कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता – Nepal Press

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैर सरकारी विधेयक दर्ता भएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बेनेको विधेयक २०८१ प्रदेश सभामा दर्ता गराएका छन् ।

भाषा आयोग (संवैधानिक आयोग) ले सरकारी कामकाजी भाषाको रूपमा ३ वर्ष अगाडि नै सिफारिस गरेपनी कोशी प्रदेश सरकारले विधेयकको रूपमा प्रदेश सभामा प्रस्तुत नगरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले गैरसरकारी विधेयकको रूपमा प्रदेश सभामा दर्ता गरेको माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आंवोले गैर सरकारी विधेयकको रूपमा सो विधेयक प्रदेश सभामा दर्ता गराएको बताए । विधेयकमा लिम्बू भाषा र मैथिली भाषा प्रदेशको कामकाजी भाषा र प्रदेशमा बोलिने अन्य ११ ओटा भाषालाई सम्बन्धित क्षेत्रको कामकाजी भाषाको रूपमा व्यवस्था गर्ने उल्लेख छ ।

संसदीय दलका नेता आंवोले भने, ‘हामीले गैर सरकारी विधेयक दर्ता गराएका छौ । आशा छ प्रदेश सभाको बैठकमा लोकतान्त्रिक र रचनात्मक बहस पछि यसले कानुनी रूप लिनेछ । माओवादी केन्द्रका प्रदेश सभा सदस्य गोम्बु शेर्पा र एकीकृत समाजवादीका प्रदेश सभा सदस्य खिनु लङवाले विधेयक प्रस्तुत गरेका हुन् । उनीहरूले प्रस्तुत गरेको विधेयक प्रदेश सभामा आज दर्ता भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर