प्रधानमन्त्री र मुख्यमन्त्रीकै क्षेत्रको क्याम्पसको स्ववियु नेविसंघलाई जिम्मा, एमालेमा असन्तुष्टि


झापा । झापाको निर्वाचन क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा रहेका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । यहाँ रहेका २ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुले प्रतिपक्षी माओवादी निकट विद्यार्थी संगठनसँग चुनावी गठबन्धन गरेको छ ।
गौरादह बहुमुखी, गौरादह कृषि, गौरीगञ्ज बहुमुखी र दमक बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ । गौरादह र गौरीगञ्ज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रसमेत हो । दमक क्याम्पस र गौरादह कृषि क्याम्पसमा एमाले निकट अनेरास्ववियु एकल चुनावी मैदानमा छ ।
तर गौरीगञ्ज बहुमुखी क्याम्पसमा भने एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले काङ्ग्रेस निकट विद्यार्थी संगठनलाई अध्यक्ष पद दिएको भन्दै विवाद बढेको छ । सो क्याम्पसमा अघिल्लो पटक एमाले निकट विद्यार्थी संगठनका इस्तुफ खानले स्ववियु अध्यक्ष जितेका थिए ।
यस्तै गौरादह बहुमुखी क्याम्पसमा समेत अध्यक्ष एमाले निकट संगठनले लिएर राप्रपा निकटलाई सचिव र माओवादी निकटलाई कोषाध्यक्ष दिने सहमति कार्कीले नै गरेको आरोप छ । यसअघिको स्ववियु निर्वाचनमा मुख्यमन्त्री कार्कीकै स्वकीय सचिव कमल पौडेल नेतृत्वमा अनेरास्ववियुले एकल जित हासिल गरेको थियो ।
पार्टीका स्थानीय नेतालाई थाहै नदिई सहमति गरेकोमा जिल्ला नेतृत्वसमेत रुष्ट बनेको छ । ‘दुवै क्याम्पसमा एकल रूपमा जित्ने अवस्थामा समेत कांग्रेस, राप्रपा र माओवादीलाई समेत लिएर जाने के बाध्यता आइलाग्यो, हामीले बुझ्न सकेनौं’, एमालेका जिल्लास्तरीय एक नेताले भने, ‘दुवै क्याम्पसमा हाम्रो पोजिसन क्लियर थियो । मुख्यमन्त्री कार्कीका दाइसमेत रहेका दीपक झापा क्षेत्र नम्बर ५ का इञ्चार्जसमेत हुन् ।’
गौरीगञ्ज बहुमुखी क्याम्पसमा काङ्ग्रेस, एमाले र माओवादीले सहमति गरे पनि सबै पार्टी सम्बन्ध विद्यार्थी संगठनले विद्रोही उम्मेदवारी हालेका छन् । अनेरास्ववियु निकट विद्यार्थीले त्यहाँ बागी हालेका छन् ।