पाेताला दरबार पुग्ने ३ करोड पर्यटकको एक हिस्सा नेपाल ल्याउने वातावरण बनाउनुपर्छ: महावाणिज्य दूत निरौला – Nepal Press
नेपाल टक

पाेताला दरबार पुग्ने ३ करोड पर्यटकको एक हिस्सा नेपाल ल्याउने वातावरण बनाउनुपर्छ: महावाणिज्य दूत निरौला

काठमाडौं । नेपालका मानवशास्त्रका पिता मानिएका डोरबहादुर बिष्टले ल्हासाको महावाणिज्य दूतको रूपमा पनि काम गरेका थिए । उनले त्यहाँको बसाइको दस्तावेज आफ्नो अङ्ग्रेजी भाषाको पुस्तक ‘रिपोर्ट फ्रम ल्हासा’मा मिहिन रूपमा राखेका छन् । बिष्टले नेपालको मात्रै कूटनीतिक नियोग तिब्बतमा खासगरी ल्हासामा भएकोबारेमा अरु देशहरूले ‘ईर्ष्या’ गर्ने बताएका छन् । त्यही ईर्ष्या गर्ने नेपाली नियोगका अहिलेका प्रमुख हुन् लक्ष्मी निरौला ।

जिल्ला विकास समिति धनकुटाका कार्यक्रम अधिकृत हुँदै तत्कालीन स्थानीय विकास मन्त्रालयका शाखा अधिकृतको रूपमा सरकारी सेवामा प्रवेश गरेका निरौलाले विभिन्न मन्त्रालयमा काम गरेका छन् । पछिल्लो समयमा परराष्ट्र मन्त्रालयका सहसचिव उनी गत वर्षको नोभेम्बरबाट ल्हासाका महावाणिज्य दूत छन् ।

सरकारी सेवाको कोणमा कूटनीतिज्ञ र साहित्यको कोणमा प्रकाशित गजलकार हुन् निरौला । ‘प्रेरणाको धुन’ गजल संग्रह प्रकाशन गरेका उनको ल्हासाको प्रेरणा के छ त ? यी र यस्तै कुरा तथा अरु विभिन्न विषयमा महावाणिज्य दूत लक्ष्मी निरौलासँग नेपालप्रेसकर्मी विराट अनुपमले गरेको कुराकानी नेपाल टकमाः

– ल्हासा आगमन पहिलो हो कि यो अगाडि पनि पुग्नुभएको थियो ?

मैले यसअघि बेइजिङ, सांघाई जस्ता चीनका अन्य शहरहरूको भ्रमण गरेको भए पनि ल्हासाको भ्रमण गर्ने अवसर जुटेको थिएन । यो मेरो पहिलो ल्हासा भ्रमण हो ।

– कस्तो हुँदैछ ल्हासाको हावापानी र अनुभव ?

यहाँ आउनुअघि समुद्र सतहबाट ३,६५० मिटरको उचाइमा रहेको ल्हासाको बसाइ सहज होला कि नहोला भन्ने मलाई लागिरहेको थियो । यसअघिका महावाणिज्य दूतज्यूहरू र विभिन्न समयमा यहाँको भ्रमण गर्ने पदाधिकारीहरूले पनि मलाई हाइ अल्टिच्युडको समस्या हुनसक्छ भन्दै सजग रहन भन्नुभएको थियो ।

जम्मा १,३२४ मिटर उचाइको काठमाडौंमा बसोबास गरिरहेको मैले महावाणिज्य दूतका रूपमा ल्हासा खटाउने नेपाल सरकारको निर्णयपछि आफूलाई उचाइसँग अनुकूल बनाउन आवश्यक तयारी गरें । त्यसैले पनि होला, मलाई ल्हासाको बसाइमा कुनै ठूलो समस्या देखिएको छैन । माइनस ९ सम्मको अनुभव लिइसक्दा कुनै ठूलो समस्या नभएकाले यसलाई मैले अवसरका रूपमा लिएको छु ।

– ल्हासामा तपाईं आएपछिको समयमा नै सिचाङ भूकम्पको धक्का आयो । ल्हासाका नेपालीले चीनलाई चिनियाँ रेडक्रसमार्फत सहयोग गरे । देशले चैँ किन सहयोग गर्न सकेन ?

हो, म यहाँ आएर सन् २०२४ नोभेम्बर १८ मा कार्यभार सम्हालें र दुई महिना पनि नभई सन् २०२५ जनवरी ७ मा तिब्बतमा विनाशकारी भूकम्प गई ठूलो धनजनको क्षति भयो । त्यसपछि लगत्तै जनवरी ८ मा नेपाली दुःख निवारण कल्याण कोषका पदाधिकारीहरूसँग छलफल गरी जनवरी ९ का दिन तिब्बतमा बसोबास गरिरहेका नेपाली समुदायबाट सहयोग संकलन गरियो र ३७ लाखभन्दा बढी नेपाली रूपैयाँ बराबर रकम चीन सरकारसँगको सल्लाहमा तिब्बत रेडक्रसलाई हस्तान्तरण गर्न सफल भइयो । यस पुनित कार्यका लागि कोषका पदाधिकारी र नेपाली समुदायलाई धन्यवाद दिन चाहन्छु ।

नेपाल र चीन दुबै पक्षको निरन्तर प्रयास र हिमालय एयरलाइन्सको तदारुकतापछि सन् २०२५ मार्चको अन्तबाट ल्हासा-पोखरा उडान हुन गइरहेको जानकारी गराउन पाउँदा हर्षित छु । यसबाट ल्हासा-काठमाडौं उडान प्रभावित हुँदैन, उक्त उडान यथावत रहन्छ ।

जहाँसम्म देशका तर्फबाट सहयोग भएन भन्नुभयो, चीन सरकारले भूकम्पलगत्तै केही घण्टा पनि हुन नपाई उद्धार र राहतको कार्य प्रभावकारी रूपमा गर्‍यो । चीनभित्र नै राम्रोसँग सहयोग परिचालित भयो । चीन सरकारले आफैं नै तत्कालीन उद्धार, राहत र पुनःस्थापनाका कार्य व्यवस्थित रूपमा गरेकाले सायद त्यो आवश्यकताबोध भएन कि ?

यो पनि पढ्नुहोस्- ल्हासाका महावाणिज्य दूतलाई प्रश्न : माओ युगमा सडक आयो, सी युगमा रेल आउला ?

– हिमालय एअरलाइन्सले पोखरा-ल्हासा उडानको कुरा ल्याएको छ । यो कसरी अगाडि बढ्दैछ ?

मलाई नेपाल सरकारले महावाणिज्य दूतको जिम्मेवारी दिएपछि ल्हासामा जिम्मेवारी ग्रहण गर्न आउनुअघि नै सो विषयमा केही कुराकानी भएको थियो । हिमालय एयरलाइन्सका पदाधिकारीसँग समेत छलफल गरेको थिएँ । त्यसैगरी तिब्बतमा पनि चीन सरकारका विभिन्न पदाधिकारीसँगको बैठकमा उक्त विषय उठ्ने गरेको थियो ।

नेपाल र चीन दुबै पक्षको निरन्तर प्रयास र हिमालय एयरलाइन्सको तदारुकतापछि सन् २०२५ मार्चको अन्तबाट ल्हासा-पोखरा उडान हुन गइरहेको जानकारी गराउन पाउँदा हर्षित छु । यसबाट ल्हासा-काठमाडौं उडान प्रभावित हुँदैन, उक्त उडान यथावत रहन्छ । हाललाई हप्तामा एक पटक पोखरा उडान थप भएको हो । हामी अहिले ल्हासा उडान संख्या थप गर्ने र लुम्बिनी उडान शुरु गर्ने पहल गरिरहेका छौं । पर्यटकीय नगरी पोखरा उडानको तयारी गर्दै रहेको हिमालय एयरलान्सलाई धन्यवाद तथा शुभकामना दिँदै यसबाट नेपाल-चीन सम्बन्धमा थप बल पुग्ने विश्वास लिएको छु ।

– ल्हासा-काठमाडौं-पोखरा बस सेवा चलेको थियो । अहिले चलेको देखिन्न । किन यस्तो हुन पुग्यो ?

ल्हासा-काठमाडौंबीच सीधा बस सेवा पुनः सञ्चालन गर्ने विषय महावाणिज्य दूतावासको उच्च प्राथमिकतामा छ । हामीले चिनियाँ पक्षसँग यस विषयमा कुराकानी गरिरहेका छौं । यसअघि बस सेवा सञ्चालन गरेको साझा यातायातका पदाधिकारीहरूसँग पनि यस विषयमा कुराकानी भइरहेको छ । आशा छ, बस सेवा पुनः सञ्चालन गर्न सकिएला ।

– सन् १९७२ मा राजा वीरेन्द्रले चीनको छेङ्दुसम्म सीधा उडान गर्नु अगाडि चीन पुग्ने बाटो तिब्बत टेकेरमात्र थियो । अझै पनि तिब्बतमा भएकै नाकाबाट दुई देशको व्यापार जोडिएको छ । नाकाहरूको प्रगति के भइरहेको छ ?

नेपाल र चीनबीचको कूल १,४१४ मिटर सीमा जोडिन्छ र त्यो सबै तिब्बतसँग जोडिएको छ । दुई देशको सीमामा ३ अन्तर्राष्ट्रिय, ३ द्विपक्षीय र १४ वटा पारम्पारिक नाका छन् । हाल यी सबै नाका पूर्ण रूपमा सञ्चालनमा छन् । नाकाहरूमा कुनै ठूला समस्या देखिएका छैनन् । त्यहाँ देखापर्ने सामान्य समस्या हामीले द्विपक्षीय प्रयासबाट समाधान गर्ने गरेका छौं ।

दुई देशको सीमामा ३ अन्तर्राष्ट्रिय, ३ द्विपक्षीय र १४ वटा पारम्पारिक नाका छन् । हाल यी सबै नाका पूर्ण रूपमा सञ्चालनमा छन् । नाकाहरूमा कुनै ठूला समस्या देखिएका छैनन् । त्यहाँ देखापर्ने सामान्य समस्या हामीले द्विपक्षीय प्रयासबाट समाधान गर्ने गरेका छौं ।

नेपाल र चीनबीच व्यापारका लागि तिब्बत हुँदै गरिने स्थल व्यापार मार्ग निकै छिटो र प्रभावकारी देखिन्छ । यसका लागि हामीले खासगरी नाका र नेपालतर्फको पूर्वाधार विकासमा जोड दिनुपर्ने देखिन्छ ।

– केही अगाडि भैंसीको मासु नेपालबाट चीनमा लाने सम्झौता भएको थियो । तिब्बतलाई पुग्ने तरकारी नेपालबाट निर्यात गर्ने नि चर्चा हुन्छ । यसबारेमा के-कसो हुँदैछ ?

नेपालको समग्र वैदेशिक व्यापार घाटामै छ । चीनसँग पनि हाम्रो व्यापार घाटा त छँदैछ । तथापि चीन सरकार र हामीसँग सीमा जोडिएको तिब्बत स्वायत्त प्रदेशको सरकार नेपालमा उत्पादन भएको कृषि उत्पादन चीनमा आयात गरेर नेपाली अर्थतन्त्रमा टेवा पुर्‍याउन सदा तत्पर छ । प्रधानमन्त्रीको चीन भ्रमणमा समेत प्राथमिकता पाएको भैंसीको मासु र कृषिजन्य उत्पादन चीनमा निर्यात गर्न आवश्यक तयारीका काम भइरहेको छ ।

– नेपाल र चीनको रोटीबेटी सम्बन्ध बनाउने सीमा क्षेत्रको शताब्दीऔं पुरानो विवाह परम्परा हो । केही महिना अगाडि ओलाङ्चुङगोलाका स्थानीयसँग कुरा गर्दा रोकिएको गुनासो आयो । यस्तो हुनुको औपचारिक वा अनौपचारिक कारण देखाइएको छ चीनबाट ?

त्यस्तो कुनै जानकारी छैन । नेपाली र चिनियाँ जनता कसैबाट पनि हामीले यस्तो जानकारी पाएका छैनौं ।

– गत वर्ष चिनियाँ जन कङ्ग्रेसको बैठकमा तिब्बतको व्यापारिक नेताले नेपालसँग व्यापार बढाउने मुद्दा उठाएका थिए । यो भनेको चिनियाँ पनि व्यापारिक सम्बन्ध बढाउन तयार भएको देखिन्छ । यसलाई नेपाली पक्षले कसरी सदुपयोग गर्ने ?

चीन सरकार हामीसँग व्यापार विस्तार गर्न सदा तत्पर रहेको मैले पाएको छु । एउटा असल मित्रका रूपमा दुई देशबीचको व्यापार विस्तारमा चिनियाँ पक्षको पहलकदमी र तत्परता महसुस गरेको छु । हामीले चीनबाट नेपालमा धेरै आयात गर्ने र कममात्र निर्यात गर्ने अवस्था रहेकाले निर्यात सम्भाव्यता भएका वस्तु र उत्पादनहरू पहिचान गरी त्यसमा केन्द्रित रहेर तयारी गर्नु आवश्यक छ ।

हाम्रो उत्पादन चीनमा निर्यात गर्न र चिनियाँ लगानी नेपालमा भित्र्याउने प्रचुर सम्भावना छ, हामीले लगानीयोग्य वातावरण सिर्जना भने गर्नुपर्दछ । चीनको विशाल जनसंख्यालाई हामीले जति उत्पादन गरे पनि कमै हुन्छ । त्यसैले निर्यात सम्भावना पहिचान गरी तिनै वस्तुको उत्पादन प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र लगानीयोग्य वातावरण सिर्जना गर्न सके प्रचुर सम्भावना देखिन्छ । यसरी निर्यात सम्भावना भएका वस्तुहरूमा कृषि उत्पादन मुख्य हुनसक्छ । यस्ता उत्पादनहरूमा घाँस, चिया, जुट, जडिबुटी, सुगन्धित तेल (एसन्सियल आयल) जस्ता वस्तुहरू हुन सक्दछन् ।

– चीनतर्फको सगरमाथा आधार शिविर होस् वा कैलाश मानसरोवर यात्रा, नेपालीमात्र होइन भारतीय र तेस्रो देशको लागि नेपाली रुट छिटो छ । किनभने चीन जोड्ने सडक र ल्हासा उड्ने अन्तर्राष्ट्रिय जहाज नेपालमा मात्र छन् । यो कुराको पर्यटकीय फाइदा कसरी लिन सकिएला ?

चीनसँगको हाम्रो परम्परागत र कूटनीतिक सम्बन्ध सुदृढ छ । हामी एकापस देखापर्ने जुनसुकै समस्या पनि द्विपक्षीय संवाद र छलफलबाट टुङ्ग्याउन सक्षम छौं । तसर्थ हाम्रा दुई देशबीचको स्थल र हवाई यातायातलाई अझ प्रभावकारी र भरपर्दो बनाउन जरुरी छ । स्थल नाकाहरू सबै पूर्ववत सुचारु भइसकेको सन्दर्भमा त्यहाँ सम्बद्ध पूर्वाधारको विकास र स्तरोन्नति हाम्रो प्राथमिकतामा हुनुपर्दछ ।

चीन सरकार हामीसँग व्यापार विस्तार गर्न सदा तत्पर रहेको मैले पाएको छु । एउटा असल मित्रका रूपमा दुई देशबीचको व्यापार विस्तारमा चिनियाँ पक्षको पहलकदमी र तत्परता महसुस गरेको छु ।

हवाई उडानलाई पनि थप व्यवस्थित गर्नुपर्दछ । हामी अहिले यस काममा लागिरहेका पनि छौं । लुम्बिनी-ल्हासा हवाई उडान शुरु गर्ने र नेपालबाट ल्हासासम्मको रुटमा चिनियाँ विमान कम्पनीहरूको सेवा पनि शुरु गर्न प्रयासरत छौं । यसो गर्न सके नेपाल, भारत र अन्य देशका पर्यटकहरू नेपाल हुँदै चीन आउनेछन् ।

हरेक वर्ष ल्हासाको पोताला दरवार भ्रमण गर्नेको संख्या ३ करोड हाराहारी भएको सन्दर्भमा त्यसको केही हिस्सा नेपाल पु¥याउन सके हाम्रो पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने देखिन्छ । त्यसैले त्यो वातावरण बनाउन सबै लाग्नुपर्छ ।

– काठमाडौंबाट सडक र रेल हुँदै ल्हासा पुग्ने प्रक्रिया र पैसा कत्ति सहज र असहज छ ?

काठमाडौंबाट ल्हासासम्मको यात्राका लागि हवाई र स्थल मार्ग दुबैको प्रयोग हुनसक्छ । स्थल मार्गबाट आउँदा जाँदा तातोपानी र रसुवा नाकाबाट आवतजावत गर्न सकिन्छ । यसरी यात्रा गर्न नेपाल र चीन दुबैतिर गाडी पाइन्छ । तातोपानी नाका हुँदै काठमाडौंबाट ल्हासा पुग्न यात्रा समय १७-१८ घण्टा लाग्छ । तथापि जुनसुकै समयमा गाडीमा यात्रीहरूको संख्या नपुग्ने भएकाले कहिलेकाहीं बीचमा बास बस्नुपर्ने हुनसक्छ ।

त्यसैगरी रसुवा नाका प्रयोग गर्दा २०-२२ घण्टाको यात्रा गर्नुपर्दछ । तिब्बत आउन चीन प्रवेश गर्ने भिसाले मात्र नहुने र छुट्टै प्रवेश अनुमति चाहिने भएकाले सो प्राप्ति भने अनिवार्य छ । तातोपानी रुटबाट आउन-जान १२-१३ हजार जति भाडा लाग्छ ।

– ल्हासाका नेपाली २ हजार बढी भएको बताइन्छ । त्यहाँका नेपालीहरूको व्यापार, प्रभाव र जीवनशैली कस्तो छ ?

ल्हासामा शताब्दीऔंदेखि नेपाली समुदाय बसोबास गरिरहेका छन् । मल्लकालदेखि ल्हासामा व्यापार व्यवसाय गर्न नेपालीहरू आएका र यतै बसोबास गरेका हुन् भनिन्छ । हाल ल्हासामा स्थायी बसोबास गर्ने र मौसमी कामदारका रूपमा रहेका नेपालीहरू छन् ।

काठमाडौंबाट ल्हासासम्मको यात्राका लागि हवाई र स्थल मार्ग दुबैको प्रयोग हुनसक्छ । स्थल मार्गबाट आउँदा जाँदा तातोपानी र रसुवा नाकाबाट आवतजावत गर्न सकिन्छ । यसरी यात्रा गर्न नेपाल र चीन दुबैतिर गाडी पाइन्छ ।

मौसमी कामदारहरू तोकिएको पारिश्रमिक प्राप्त गरेर सहज रूपमा रहिरहेका छन् । स्थायी बसोबास गर्नेहरू व्यवसायमा संलग्न छन् । खासगरी नेपाली समुदायले रेस्टुरेन्ट, मूर्तिकला र हस्तकला व्यवसाय, सैलुन सञ्चालन गरेर आर्थिक सामाजिक रूपमा स्थापित भएर बसेका छन् ।

– ल्हासाको एक्लो विदेशी कूटनीतिक नियोग हुनुको अतिरिक्त फाइदाहरू के छन्, जुन अरु देशलाई छैन ?

हो, ल्हासामा हाम्रो महावाणिज्य दूतावास नै एकमात्र कूटनीतिक नियोग हो । यहाँ हाम्रो महावाणिज्य दूतावास सन् १९५६ मा स्थापना हुनुभन्दा पहिले १८५६ देखि नेपाली वकिलको कार्यालय थियो । अझ त्यसअघि नै सन् १६४२ मा ल्हासामा न्यू नायब रेसिडेन्सीका नाममा नेपाली कूटनीतिक नियोग रहनुले चीनसँग अझ तिब्बत स्वायत्त क्षेत्रसँगको नेपालको सम्बन्धको महत्व र सघनताको झल्को दिन्छ ।

एउटामात्र कूटनीतिक नियोग हुँदा यहाँको सरकारले हामीलाई उच्च प्राथमिकतामा राखेको छ । हाम्रा दुई देशबीचका कुनै पनि विषयहरूमा केही समस्या देखापरे हामीले तत्काल द्विपक्षीय छलफल गरी टुङ्ग्याउन सहज भएको छ । कूटनीतिक भेटघाटहरू विनाविलम्ब हुने गरेका छन् । ल्हासामा नेपाली प्रतिनिधिमण्डल र नेपालमा चीनको तिब्बत स्वायत्त क्षेत्रका प्रतिनिधिमण्डलको आदानप्रदान सघन रूपमा हुने गरेको छ । यसरी दुई पक्षबीच बाक्लै भेटघाट र छलफल हुँदा शताब्दीऔंदेखि कायम रहेको कूटनीतिक सम्बन्ध सुदृढीकरणमा सहजता आएको पाइन्छ ।

चीन सरकार, तिब्बत स्वायत्त क्षेत्रको सरकार र जनस्तरमा समेत हाम्रो सम्बन्ध सुमधुर बनाउन यसले बल पुर्‍याएको छ । यही कारण यहाँका जनताले नेपाली नागरिकप्रति छुट्टै सम्मान र सद्भाव प्रकट गर्ने गरेका छन् । महावाणिज्य दूतावासले अन्यत्रभन्दा बढी सद्भाव र सहजता महसुस गरेको छ ।

– बाँकी केही कुरा छन् कि ?

चीन नेपालको असल छिमेकी हो । हाम्रो देशको विकासमा चीनको सहयोग उल्लेख्य छ । यसमा पनि चीनसँगको पूरै सिमाना तिब्बत स्वायत्त क्षेत्रसँग मात्र जोडिएको छ । कुल १,४१४ किलोमिटर सीमा जोडिएको तिब्बत स्वायत्त क्षेत्रसँगको सम्बन्धले ठूलो महत्व राख्छ । चीनको ग्वान्झाओबाट तातोपानी र रसुवागढी नाकासम्म स्थल मार्गबाट काठमाडौंसम्म अहिले पनि १२-१४ दिनमा कार्गो आइपुग्छ । नेपालतर्फको बाटो सहज बनाउने र केरुङसम्म रेल सेवा स्थापित गर्ने हो भने समय अझ कम लाग्छ ।

बाटोको अवस्था र अन्य कतिपय कारणले स्थल मार्गबाट हुने मालसामान ढुवानी अलि महँगो हो कि जस्तो भए तापनि समुद्री मार्गबाट कार्गो आइपुग्न ४५ दिन लाग्ने भएकाले समय र त्यसका कारण सिर्जना हुने लागतका तुलनामा स्थल मार्ग नै उपयुक्त छ । स्थल मार्गमा नेपाल र चीन दुबैतिर सुविधा सम्पन्न ल्याब स्थापना गर्ने, सडक पूर्वाधार सुधार गर्ने, नाका व्यवस्थापन राम्रोसँग गर्ने र व्यापार सहजीकरण गर्ने हो भने यो मार्ग अझ सहज हुन जान्छ र यो मार्ग हुँदै तेस्रो मुलुकसम्मको व्यापारको बाटो पनि खुल्न जान्छ । तसर्थ यसलाई उच्च प्राथमिकता दिएर कार्य गर्न जरुरी देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर