सरकारी जग्गा कब्जा गरेको सुमनाको आरोपपछि कांग्रेस सांसदहरूको नियमापत्ति (भिडिओ)


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ तारकेश्वर वडा नम्बर ९ मा रहेको सरकारी जग्गा नेपाली कांग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आएको आरोप लगाएपछि नेपाली कांग्रेसका सांसदले आपत्ति जनाएका छन् ।
सांसद श्रेष्ठले प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा उक्त विषय राखे लगत्तै काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित राजेन्द्रकुमार केसीले आपत्ति जनाएका हुन् ।
केसीसँगै कांग्रेसका अरु सांसदले पनि उठेर टेबल बजाउँदै आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले संसदमा सांसदले राखेको विषय प्रमाणीत हुनेगरी र जिम्मेवारीपूर्ण ढंगबाट राखिएको संसदले विश्वास गर्ने भन्दै बादबिवाद नगर्न आग्रह गरे ।
उनले भने,‘माननीय सदस्य ज्यूले आफ्नो समयमा आफूले राखेका कुरा, प्रमाणित हुनेगरी, जिम्मेवारीपूर्ण ढंगबाट राष्ट्रको सामु सार्वजनिक ढंगबाट राखिरहनुभएको हामीले बुझेका हुन्छौं र बुझ्नुपर्छ । त्यसरी राखिरहेको विषय र कुरा लान्छना हो, झुठो हो, यसरी नचाहिदाँ झुठा कुरा यहाँ राखेर भ्रम सिर्जन गर्न पाइदैन भन्ने कुरा माननीयज्यूले तलबाट मैले समय नदिदाँसम्म पनि तलबाट राख्नुभएको कुरा मैले यहाँ सुनिरहेको छु । त्यसैले यहाँ वादविवाद गर्ने होइन, यो कुराको लागि प्रक्रिया संगत ढंगबाट कसरी लाने भन्ने कुरा गर्नुपर्छ । त्यसै कारणले गर्दाखेरि सबै बोल्ने माननीय सदस्यले आफूले उत्तरदायी, जिम्मेवार र प्रमाणित हुनेगरी बोल्नुपर्छ र बोल्नुहुन्छ भन्ने हाम्रो बुझाई छ ।’
त्यसपछि कांग्रेसका सचेतक सुशिला थिंकले रास्वपा सांसद श्रेष्ठको भनाई संसदको रेकर्डबाट हटाउन माग गरिन् । सभामुख घिमिरेले फेरि पनि सांसदले राखेको विषय तथ्य र प्रमाण एवम सत्यतामा टेकेर राखिएको संसदले बुझ्ने भन्दै सांसदले बोलको विषय तत्काल रेकर्डबाटै हटाउन नसकिने तर, यसलाई अध्ययन अनुसन्धान गरेर मात्रै हटाउन सकिने बताए ।
उनले भने, ‘मैले अघि नै कुरा राखिसके । माननीय सदस्यले राखेका विषय र कुरा सार्वजनिक ढंगबाट संसदको अगाडि आफ्नो समयमा राखिसकेपछि उहाँहरुले तथ्य प्रमाण र सत्यतामा टेकेर आफ्नो कुरा राख्नपर्छ र राख्नुभएको छ भन्ने संसदको बुझाई हो । जहाँसम्म अहिले शून्य समयमा माननीय सदस्यले राखेको नेपाली कांग्रेसका नेताले जमिन प्रयोग गरी भन्नुभएको छ । राख्ने माननीयसँग तथ्य तथा सत्य घटना होला भन्ने एउटा कुरा हो । यो त बेठिक कुरा हो, बिना प्रमाण यस्तो कुरा बोल्न पाइदैन भनेर समय नपाउदाँ पनि माइक नपाउँदा पनि माननीय ज्यूले तलबाट प्रतिबाद गरिरहनुभएको छ । यसको बारेमा कसरी बोल्ने, बोल्ने माननीय ज्यूको रेकर्डबाट हटाउने नहटाउने के गर्ने भन्ने कुरा अहिलेको अहिल्यै निर्णय हुदैँन । जे पनि लान्छ्वना लगाउने हटाउने हो भने त्यो लान्छ्वना सकिन्छ र ? मेरो बिचारमा त्यो सकिदैन । त्यसैले लान्छ्वना हो कि होइन भन्ने विषय एकै छिन बोलेर, यहाँबाट जवाफ दिएर वा त्यहाँबाट पक्ष विपक्ष भएर टुंगिने विषय हो र ? त्यसरी पनि टुंगिदैन ।’
सभामुख घिमिरेले सांसदलाई कुनै पनि विषय र कुरा राख्दा जिम्मेवारीपूर्वक राख्न अनुरोध गरे । उनले भने, ‘त्यसैले गर्दाखेरि अहिले म यहाँहरुलाई के भन्दछु भने यहाँहरुले उठाउनुभएको विषयमा तपाइहरुले समय नपाउदाँ र माइक नपाउदाँ पनि यसरी एउटा राजनीतिक पार्टी भनेर बदनाम गर्नु भएन । व्यक्ति हो भने को व्यक्ति हो किटान हुनुपर्यो । यस्तो लान्छ्वना लाउनु भएन भनेर तपाइहरुले भन्नुभएको बिषय र कुरा सुन्नमा आएको छ । त्यसैले यस्ता विषय उठाउदाँ पनि जिम्मेवारी पूर्वक राखेर अगाडि बढौं ।’ त्यसपछि काँग्रेसका सांसद टेबल बजाउदैँ बसेपछि प्रतिनिधि सभाको शून्य समय अघि बढेको छ ।
के भनेकी थिइन् रास्वपाकी सांसद सुमना श्रेष्ठले ?
‘सम्माननीय सभामुख ज्यू, काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली काँग्रेसका नेताले कब्जामा लिएर भोगचलन गर्दै आइरहेको र स्थानीयबासीको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ । यसमा ध्यानाकर्षण गराए ।’