महेन्द्र मोरङमा शेखरनिकटका विद्यार्थीद्वारा आगजनी र तालाबन्दी


विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । शेखर कोइराला पक्षका नेविसंघका नेता-कार्यकर्ताले ताला लगाएका हुन् ।
नेविसंघले आधिकारिक संगठनको मान्यता प्रज्ज्वल विष्टको समूहलाई दिएपछि अर्को समूह आक्रोशित बनेको हो । विष्टको समूहलाई देउवा पक्षले आधिकारिक मान्यता दिएको छ ।
नेविसंघको इतर समूह सरोज पोखरेल पक्षका योगराज दाहालको नेतृत्वमा गुड्डु साहसहितको प्यानल दर्ता गरेको थियो । सो प्यानललाई स्वतन्त्र भनेर दर्ता गरिएको भन्दै ताला लगाइएको हो ।
उनीहरूले निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै आगजनी र तोडफोड गर्नुको साथै निर्वाचन अधिकृत सुशील अधिकारीलाई थुनेका थिए । आगोबाट केही कागजपत्र जलेको छ । प्रहरीले केहीबेरमा ताला खोलेको थियो ।
नेविसंघका मोरङ सभापति सरोज पोखरेलले केन्द्रले परिपत्र गरे पनि समितिले मध्यरातमा स्वतन्त्र उल्लेख गरी नामावली प्रकाशन गरिदिएको बताए ।
‘हाम्रो आधिकारिकतालाई चुनौती दिएकाले तालाबन्दी गरेका हौँ,’ उनले भने ।
मोरङ क्याम्पसमा यसअघि इकाइ गठनको विषयमा विवाद भएपछि नेविसंघका दुई खेमाले एकआपसमा कुटाकुट गरेका थिए ।