इजलासले लामिछानेको कैफियत प्रतिवेदन माग गरेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसै मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्व डीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचकले उच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतका न्यायाधीश तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।

उच्च सरकारी वकिल बुटवलका सूचना अधिकारी एवं सहायक न्यायाधीवक्ता वसन्तराज पोख्रेलले रवि र छविको मुद्दा स्वतः जोडिएर एकीकृत भएको बताए ।

सुप्रिम सहकारीका एक हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रवि र छविसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

बचतकर्ताहरू नारायणबहादुर पहराईको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल रुपन्देहीले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सहकारी अध्यक्ष ओम प्रकाश गुरुङ सुरुदेखि नै थुनामा छन् भने रवि र छविसहित पूरक अनुसन्धान गर्ने आदेशका आधारमा पछि मुद्दा चलाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *