पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी


रुपन्देही । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस, पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको भन्दै तालाबन्दी गरेका ती संगठनको भनाइ छ । तालाबन्दीपछि त्यहाँको निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लंघन भएको जस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा गमा गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्नसमेत माग गरेका छन् ।
तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने अनेरास्ववियुका जिल्ला उपाध्यक्ष निरज आचार्यले बताए ।