युवतीले नमस्कार गर्दा ‘इग्नोर’ गरेको भन्दै बालेनको आलोचना, तर वास्तविकता यस्तो


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अस्ति राति चलचित्र ‘लाज शरणम्’ हेर्न सुटुक्क सिनेमा हलमा पुगे । सञ्चारकर्मीहरूले सुइँको नपाए पनि त्यहाँ उपस्थित अन्यले मोबाइलमा खिचेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडिओमा बालेनले चलचित्रका प्रमुख कलाकार सिताराम कट्टेल धुर्मुसको खुलेर प्रशंसा गरिरहेको देखिन्छ । तर, यो भिडिओ हेरेर कतिपयले बालेनको आलोचना समेत गरेका छन् । आलोचनाको कारण चाहिँ अर्कै छ ।
बालेन धुर्मुससँग गफिइरहँदा पछाडिबाट एक युवती आइन् । उनले बालेनतिर हेरेर मुस्कुराउँदै नमस्कार गरिन् । बालेन उनीतिर फर्किए पनि नमस्कार नफर्काइ अर्कोतिर मुन्टो बटारेर कालो चस्मा लगाएको भिडिओमा देखिन्छ । आफूलाई सम्मानसाथ अभिवादन गर्ने युवतीलाई बालेनले ‘इग्नोर’ गरेर अहम्ता देखाएको भन्दै आलोचना गरिएको हो । तर, वास्तविकता अलि भिन्न थियो ।
खासमा दीपिका खनाल नामकी ती युवती ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठकाे निम्ताेमा श्रीमान सन्ताेष खनालसहित चलचित्र हेर्न आएकी थिइन् । सन्ताेष र नविन निकट मित्र हुन् । बालेनलाई देखेपछि दीपिकाले नमस्कार गर्दै तस्बिरका लागि आग्रह गरिन् ।
त्यहाँ उपस्थित कलाकार धुर्मुसका अनुसार बालेनले हात जोडेर नमस्कार नफर्काए पनि मुखले ‘नमस्कार’ भनेका थिए ।
‘मेयर साबले नमस्कार फर्काउनु भएको हो, तर भिडिओमा आवाज नसुनिँदा कतिपयलाई भ्रम पर्न गयो,’ उनले भने ।
बालेनले चस्मा लगाइवरी ती सन्ताेष र दीपिकासँग फोटो खिचे । उनीहरू खुशी भएर हिँडेका थिए ।
पछाडिको यस्तो दृश्य भने भिडिओमा कैद भएन । यद्यपि, बालेनले उनीहरुसँग खिचेको तस्बिर नेपाल प्रेसलाई प्राप्त भएको छ ।