गणतन्त्र, हिन्दू राष्ट्र र राजा आएकाे दिन ! – Nepal Press

गणतन्त्र, हिन्दू राष्ट्र र राजा आएकाे दिन !

फागुन २५ गते काम विशेषले तीनधारा गएको थिएँ । यस क्रममा दरबार चोक पुगेको थिएँ । त्यहाँ सानो सङ्ख्यामा, तर चनाखो मुद्रामा सुरक्षाकर्मीहरू गोलो घेरा बनाएर उभिएका थिए । तीनधारामा आफ्नो काम सकेर फर्कंदै गर्दा देखेको यो दृश्यका बारेमा जान्ने उत्सुकता जाग्यो । चोककै छेउमा एउटा पसलको ढोकैमा बसेर केही बेच्दै गरेकी महिलालाई सोधेँ, ‘आज यहाँ सुरक्षाकर्मी किन रहेछन् ?’ उनले भनिन्, आज राजा आउने रे त, त्यसैले ।’ यति संवाद हुँदै थियोे, अर्का एक जनाले थपे, ‘राजा होइन, पूर्वराजा भन्नुस् न दिदी, राजा त कहाँ छन् त ?’ सुन्न त सुनेको, तर ध्यान नदिएको रहेछु । ‘ए, यस्तो पो’ भनेर म आफ्नो बाटो लागेँ । उनीहरूबीच यसखालको संवाद चल्दै थियो ।

तीनकुनेदेखि कोटेश्वरको बीचमा राष्ट्रिय झण्डा समातेका मानिसहरूको भीडको कारण सडक जाम भएको थियो । मसँगैको सीटको झ्यालतिर बसेका पाका व्यक्तिले बाहिरतिर थुक्दै भने, ‘थुक्क, यी गणतन्त्रवादीहरूले ठीक गरेका भए आज यस्तो दिन देख्नुपर्ने थिएन ।’ पछिल्लो सीटमा बसेका अर्को यात्रुले थपे, ‘सबै चोर हुन्, सबै उस्तै हुन्, सबै फटाहा हुन्, यो राजा पनि उस्तै हो ।’ जाम हुनुको कारणबारे आक्रोश थियो, यो संवाद ।

रत्नपार्क छेउको भक्तपुर बसपार्कबाट म चढेको सानोठिमी हुँदै भक्तपुर जाने बस भरिभराउ थियो । म ज्येष्ठ नागरिक सीटमा बस्न पुगेको थिएँ, त्यसको झ्यालतर्फको सीटमा एक जना ७० वर्ष जति उमेरका ज्येष्ठ नागरिकले आसन ग्रहण गरिसकेको थियो । पछिल्लो सीटमा बसेकाहरू युवा अवस्थाका नै थिए । अहिले जनतामा देखिएको आक्रोश राजा ल्याउन नभएर गणतन्त्र सार्थक नभएकाले हो भन्ने देखिन्छ ।

हुन पनि अहिले कसैले राजा, कसैले पूर्वराजा भन्ने व्यक्ति हुन्- ज्ञानेन्द्र शाह । उनलाई गद्दीनसिन हुँदा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भनिन्थ्यो । अहिले कसैले राजा भन्छन्, कसैले पूर्वराजा भन्छन् त कोही के भन्ने अलमलमै छन् । जे भने पनि ज्ञानेन्द्र देशका पूर्वशासक हुन्, जन्मजात अधिकार प्राप्त शासक ! अझ भनौं, तत्कालीन राजा वीरेन्द्रको रहस्यमय कहालीलाग्दो वंश विनाशपछि तत्काल विद्यमान कानूनी व्यवस्थाअनुसार उनलाई राजगद्दीमा बसाली राजा घोषणा गरिएको थियोे ।

राजनीतिक व्यवस्था फेरिए पनि त्यसअनुसारको प्रशासनिक सुधार भएको छैन । यस समयमा फेरिएको सिङ्गो व्यवस्थालाई सुदृढ पार्ने राजनीतिक शक्ति बन्न सकेन । बहुदलीय प्रतिस्पर्धाबाट सरकार छानिने र प्रतिपक्षमा रहने प्रावधानका रूपमा मात्र गणतन्त्रलाई बुझियो ।

विसं. २०६२/६३ जनआन्दोलनको परिणामस्वरूप सम्पन्न संविधानसभा निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यस घोषणासँगै २३८ वर्ष लामो शाह वंशीय राजपरम्परा अन्त्य भएको थियो । यो घोषणासँगै तत्काल गद्दीनसिन ज्ञानेन्द्र शाह नारायणहिटीबाट नागार्जुन सरेका हुन् । उनलाई पूर्वराष्ट्राध्यक्षका रूपमा अहिले पनि अति विशिष्ट सेवा सुविधा दिइएको छ । सरकारी ढुकुटीबाट उनले भत्ता, सुरक्षा, सचिवालय आदि सुविधा पाइरहेका छन् ।

उनी केही दिनअघि पोखरा गएका रहेछन् र फागुन २५ का दिन काठमाडौं फर्कंदै रहेछन् । उनका समर्थक दल-समूहको प्रचारप्रसार र तयारीमा सर्वसाधारणले समेत काठमाडौं विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेछ । नेपालमा लोकतान्त्रिक गणतन्त्र सुदृढ हुँदै गर्दा राजनीतिक अस्थिरताका कारण एक प्रकारको अन्योल कायमै छ । राजनीतिक व्यवस्था फेरिए पनि त्यसअनुसारको प्रशासनिक सुधार भएको छैन । यस समयमा फेरिएको सिङ्गो व्यवस्थालाई सुदृढ पार्ने राजनीतिक शक्ति बन्न सकेन । बहुदलीय प्रतिस्पर्धाबाट सरकार छानिने र प्रतिपक्षमा रहने प्रावधानका रूपमा मात्र गणतन्त्रलाई बुझियो । पञ्चायत ढाल्दाका राजनीतिक शक्ति र नेतृत्व, त्यतिबेलाको प्रशासनतन्त्र र कर्मचारीहरू उही रूपमा रहे ।

सङ्घीयताको बीचको तलो- प्रदेश संरचना नयाँ भएकाले त्यसको औचित्य पुष्टि हुने गरी अपेक्षित काम हुन सकेन । यसबारे राजनीतिक विचार र तर्क बलिया नै भए पनि एकाध गतिला कामबाहेक अनिवार्य हुनुको औचित्य स्थापित हुन सकेन । यसबीच कुनै एउटा पार्टीको बहुमतको सरकार न सङ्घमा बन्नसक्यो न त प्रदेशमा नै । केन्द्रीय प्रभाव प्रदेशमा पनि परिरह्यो । राजनीतिक दलका सिद्धान्त, विचार, दृष्टिकोण र योजनामा आधारित वाचा-कबोलअनुसार काम देखाउन सकेनन् । बलियो वा निर्धो, जहिल्यै गठबन्धनको सरकारका कारण पूर्ण मनोयोगका साथ कुनै सरकारले काम गर्न पाएनन् । सबै सरकार दैनिक प्रशासनिक काम चलाउन र गठबन्धन जोगाउन केन्द्रित रहनुपर्ने अवस्था रह्यो । यो राजनीतिक विषय हो, तर जनताले त राज्यप्रतिको दायित्व पूरा गरेकै छन्, राज्य-सरकारबाट पाउनुपर्ने विषय नपाउँदा गुनासो गर्नु स्वाभाविकै हो ।

सबै सरकार दैनिक प्रशासनिक काम चलाउन र गठबन्धन जोगाउन केन्द्रित रहनुपर्ने अवस्था रह्यो । यो राजनीतिक विषय हो, तर जनताले त राज्यप्रतिको दायित्व पूरा गरेकै छन्, राज्य-सरकारबाट पाउनुपर्ने विषय नपाउँदा गुनासो गर्नु स्वाभाविकै हो ।

गणतन्त्र पक्षधर सबै पार्टीका नेतृत्व पङ्क्ति जनतासमक्ष पुग्न, जनताका कुरा सुन्न, राजनीतिक व्यवस्था र प्रणालीका विषयमा बताउन लागिपर्नु पर्छ । केही देशका राजनीतिक पार्टीहरू राजकीय पार्टीका रूपमा छन्, तर नेपालका पार्टीहरू राजकीय नभई राजनीतिक पार्टी हुन् । व्यवस्थाका विशेषता र यसका अनिवार्य कमजोरीबारे जनतालाई सदैव सुसूचित राख्न सकिएन भने राजा सधैं फर्किरहन्छन्- कहिले पोखराबाट, कहिले झापा, कहिले हेटौंडा, कहिले धनगढी, कहिले अन्यत्रबाट । र, सर्वसाधारणमा भ्रमको बीउ छरिइरहन्छ । यही कारण हो कि पूर्वराजा देशभित्रको कुनै एक ठाउँबाट आफ्नो घर फर्कंदा ‘राजा फर्किने’ विषय सत्तान्तरणकै रूपमा बुझ्नुपर्ने परिस्थिति उत्पन्न भयो । यो विषय गम्भीर छ । यसलाई गम्भीर बनाउने केही अन्तर्वस्तुहरू पनि छन् । तीमध्ये एउटा हो हिन्दू राष्ट्र । यसबारे एउटा सानो विमर्श गरौँ ।

हिन्दू, हिन्दूत्व, हिन्दू संस्कृति र हिन्दू राष्ट्र एउटै होइन । प्रथमतः हिन्दू धर्म भनेको के हो ? जनै लाउने धर्म हो कि, जनै नलाए पनि हुने धर्म हो ? टुप्पी राख्ने धर्म हो कि नराखे पनि हुने धर्म हो ? मासु नखाने धर्म हो कि खाए पनि हुने धर्म हो ? ठाडो टीका लगाउने, तेर्सो टीका लगाउने कि बाटुलो टीका लगाउने धर्म हो ? तीन थरी, दुई थरी मिसिएको टीका लाउने धर्म हो कि एकै रङ्गको टीका लाउने धर्म हो ? पशुपन्छी काटेर रक्तबलि दिने धर्म कि उनीहरूको रक्षा गर्ने धर्म हो ? माटा-ढुङ्गाका मूर्ति स्थापना गरेर पूजा गर्ने धर्म हो कि मूर्ति पूजा नगर्ने धर्म हो ?

‘आत्मवत् सर्वभूतेषु यः पश्यति सः पण्डितः’ (जसले सबै प्राणीहरूलाई आफू समान देख्दछ, उही नै पण्डित हो) भन्ने कि यो छूत, ऊ अछूत भन्ने धर्म हो ? म नै ब्रह्म हुँ भन्ने कि सबै प्राणीमा उही एउटै ईश्वर छ भन्ने धर्म हो ? यो संसार केही होइन, नाटकमात्र हो भन्ने धर्म कि सारा मानवीय व्यवहार बन्ने, परिष्कृत हुने, लोक र लोककल्याणको एकमात्र ठाउँ नै यही धर्ती हो, सबै मिलेर बस्नुपर्छ भन्ने धर्म हो ? आदि आदि । यस्ता अनेकौं प्रश्न मेरा मनमा र अनेकौं नेपालीका मनमा रहेका छन् । मलाई थाहा छ, यी प्रश्नहरूका उत्तर सबै हिन्दू अग्रणीहरूको एउटै हुँदैन ।

हिन्दू, हिन्दूत्व, हिन्दू संस्कृति र हिन्दू राष्ट्र एउटै होइन । प्रथमतः हिन्दू धर्म भनेको के हो ? जनै लाउने धर्म हो कि, जनै नलाए पनि हुने धर्म हो ? टुप्पी राख्ने धर्म हो कि नराखे पनि हुने धर्म हो ? मासु नखाने धर्म हो कि खाए पनि हुने धर्म हो ?

हिन्दू राष्ट्र भनेको कस्तो हो ? हिन्दू राष्ट्र भनेको हिन्दूहरूमात्र बस्ने राष्ट्र हो कि, हिन्दूहरूले मात्र शासन गर्ने राष्ट्र हो कि, हिन्दू धर्मशास्त्रका आधारमा चल्ने शासन हो ? यसको स्वरूप कस्तो हुन्छ ? यहाँ संविधान, ऐन-कानूनहरू हुन्छन् कि धर्मगुरू या शासन प्रमुखले जे भन्यो त्यही हुन्छ ? कानूनका दृष्टिमा सबै जनता समान हुन्छन् कि हिन्दूहरू माथि र गैरहिन्दूहरू तल पारिएका हुन्छन् ? चुनाव हुन्छ कि हुँदैन ? अनेकौं प्रकारका राजनीतिक विचारहरू र तिनका गतिविधि हुन्छन् कि ? सबै यसरी नै हुन्छ, यस्तै नै लोकतन्त्र, गणतन्त्र, निर्वाचन, संसद या अन्य कुनै नामको निर्वाचित सभा र यसमार्फत जनताको अधिकारको अभिव्यक्ति हुन्छ कि हुँदैन ? निर्वाचन हुँदा भौगोलिक निर्वाचन क्षेत्रका आधारमा हुन्छ कि हिन्दू धर्मका सम्प्रदायका बीचमा हुन्छ ? आदि आदि । यसको उत्तर पनि एउटै हुँदैन ।

हिन्दू राष्ट्र भयो भने जनताले प्रत्यक्ष रूपमा पाउने लाभहरू के के हुन् ? सबै शिक्षित हुन्छन् ? सबै निरोगी हुन्छन् ? सबैका पेट भरिने हुन्छ ? सबैका आङ् ढाकिन्छन् ? समाजमा रहेका सबै अन्तर्विरोधहरू समाधान हुन्छन् ? कुनै प्रकारको हिंसा बाँकी रहँदैन ? सबै अभाव पूर्ति हुन्छन् ? सबै देशवासीका चिन्तन र चेतनामा अलौकिक परिवर्तन आउँछ ? छल, कपट, राग, द्वेष आदि दोष निर्मल हुन्छन् ? यी सबै कुरा हिन्दू वा अन्य कुनै धर्म जोडिएको वा नजोडिएको राष्ट्रले सुनिश्चित गर्न सक्दैन । अनि किन चाहिन्छ- हिन्दू राष्ट्र ?

मानिलिऔं पार्टी खराब छन्, कर्मचारीतन्त्र चित्तबुझ्दो छैन, तर असल पार्टी बनाउने र कर्मचारीतन्त्र सुधार्ने अधिकार त सबैलाई छ नि ! यति गर्न नसकेर पुरानो व्यवस्थाको अवशिष्ट-अवशेषमा प्राण भरेर सुशासन र विकासको दिवासपना देख्नेहरू आश्चर्यका पात्र हुन्, परिचालित कठपुतली हुन् । कठपुतलीको अभिनय हेर्दा रमाइलो हुन्छ, संवाद सुन्दा रमाइलो लाग्छ, तर निस्कने आवाज उसको मालिकको हुन्छ, उसलाई चलाउने औंला पनि मालिककै हुन्छ ।

आफ्नो देशको मन्त्रिपरिषद् बैठकमा निर्णय पुस्तिका लेख्न विदेशी सचिव राख्ने र नेपाल-चीन सीमाको १८ ठाउँमा भारतीय सैन्य पोस्ट राख्ने, कालापानी, लिपुलेक र लिम्पियाधुरा विदेशी सेनाको कब्जामा सुम्पिने राष्ट्रवाद प्रेत राष्ट्रवाद हो । हिन्दू राष्ट्रको खोलभित्र मिसनरी मिसन र मिसनरी शिक्षा (२०२८ को नयाँ शिक्षा नीति/योजना) का प्रवर्द्धकका बारेमा नबुझेको जमातलाई सही कुरा बुझाउन आवश्यक छ । उनीहरूमध्ये धेरैजसो वास्तविकता नबुझेरै लहैलहैमा कुदिरहेका छन् । सही कुरा बुझौँ, बुझाऔँ । निर्णायक राष्ट्रिय शक्ति निर्माण गरौँ ।

(कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)


प्रतिक्रिया

One thought on “गणतन्त्र, हिन्दू राष्ट्र र राजा आएकाे दिन !

  1. राजतन्त्र नभएर गणतन्त्रमा सरकारको स्थायित्व आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *