‘रोड शो’मा देखिएका चार थरी चेहरा- ज्ञानेन्द्र फर्किने दुई बुँदे व्यहोरा – Nepal Press

‘रोड शो’मा देखिएका चार थरी चेहरा- ज्ञानेन्द्र फर्किने दुई बुँदे व्यहोरा

अन्ततः पूर्वराजा ज्ञानेन्द्र शाह हिजो पोखराबाट काठमाडौं फर्किए ।

क्रिया एउटै भए पनि पक्षधरताअनुसार ‘ज्ञानेन्द्र फर्किए’ वा ‘मौसुफ फिर्ती सवारी होइबक्सियो’ शब्दावली प्रयोग हुुने नै भयो । भइरहेकै छ ।

खासमा एकाध महिना पोखरा आसपास टहलिएर, कुलदेवतासहित केही मन्दिरमा पूजा-अर्चना र शुभेच्छुकसँग बातचित गरेर ज्ञानेन्द्र हिजो घर फर्किएका हुन् । घर फर्किनु ‘कौन-सा’ ठूलो कुरा हो र !

तर एकाथरीका लागि ज्ञानेन्द्र शाह सिंहासनमै फर्किएका हुन् जस्तो ‘उल्लास’ छ । अनि अर्काथरी चाहिँ सबै सकिएको जसरी अव्यक्त ‘भाउन्न’मा छन् । तेस्राथरी जो राजावादी वा गणतन्त्रवादी केही होइनन् (गरिखाने वर्ग)लाई को आयो, को गयो, ‘बालै फरर’ !

कतिपय राजावादीले हिजो अन्तिम रात निर्मल निवासमा बिताएर ज्ञानेन्द्र आज गद्दीनसिन हुन नारायणहिटी नै जान्छन् भने जस्तो गरेका थिए, तर आज, अहिलेसम्म नारायणहिटी संग्रहालयबाट दरबारमा रूपान्तरण भएको अझै सुनिएको छैन ।

पूर्वराजालाई ‘शाही झल्को’ को महसुस दिलाउन हिजो गरिएको स्वागतमा कति मान्छे थिए ?

सरकारी स्रोतले १० हजारभन्दा केही बढी भनेको छ । तिनले आधी नै घटाएको मान्ने हो भने पनि २० हजार हाराहारी ! लौ बढीमा २५ हजार नै भनौं ।

सडकको आकार र मूल र्‍यालीको लम्बाइका आधारमा केही इन्जिनियरले निकालेको हिसाबमा अधितकम १८ हजार मानिस थिए ।

नागरिक फेरि यिनैबाट शासित हुने त परको कुरा यिनको अनुहारै हेर्न नपरे हुन्थ्यो भन्ने हदको दिक्कारीमा पुगिसके ।

ज्ञानेन्द्र, २४० वर्षीय वंशीय शासन व्यवस्थाको अन्तिम राजा । कट्टर हिन्दूमार्गीका ‘विष्णुका अवतार’ । राजतन्त्र फर्काउँछौं भन्ने दल र समूहहरूका ‘अभिभावक’ । पछिल्लो पुस्ताले राम्रोसँग देख्दै नदेखेको ‘अनुहार’ । अझ गणतान्त्रिक दलहरूप्रतिको ‘मास फ्रस्टेसन’को पृष्ठभूमि ।

२०७९ को संसदीय चुनावमा राजावादी दल राप्रपा एक्लैले काठमाडौं उपत्यकामा प्रत्यक्षतर्फ ७० हजार हाराहारी भोट पाएको थियो । राप्रपाकै काठमाडौं बाहिरको तथा राप्रपा नेपाल, विभिन्न हिन्दूवादी संगठन, कुनै दलका सदस्य नरहेका (विशेषतः युवा) र ठूला दलप्रति वाक्क-दिक्क भएकासमेतको उपस्थिति २०-२५ हजार !

उपस्थिति तुलनात्मक रूपमा धेरै हो, तर प्रचार गरिए जस्तो ‘जनसागर’ होइन । राजतन्त्र फर्काउने तागत त खै के, गणतन्त्रवादीलाई राम्रै झस्को चाहिँ दिएको उनीहरूको छटपटाहटले देखाउँछ ।

०००

हिजोको र्‍यालीमा चार प्रकारका मान्छे थिए ।

पहिलोः कट्टर राजावादी, जो राजालाई नारायणहिटी र आफूलाई सिंहदरबारमा पुनःस्थापित गर्न चाहन्छन् ।

दोस्रोः अस्थिरता बढाउन चाहने । राजतन्त्र र गणतन्त्रभन्दा पनि देशमा अस्थिरता बढिरहे दुनो सोझ्याउन पाइन्छ कि भन्ने ।

तेस्रोः वर्तमान शासन प्रणालीमा निराशा व्यक्त गरिरहेका । यी राजतन्त्र फर्काउनभन्दा पनि दलहरू सच्चिऊन् भन्ने चाहन्छन् ।

चौथोः देशको यथास्थितिप्रति असन्तुष्ट युवा । सक्रिय राजतन्त्र रहँदा वा अन्त्यपछि जन्मिएको यो पुस्तालाई राजतन्त्रको गुण/दोषबारे खासै जानकारी छैन ।

पहिलो थरीका मानिसको केन्द्रमा राजा पर्ने नै भए । किनकि उनीहरूको विचार, दृष्टिकोण र राजनीतिमा राजतन्त्रबाहेकको एजेण्डा नै छैन । दोस्रो थरीका समाजमा स्थायी हुने पात्र हुन् । जसले यथास्थिति र अस्थिरता चाहन्छ ।

राजा वीरेन्द्रको वंश नै नासिएपछि ‘अपुताली’मा दोस्रो पटक गद्दीनसिन भएका ज्ञानेन्द्रमा प्रत्यक्ष शासनको भोक जाग्दैनथ्यो त उनी अहिलेसम्मै राजा रहिरहन पनि सक्थे, तर सक्रिय शासनको भोकले उनको सिंहासनमात्रै लगेन, राजतन्त्रलाई नै इतिहास बनाइदियो ।

तेस्रो र चौथो थरीलाई पूर्वराजाको स्वागत र्‍यालीमा धकेल्ने ‘योगदान’ गणतान्त्रिक नेतृत्वले गरेको हो ।

जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसयताको शासन सत्ता गणतन्त्र स्थापनाका मुख्य शक्ति (कांग्रेस, एमाले र माओवादी केन्द्र) कै वरिपरि ‘म्युजिकल चेयर’ झैं घुमिरहेको छ । यसबीचमा राजावादी राजेन्द्र लिङदेन र कमल थापाहरूले सत्ताको स्वाद त चाखे, तर रजगज गर्न पाएनन् ।

राजतन्त्रको अन्त्यपछि त मुलुक ‘रामराज्य’ नै हुने आश्वासन बाँड्ने मुख्य तीन दल गणतन्त्र घोषणालगत्तै सत्ता स्वार्थमा फसे । सरकार ढाल्ने र बनाउने क्रम चलिरह्यो । उनीहरू शासकीय व्यवस्थापनमा, नागरिकको आकांक्षा सम्बोधनमा, सेवा प्रवाहमा, बेथिति नियन्त्रणमा निरन्तर चुकिरहे । नागरिकले चुक्दैछौ है भनेर मैमत्त भइरहे । फलत तिनीहरूप्रतिको जनविश्वास ओरालो लाग्यो । गणतन्त्र ल्याउन सडकमै उत्रिएका मानिस ‘सयौं राजाभन्दा बरु एउटै ठीक’ भन्ने निष्कर्ष नजिक पुग्न लाग्दा पनि आफू सच्चिने कहाँ हो कहाँ, उल्टै पूर्वराजा र राजावादीलाई नउचालिन ‘खबरदारी’ गर्दैछन् उनीहरू ।

नागरिकले २०७९ को संसदीय चुनावमा मतपत्रैबाट ठूला दलको ‘घण्टी’ बजाइदिएका थिए । रास्वपा, जनमत, नागरिक उन्मुक्ति जस्ता दलको उदय वैकल्पिक राजनीतिप्रतिको आकर्षणभन्दा पनि ठूला दलप्रतिको विकर्षण थियो । आफूप्रतिको अनाकर्षण बुझेको भए यो दुई वर्षमा धेरै सुधार गर्न सक्थे तिनले, तर तिनले ‘घण्टी’को आवाज सुन्न होइन, बन्द गर्न ‘रालो’ नै चुँडाल्न खोजे ।

नयाँ गर्न त कहाँ हो कहाँ, भएका कमजोरी पनि स्वीकार्न पनि मान्दैनन् उनीहरू । बरु एक-अर्कामा दोष थोपर्छन् । माओवादी केन्द्रका वर्षमान पुन हिजो भन्दै थिए, ‘वर्तमान सरकारको अलोकप्रियताका कारण राजावादीले टाउको उठाउन खोजे !’ गणतन्त्र आएपछि सबैभन्दा धेरै समय सत्तामा रहेको माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले पनि ‘एमाले र कांग्रेसको कुशासनका कारण प्रतिगामी सक्रिय भयो’ भन्ने निष्कर्ष निकालेछ ।

विरासत अन्त्यको कलंक बोकिरहँदा ज्ञानेन्द्रलाई फेरि श्रीपेच पहिरिने भित्री रहर नै जागेको जस्तो त लाग्दैन, तर उनी उराल्नेहरूको एक पटक पाइन जाँचौं न त भन्ने मुडमा चाहिँ पुगेका हुन् कि भन्ने छनक हिजोको ‘शाही ठाँट’मा देखियो ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले हिजै प्रश्न गरेका थिए, ‘पूर्वराजाले के मागेको ?’

कांग्रेस सभापति शेरबहादुर देउवाले आज भनेछन्, ‘हिजो काठमाडौंमा केही भएको होइन ।’

पुनलाई लाग्छ- प्रचण्ड नेतृत्वको यसअघिको सरकार लोकप्रिय थियो । शंकर पोखरेललाई लाग्छ- केपी ओली नेतृत्वको जस्तो उत्कृष्ट सरकार कहिल्यै बन्नेछैन । गगन थापालाई शेरबहादुर देउवाको नेतृत्वमा बन्ने आउँदो सरकार उम्दा लाग्छ !

तर नागरिक फेरि यिनैबाट शासित हुने त परको कुरा यिनको अनुहारै हेर्न नपरे हुन्थ्यो भन्ने हदको दिक्कारीमा पुगिसके ।

नागरिकको दिक्दारीले हद पार गर्न लाग्यो, तर अबको १६ महिनापछि केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नेछन् । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका उनै देउवा ३० वर्षपछि छैटौं पटक प्रधानमन्त्री हुनेछन् त्यो पनि ८० वर्ष कटेपछि ।

साँच्चिकै लोकतान्त्रिक वातावरण हुन्थ्यो र राजनीतिक सिन्डिकेट चल्दैनथ्यो भने देउवाले पहिलो पटक सरकारको नेतृत्व गर्दा जन्मिएको व्यक्ति प्रधानमन्त्री भइसक्थ्यो यो बेला, तर हामी ३० वर्षेलाई होइन, ८० वर्षे देउवालाई सत्ता हस्तान्तरण गर्न अभिशप्त छौं भने काठमाडौंका सडकमा पूर्वराजाको स्वागतमा युवाको बाक्लो उपस्थिति हुनुमा के नै अनौठो भयो ?

०००

२००७ सालमा राजा त्रिभुवन भारत निर्वासित भएपछि राणाहरूले पोखरामा रहेका ज्ञानेन्द्रलाई काठमाडौं ल्याएर राजगद्दीमा राखेका थिए । त्रिभुवन फर्किएपछि शिशु ज्ञानेन्द्रको राजआयु स्वतः सकियो । त्यसको ५२ वर्षपछि २०५९ को दरबार काण्डमा राजा वीरेन्द्रको वंश नै नासिएपछि ‘अपुताली’मा दोस्रो पटक गद्दीनसिन भएका ज्ञानेन्द्रमा प्रत्यक्ष शासनको भोक जाग्दैनथ्यो त उनी अहिलेसम्मै राजा रहिरहन पनि सक्थे ।

राजाको शासन नझेलेको पछिल्लो पुस्ताका लागि राजतन्त्रको रोमाञ्चक कल्पना त होला, तर त्यो पुस्ताले धेरैअघिको होइन, ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालको मात्रै घटनाक्रम राम्ररी पढ्यो भने पनि जिब्रो टोक्नेछ ।

तर सक्रिय शासनको भोकले उनको सिंहासनमात्रै लगेन, राजतन्त्रलाई नै इतिहास बनाइदियो । विरासत अन्त्यको कलंक बोकिरहँदा ज्ञानेन्द्रलाई फेरि श्रीपेच पहिरिने भित्री रहर नै जागेको जस्तो त लाग्दैन, तर उनी उराल्नेहरूको एक पटक पाइन जाँचौं न त भन्ने मुडमा चाहिँ पुगेका हुन् कि भन्ने छनक हिजोको ‘शाही ठाँट’मा देखियो ।

आफ्ना हजुरबुबा त्रिभुवनको श्राद्धको छेको पारेर ज्ञानेन्द्रले वक्तव्य दिए । चाडपर्व र तिथि-श्राद्धमा उनी यसो गरिरहन्छन् । वक्तव्यमा उनले पिता-पुर्खाको स्मरण गरे । खोसिएको शासनको स्मृतिमा भावुक भए । र, एक सम्मानित नागरिकका रूपमा देशको अवस्थाप्रति चिन्ता जताए । तिथि-श्राद्धमा पिता-पुर्खाको स्मरण गर्नु उनको कर्तव्य हो । अनि नागरिकको रूपमा देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्नु अधिकार ।

कर्तव्य र अधिकार दुबै निर्वाह गरेका ज्ञानेन्द्रको वक्तव्यलाई ‘दलतन्त्र’का ठेकेदारहरूले उनी नारायणहिटी नै फर्किन लागेको जसरी अतिरञ्जित गरे । थान्कोमा बस्न भनेर धम्की दिए । हुँदा-हुँदा माओवादी केन्द्रले त अभियान नै स्थगित ग¥यो । ‘के खोज्छन् …. आँखा’ भने झैं गणतन्त्रवादीलाई तर्साउने बहाना खोजिरहेका पूर्वराजा र उनको अन्धभक्त समर्थकका लागि पोखराबाट काठमाडौं फर्किने सामान्य क्रिया पनि शक्ति प्रदर्शनको अवसर बन्दियो ।

एकाथरी कुलाङ्गारले अर्काथरी नालायकलाई सडकमा आउने वातावरण बनाइदिए ।

फागुन ७ को वक्तव्यमा पूर्वराजाले ‘साथ खोजेका’ छन्, तर साथ केका लागि हो प्रस्ट पारेका छैनन् । उनले साथ माग्न पाउँछन् । साथ माग्नलाई हिँडडुल गर्न पाउँछन् । शान्तिपूर्ण गतिविधि गर्न सक्छन् । र, इच्छुक राजनीतिक दलहरूले उनलाई बोक्न पनि सक्छन् । संविधानले नै दिएको अधिकार हुन् यी ।

तर उनले तत्काल राजगद्दीमा फर्किन साथ खोजेका हुन् कि शासन सत्तामा ? राजगद्दी र शासन सत्ता फरक कुरा हुन् । त्यो चाहिँ उनले खुलाउनुपर्छ ।

संविधानमा कैयौं त्रुटि छन्, तर हिजो उखेलेर फालेको राजतन्त्रलाई समेत फिर्ताको सहज बाटो दिएको छ हाम्रो संविधानले । गजब होइन यो ?

तत्काल राजगद्दीमा फर्किने चाहना हो भने काठमाडौंका सडकमा २०-२५ हजारको र्‍याली देख्दैमा हौसिन आवश्यक छैन । त्यो र्‍यालीमा राजतन्त्र फर्काउन चाहनेकै हाराहारीमा ‘दलतन्त्र’बाट वाक्कदिक्क भएका मानिस थिए, जो राजतन्त्र व्युँताउन भन्दा पनि तर्साएर दलहरूलाई सुधार्न चाहन्छन् । दलहरूमा सुध्रने छेकछन्द नहुनु अर्कै कुरा हो फेरि ।

संवैधानिकमात्र होइन, सक्रिय राजतन्त्रको कठिन परिस्थिति व्यहोरेको मध्य उमेरको एउटा पुस्ता फेरि राजतन्त्रका लागि कहिल्यै तयार हुनेछैन । राजाको शासन नझेलेको पछिल्लो पुस्ताका लागि राजतन्त्रको रोमाञ्चक कल्पना त होला, तर त्यो पुस्ताले धेरैअघिको होइन, ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालको मात्रै घटनाक्रम राम्ररी पढ्यो भने पनि जिब्रो टोक्नेछ ।

राजतन्त्रका प्रखर ‘प्रवक्ता’ राप्रपा नेता रवीन्द्र मिश्रले ‘नवीन समझदारी’ भन्दै आएका छन्, तर त्यसको आधार र मार्ग के हो प्रस्ट छैन । उनको आसय पूर्वराजा, गणतन्त्रवादी दल र राजावादी पार्टी मिलेर राजासहितको व्यवस्थामा जाऔं भन्ने होला ।

अनि गणतन्त्रमा राजा ?

मिश्रले वकालत गर्ने शब्दावलीमै ‘नवीन समझदारी’ भनिएकाले आन्दोलनले राजतन्त्र पुनःस्थापना हुन्छ भन्नेमा उनी नै विश्वस्त छैनन् भन्ने प्रस्ट हुन्छ, तर काठमाडौंको सडकमा केही हजार देख्नेबित्तिकै मिश्रकै चेला ज्ञानेन्द्र शाहीहरू विश्वको शक्ति सन्तुलन, देश, काल, परिस्थिति नबुझी आन्दोलनबाटै राजतन्त्र फर्काउने भन्दै उचालिएका छन् ।

आन्दोलनबाट राजतन्त्रको पुनःस्थापना सम्भव छैन । गर्छौं भनेर राजनीतिक एजेण्डा बनाउन पाइयो । र, त्यहीअनुसार शान्तिपूर्ण गतिविधि गर्न पनि पाइयो । राजनीतिक दलहरू कल्पनाको ‘साम्यवाद’ त ल्याउँछौं भन्छन् !

ज्ञानेन्द्रले राजगद्दी होइन, शासन सत्ता चाहेका हुन् भने त्यो असम्भव छैन, केही वर्षमै पाउन सक्छन्, तर त्यसका लागि उनले पार्टी खोल्नुपर्छ । जनतासँग साथ होइन, भोट नै माग्नुपर्छ । जनताले दुई तिहाइ मत दिए भने संविधान संशोधन गरेर गणतन्त्र उल्ट्याउन सकिन्छ । यसको ग्यारेन्टी संविधानले नै गरिदिएको छ ।

सोच र कार्यशैलीले पनि भन्छ- गणतन्त्रवादी दलहरू सुध्रिँदैनन् । ठीक छ, सुध्रिएनन् त सकिन्छन् । कोही सकिँदा केही नयाँ आउँछन् । २०७९ कै निर्वाचनमा वैकल्पिक शक्ति आए । तिनले पनि राम्रो गरेनन् भने झन् नयाँ आउँछन् ।

ज्ञानेन्द्रको बुढ्यौलीमा पनि देश बनाउने हुटहुटीलाई जनताले आउने आवधिक निर्वाचन (२०८४) मै दुई तिहाइ दिए भने त्यही वर्ष उनी राजगद्दीमा फर्किन सक्छन् । संविधानमा कैयौं त्रुटि छन्, तर हिजो उखेलेर फालेको राजतन्त्रलाई समेत फिर्ताको सहज बाटो दिएको छ हाम्रो संविधानले । गजब होइन यो ?

ज्ञानेन्द्रलाई रक्तपातपूर्ण आन्दोलनपछिको राजगद्दी चाहिएको हो कि जनमतले सहजै दिने सिंहासन ? अनि चुनावमा गणतन्त्रवादी दलको बैशाखी टेक्ने राजेन्द्र लिङदेनहरूलाई नि ?

जनताको ‘ज्यान’ होइन ‘मत’ लिएर राजतन्त्रमात्र होइन, तागत पुग्छ भने पञ्चायतमात्र होइन, राणा शासन नै फर्काऊ भनिएकै छ !

०००

अधिकांशको गुनासो छ, गणतन्त्र ल्याउने नेताहरू नै ‘राजा’ जस्ता भए । व्यक्तिगत स्वार्थमा लिप्त भए । जनआकांक्षा कुल्चिए । तिनीहरूले सुध्रिएर अब देशको नेतृत्व लिन सक्दैनन् । सोच र कार्यशैलीले पनि भन्छ- गणतन्त्रवादी दलहरू सुध्रिँदैनन् । ठीक छ, सुध्रिएनन् त सकिन्छन् । कोही सकिँदा केही नयाँ आउँछन् ।

२०७९ कै निर्वाचनमा वैकल्पिक शक्ति आए । तिनले पनि राम्रो गरेनन् भने झन् नयाँ आउँछन् । मैदान रहिरह्यो भने खेलाडीको खाँचो हुन्न । मैदान नै मासियो भने कहाँ खेल्ने, के खेल्ने, को खेल्ने ? मैदान मास्ने होइन, खेलाडी फेर्ने हो । दलहरूले के गर्छन् छोडिदिनुस्, खेलाडी नफेर्ने मैदानलाई मात्रै दोष दिएर गुनासो गर्ने प्रवृत्ति हामी नागरिकले चाहिँ छोड्नुपर्छ ।

दोहोर्‍याएर भन्छु, यो व्यवस्थाको राम्रो पक्ष भनेकै खराब लाग्ने नेतृत्वलाई नागरिकले भोटमार्फत कम्तीमा पाँच वर्षमा फाल्न सक्छन् ।

तर राजा ?

खराब हो भन्ने जान्दाजान्दै राजतन्त्र फाल्न करिब २४० वर्ष लाग्यो । फालेकै पनि बौरिन खोज्दैछन् । लौं २०८२ को बैशाखमै राजतन्त्र फर्कियो रे ! अनि फर्किएको राजतन्त्रले खराब ग¥यो भने कति वर्षपछि कसरी फाल्ने ?

फेरि आन्दोलन गरेर ?

भोटमार्फत पाँच वर्षमा एकै पटक सयौं राजा फाल्न सकिने व्यवस्था छोडेर फेरि एक थान राजाको वर्षौं रैती बन्ने त ?

रवीन्द्र मिश्रहरू ‘संवैधानिक राजतन्त्र’ भन्छन्, तर उनीहरू संवैधानिक सीमाभित्रै रहेका ज्ञानेन्द्रमा प्रत्यक्ष शासनको भोक जागेको र त्यसैको पृष्ठभूमिका जागेका जनताले राजतन्त्रको अन्त्य गरेको भर्खरको इतिहास भुल्छन् ।

मिश्रहरूले इतिहास भुल्नुमा भन्दा बढी आश्चर्य ल्याउनेकै कारण गणतन्त्रको जग हल्लिएकोमा छ ।


प्रतिक्रिया

3 thoughts on “‘रोड शो’मा देखिएका चार थरी चेहरा- ज्ञानेन्द्र फर्किने दुई बुँदे व्यहोरा

  1. भड्किएका आत्माहरु यसो सडकमा टिकटक बनाउन तम्सिदै रेन्त । एउटाले फिलिमी सीन पनि हानेछ ।

  2. लेखकले सारै राम्रो विश्लेषण गरेर यो लेख लेखेको र हातमा भएको छोडेर भुईको उढाउन नखोज गणतन्त्र र या राजतन्त्र चुनावमा आउन ज्ञानेन्द्र शाहलाई दिएको सुझाव राम्रो लाग्यो

  3. जो जो गणतन्त्रका लाउकेहरु छन सबैले कान खोलेर सुन- नश्लवादी गणतन्त्र , ढोङ्गी गणतन्त्र , चाकरी खोज्ने गणतन्त्र , सेवा प्रवाह नगर्ने गणतन्त्र , शिक्षा ऐन पास गर्न नसक्ने गणतन्त्र , पाखण्डी गणतन्त्र , पैसा हुनेको मात्र कुरो सुन्ने गणतन्त्र पुस्तौं पुस्ता नेपालीलाई घाममा सुकाउने गणतन्त्र, पैसा अकुत खर्च गरेर चुनाव जितिने गणतन्त्र , भ्रष्टाचारी गणतन्त्र किमार्थ चाहिदैन । अहिले ओली, शेरे, प्रचण्डआदिलाई नेपाली जनता देख्न ,सुन्न चाहदैनन् । सधैंका लागि बिर्सन चाहन्छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *