नेपाली बजारमा सार्वजनिक भए एकपछि अर्काे विद्युतीय गाडी– कसकाे के छ विशेषता ? (मूल्यसहित) – Nepal Press

नेपाली बजारमा सार्वजनिक भए एकपछि अर्काे विद्युतीय गाडी– कसकाे के छ विशेषता ? (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी भित्र्याउन तीव्र प्रतिस्पर्धा चलिरहेको छ । एकपछि अर्को नयाँ विद्युतीय गाडी नेपाली बजारमा सार्वजनिक भइरहेका छन् ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने पनि विद्युतीय गाडीको आयात उच्च देखिन्छ । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन आयात भएको छ । चालू आवको सात महिनामा १४ अर्ब ७५ करोड रुपैयाँको ६ हजार २५६ वटा विद्युतीय गाडी आयात भएको छ ।

यस अवधिमा विद्युतीय कार, जीप र भ्यान आयात भएको भन्सार विभागको तथ्यांक छ । यसरी विभिन्न देशबाट नेपाली बजारमा धमाधम विद्युतीय गाडीहरू सार्वजनिक भइरहेका छन् ।

०००

केही साताअघि सिप्रदी ट्रेडिङ्ग प्रालिले एकै पटक तीन वटा विद्युतीय गाडी सार्वजनिक गर्‍यो । टाटाको कर्भ ईभीसहित तीन गाडी नेपाली बजारमा भित्र्याइएको हो ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठका अनुसार सिप्रदीले कर्भ ईभी नेपाली बजारमा ल्याएको हो । यसअघि सिप्रदीले नेक्सन ईभी, टियागो ईभी र पञ्च ईभी नेपाली बजारमा भित्र्याइसकेको छ ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता हो– सिप्रदी ट्रेडिङ । जसले पछिल्लो समय तीन वटा विद्युतीय गाडी नेपाली बजारमा भित्र्याएको छ । टाटाको एसयूभी कर्भ ईभी,  नेक्सन के थ्री र टियोगा ईभी सार्वजनिक गरिएको हो ।

४.३ मिटर लम्बाइ भएको कर्भ ईभीमा १९३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । आकर्षक डिजाइन रहेको यस कर्भ ईभी दुई वटा रङमा नेपाली बजारमा भित्रिएका छन् । टाटा कर्भ ईभी सेतो र खैरो रङमा उपलब्ध छन् ।

यस ईभीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री छन् । यसमा ७.२ किलोवाटको एसी फास्ट चार्जर पनि उपलब्ध छ । सीट क्षमता ५ जनाको रहेको छ । कर्भ ईभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सोही दिन सिप्रदी ट्रेडिङले नेक्सन के थ्री पनि नेपाली बजारमा सार्वजनिक गर्‍यो । जुन टाटा नेक्सनको नयाँ भर्जन हो । ४५ किलोवाट आवर ब्याट्री क्षमता रहेको यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले टाटा टियागाे ईभी पनि नेपाली बजारमा ल्याएको छ । यसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

०००

नेपालको लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले पनि नेपाली बजारमा नयाँ ईभी गाडी भित्र्याएको छ । पारामाउन्ट मोटर्सले गएको साता एमजी एस–५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

एमजी मोटर्स नेपालका प्रतिनिधि जनरल म्यानेजर सुनिलबहादुर क्षेत्रीका अनुसार एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रतिघण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमता रहेको छ ।

‘विभिन्न विशेषताहरूले एमजी एस ५ ईभीलाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयूभी बनाएको छ । एमजी एस ५ ईभी नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता गरेको छ । उपभोक्ताको माग र दिगोपनलाई पूरा गर्नेछ’, क्षेत्रीको दाबी छ ।

कम्पनीका अनुसार ४९.१ किलोवाट कम्फर्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसका साथै ४९.१ किलोवाट लक्जरिको मूल्य ४९ लाख ९९ हजार र ६२.२ किलोवाट लक्जरिको मूल्य ५४ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।

०००

एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी कार पनि नेपाली बजारमा भित्रिएको छ । एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी नेपालमा ल्याएको हो ।

यससँगै एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो । ड्राइभ एलएचडी दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत ल्याइने भएको छ ।

एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रिसकेको छ । नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो ।

स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ । एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।

प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ । यसको ब्याट्री प्याक र ग्राउन्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।

यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

०००

सांग्रिला मोटर्सले पनि नेपाली बजारमा नयाँ गाडी भित्र्याएको छ । सांग्रिला मोटर्सले लिपमोटर टीओथ्री नेपाली बजारमा सार्वजनिक गरेको हो ।

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाका अनुसार यस गाडीमा ३७.३ किलोवाटको ब्याट्री रहेको छ । ७० किलोवाट मोटर पावर भएको गाडीले १५८ टर्क जेनेरेट गर्छ भने अधिकतम ३९५ किमिसम्म रेन्ज दिन्छ ।

यस गाडीको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ ।  ४५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्ने यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *