आपत्तिजनक मानिएका दृष्य र संवाद हटाएर ‘राजागञ्ज’ सेन्सर पास – Nepal Press

आपत्तिजनक मानिएका दृष्य र संवाद हटाएर ‘राजागञ्ज’ सेन्सर पास

काठमाडौं । सेन्सर बोर्डले दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ काँटछाँटसहित सेन्सर पास भएको छ । साम्प्रदायिकता झल्किने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिएका दृष्य र संवादहरु हटाएर चलचित्रलाई प्रदर्शन अनुमति दिइएको हो ।

चलचित्रका निर्देशक रौनियारले चलचित्र अब निर्धारित मितिमै प्रदर्शन हुने निश्चित भएको बताए । तर, थुप्रै दृष्य तथा संवादहरुमा कैंची चलाइएको उनले गुनासो गरे ।

‘प्रधानमन्त्रीको नाम लिइएका सबै संवादहरु हटाइयो’, उनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको हनन हो ।’

यो चलचित्रले मधेसको राजनीतिक मुद्दालाई बोकेको छ । मधेस आन्दोलनका दृष्यहरु समेत चलचित्रमा समेटिएका छन् । मधेसी-पहाडी जनताबीच दुर्भावना फैलाउन सक्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत लान्छित गरिएका दृष्य-संवादहरु सेन्सर बोर्डले काँटछाँट गर्न लगाएको हो ।

चलचित्रको ट्रेलरमै एउटा विवादित संवाद थियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो अभिव्यक्तिलाई तोडमोड गरिएको छ ।

इन्स्पेक्टरको भूमिकामा रहेकी निकिता चण्डक भन्छिन्, ‘भर्खरैको एउटा भाषणमा प्रधानमन्त्रीजीले मधेसीलाई आँप भनेर सम्बोधन गरेका थिए । अपहरणकारीले यसलाई पर्सनल्ली लिएको जस्तो छ ।’

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा संविधानसभा बहिष्कार गरेर निस्किएका केही मधेसी दललाई कटाक्ष गर्दै ‘झरेको आँप’ को टुक्का प्रयोग गरेका थिए । तर, चलचित्रमा मधेसी जनतालाई नै आँप भनेको सन्देश दिइएपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो ।

प्रधानमन्त्रीको भाषण चलचित्रमा प्रयोग गर्न उनीसँग अनुमति लिनुपर्ने बोर्डले निर्देशन दिएको थियो । तर, निर्माण पक्षले अनुमति लिन नसकिने बताएका थिए ।

चलचित्रका काटिएका दृष्य र संवादहरुलाई रिप्लेस नगरी खाली नै छोड्ने निर्माण पक्षको भनाइ छ । स्मरणीय रहोस् यो चलचित्रलाई सेन्सर पासबिनै यस वर्षको भेनिस फिल्म फेस्टिबलमा लगेर वर्ल्ड प्रिमियर गरिएको थियो । निर्देशक रौनियारले बाहिर महोत्सवमा प्रदर्शन गर्न सेन्सर पास हुनु नपर्ने बताए ।

यो पनि हेर्नुस्:

‘राजागञ्ज’ को ट्रेलरमा प्रधानमन्त्रीलाई लान्छित गर्ने संवाद, कार्यकारी निर्मातामा अनुराग कश्यप

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *