स्ववियू चुनावमा नेकपा एसमा बाँडिए उम्मेदवारका गुट- कतै एमालेसँग तालमेल, जिताउन एकजुट


काठमाडौं । संगठनभित्रको विवाद चर्को छ, तर नेकपा एससम्बद्ध अनेरास्ववियूका दुवै खेमा चैत ५ गते सम्पन्न हुने स्ववियू निर्वाचनमा झगडा नगरी अगाडि बढेका छन् ।
पार्टीले केन्द्रीय सदस्य रहेकी आरती लामालाई अनेरास्ववियू अध्यक्षको जिम्मेवारीलाई ‘दोहोरो’ भन्दै अध्यक्षबाट हटाएको थियो । त्यसपछि उत्पन्न विवाद समाधान नभई स्ववियू निर्वाचन आयो । निर्वाचनका क्रममा लामा र महेश श्रेष्ठ पक्षले फरक-फरक क्याम्पसमा आफ्ना उम्मेदवार बनाएका छन् । तर, कुनै पनि क्याम्पसमा दोहोरो उम्मेदवारी पारेनन् ।
श्रेष्ठ पक्षले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा मात्रै उम्मेदवारी दिएको छ । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा एमाले अखिलसँग मिलेर लामा पक्षले उम्मेदवारी दियो ।
त्यहाँको क्याम्पस कमिटी अध्यक्ष समीर गौतम लामा पक्षका हुन् । उनकै अग्रसरतामा एमाले अखिलका सिद्धान्त भट्ट सभापतिको उम्मेदवार रहेको प्यानलमा एसपक्षीय अखिल एक समानुपातिक सदस्यसहित चुनावमा होमिएको हो । समानुपातिकको पहिलो नम्बरमा शेरबहादुर कार्कीलाई उम्मेदवार बनाइएको उक्त पक्षका नेता नरेश न्यौपानेले बताए । कार्की यसअघि पनि सोही क्लस्टरबाट उम्मेदवार भई विजयी भएका थिए ।
श्रेष्ठ पक्षले प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमाले अखिलसँग मिलेर उम्मेदवारी दिएको छ । त्यहाँ सभापतिका उम्मेदवार लोकेश खड्का प्यानलमा एसको अखिलबाट बबिता घिमिरेले कोषाध्यक्षका लागि उम्मेदवार भइन् ।
मीनभवनस्थित नेपाल कमर्श क्यम्पसमा भने एमाले अखिलबाहेकको वाम गठबन्धन हुँदा समाजवादीको लामा पक्षले सचिव पदमा उम्मेदवारी दिएको छ । त्यहाँ सभापतिका उम्मेदवार माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका काशिराम जैसी (घोडासैनी) छन् ।
नेविसंघले रविन ओली र एमालेसम्बद्ध अखिलले विशाल रोकाहाका अलग अलग प्यानल खडा भएका छन् ।
लामा पक्षले पाटन संयुक्त क्याम्पसमा मोहन बुढाको नेतृत्वमा अलग्गै प्यानल खडा गरेको छ । ललितपुरको लुभुस्थित महालक्ष्मी क्याम्पस र बालकुमारीस्थित क्याथफर्ड इन्जिनियरिङ कलेजमा उम्मेदवारी दिँदा श्रेष्ठ पक्षले अर्को उम्मेदवारी दिएन ।
त्रिचन्द्रमा एसको लामा पक्ष एमाले अखिलको प्यानलमा सहभागिता जनाएको छ । सभापतिका उम्मेदवार प्रनित विष्टको प्यानलमा उक्त संगठनले कोषाध्यक्षमा सुवास बिडारीलाई उम्मेदवार बनायो । त्यहाँ सचिवका उम्मेदवार अखिल क्रान्तिकारीका छन् ।
यी उम्मेदवारी आपसी सहमतिमा नभएर आ-आफ्नो योजनाअनुसार दिइएको नेता न्यौपानेले बताए । ‘हाम्रो ठाउँमा उहाँहरु डिस्टर्व गर्न आउनुभएन, उहाँहरुको ठाउँमा हामीले पनि केही गरेनौं’, उनले भने, ‘तर, चुनावपछि पार्टीभित्र निर्णायक संघर्ष हुन्छ ।’
श्रेष्ठपक्षीय नेता अशोक थापाले सबै क्याम्पसमा संगठनका उम्मेदवार भएका कारण यो र त्यो खेमाको नभन्न अनुरोध गरे । ‘आन्तरिक विषयमा को कता भन्ने कुरा चुनाव अघि र पछि हुन्छ, चुनावमा हामी एक भएर गएका छौं’, उनले भने ।