श्रीमानले खेलेको तास च्यातेर कमलाले थालेको समाज परिवर्तनको कथा (भिडिओ)

चितवन । घरमा चार छोराछोरी छन् । चारै बिघा अँधिया खेती । गोठभरि वस्तुभाउ । काम गर्ने दुई ज्यान । एक श्रीमान, एक श्रीमती । झिँगटीले बारेको घर, खरको छानो । भुईं पानीले उप्किसकेको छ । हरेक दिन खरखडाइ काट्न घरबाट निस्किने श्रीमान खाली हात, त्यो पनि साँझ परिसकेपछि फर्किन्छन् ।
आफ्नै पौरखमा बाँच्नुपर्छ भनेर अघि बढेकी ती महिलालाई जीवनमा दुःख नै किन नहोस्, श्रीमानले पनि काममा हात थपिदिएका हुन् त ती दिन कति सहज हुने थिए होला !
आफ्नैबाट १४ वर्षको उमेरदेखि खेप्न थालेको हिंसाको श्रृङ्खला के थिए आज हिसाब गर्न उपयुक्त लाग्दैन उनलाई । किनकि आफ्नै साहस अझ उनकै भाषामा ‘सुरो’ भएकै कारण आज परिस्थिति फरक्कै फर्किएर उल्टो बनिसकेको छ ।
चितवनको भरतपुर महानगर- ६ की ६८ वर्षकी कमला पौडेल । जसले संघर्षबाट हुर्काएका चारमध्ये एक सन्तानले विश्वभर महिला वैज्ञानिकको परिचय बनाइसकेकी छन् ।
उनले ‘अर्गनाइजेशन फर ओमेन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्ल्यूएसडी) ले उम्दा वैज्ञानिकलाई प्रदान गर्ने ५० हजार अमेरिकी डलर बराबरको फेलोसिप पाएकी छन् । उनै शोभाकी आमा हुन् कमला ।
कमलाले शोभासहित चार सन्तान हुर्काउन गरेका संघर्ष र आफ्नै जीवन परिवर्तन गराउन थालेको अभियान समाजका लागि पनि उदाहरणीय छ । १४ वर्षमा विवाह भएको थियो कमलाको ।
त्यो समय नेपाली समाजमा बाल विवाह सामान्य झैँ थियो, तर त्यो विवाह, जसले महिलालाई बहुजिम्मेवारीले थिच्नेमात्रै होइन, कसरी हिंसाको भूमरीमा पार्थ्यो भन्ने उदाहरण पनि हुन् कमला ।
अहिले ती दिन सम्झँदा उनी आफैंलाई कसरी उतारेँ भनेर कहालीलाग्दो समयको चित्रण गर्छिन् । दिनभर बरालिने श्रीमानलाई लयमा ल्याउन उनले के के गरिनन् ! समाजको अगाडि सबैभन्दा छुच्ची महिलाको उपमा लिन तयार भइन् । छोराछोरीमा बराबरी गर्न बोर्डिङ छुटाएर छोरालाई विद्यालय भर्ना गर्दा ‘कस्ती आमा’ भनेर आफन्तले नै प्रश्न गरे । त्यतिमात्रै होइन, छोराछोरीलाई बराबरी कामको भाग लगाउँदा खिसीको सामनामात्रै होइन, आफन्त टेढिएको भोगाइ पनि उनकै भागमा पर्यो ।
आफ्ना जीवनमा भोगेका यी नै दुःखलाई कमला पौडेलले नेपाल प्रेससँग यसरी बाँडेकी छन्ः
१४ वर्षमा बिहे भयो । बालख नै थिएँ । मेलापातको अनुभव थिएन । माइतीमा लोग्ने, बुढा सासूससुरा र आफ्नो सासूससुरामात्रै होइन, देवरहरू पनि थिए । आफू बालकै भएकाले कामको मेसो थिएन । अझ यो ठाउँमा पानी नलाग्ने भएकाले धान पनि एक बालीमात्रै हुन्थ्यो । घरको आर्थिक अवस्था कमजोर थियो ।
कमाउन सक्ने अलि बलिया श्रीमान थिए, तर उहाँको पनि लय बसेको थिएन । वनपात गर्न मेरो लागि सजिलो थिएन । खेत रोपिन्थेन । खान अभाव थियो । वनजंगल, मेलापात गर्नुपर्ने । आफूले केही बुझेको थिइनँ । एकैचोटी काम गर्न साह्रै गाह्रो भयो । सहन पनि सकिनँ त्यो बेला । कति त सहेँ पनि । घरमा भएको दुःख माइतीमा आमालाई भन्ने रहेछ छोरीले । घरमा यस्तो छ भनेर आमासँग रुँदा आमाले- तँ माइत बसे ३ बहिनीको बिहे गर्न गाह्रो हुन्छ । नसके नारायणीमा गएर डुबेर मर भन्नुहुन्थ्यो । त्यो बेला कति चोट पर्यो होला यो मनमा । त्यसपछि म आमासँग गएर रुन पनि छोडेँ ।
कसैलाई आफ्नो दुःख देखाउनै छोडेँ । आफैंले केही गर्नुपर्छ भन्ने भयो । आफूले आफैंलाई बुझ्न थालेँ । त्यो बेला गाउँगाउँमा डकाउ कार्यक्रम सुरु भएको थियो । काम सकेर त्यहाँ जाँदा अलिअलि ज्ञान पाउन थालेँ ।
चारपाँच बिघा ठेक्का अधिँया गरेँ । गाईभैँसी पाल्न थालेँ । बाख्रा थपेँ । डकाउ कार्यक्रमबाट नै सहकारी खोलेको थियो, महिलाहरूको । त्यसमा सदस्य भएँ । अलिअलि ऋण लिएर आफ्नो काममा लगानी गर्न थालेँ ।
श्रीमान घरबाट निक्लेर काममा जान्छु भन्नुहुन्थ्यो, तर दिनभर तास खेलेर बिताएर घर फर्किनुहुन्थ्यो । घरमा आएर छरछिमेकका दिदीबहिनी कमलाले त कुखुरा, गाइँभैसी पालेकी कसरी भ्याएकी छौ भन्नुहुन्थ्यो । म भ्याएकै छु भन्थेँ । कसैलाई आफ्नो दुःख सुनाइनँ त्यो बेला ।
घर काँसको झ्याँसीको थियो । भुईंको घेरो पानीले खाएको थियो । त्यो बेला घर छोडेर म खर काट्न जान भ्याउँथिनँ । श्रीमान दिनदिनै खर काट्न जान्छु भनेर निस्किनुहुन्थ्यो । दिन बित्थ्यो, समय बित्यो । न घरमा खर आउँछ न त खडाइ आउँथ्यो ।
एक दिन छिमेकी मीरा पाठकले कमला तिम्रो घरको यस्तो बिजोग छ । बुढो चाहिँ सधैँ तास खेलेर बस्छ भन्नुभयो । २०५८/०५९ सालतिरको कुरा हो, मैले ओढ ढाकेँ, होइन बिचरा बुढो काम गर्न जानुहुन्छ भनेँ । हामी सहकारीको बैठकबाट फर्किंदै थियौँ, उहाँले यो बाटो जाउँ, म तिम्रो श्रीमानले तास खेलेको देखाइदिन्छु, भन्नुभयो ।
मैले हुन्छ भनेँ । पुसमाघको समय थियो । बुढासहित १२-१५ जना पारिलो घाम तापेर तास खेलेर बसिरहेका रैछन् । त्यो देखेपछि मनमा कि मलाई मार्लान् कि मेरा श्रीमान सुघ्रिएलान् भन्ने आयो । ५-६ जना महिला थियौँ । म तास च्यातिदिन्छु, मेरो बुढोले केही गर्यो भन्यो, मलाई बचाउनुहोस् है त भनेँ । उहाँहरूले हुन्छ जाऊ, हामी छौँ भन्नुभयो ।
डर त लागिरहेको थियो । मुन्टो तलतिर फर्काएँ । केही नबोली मेरो बुढोको हातको तास च्यातेर फालिदिएँ । अर्को एक जनाको हातको तास पनि च्यात्न लागेको थिएँ, एउटा तास च्यातेपछि खेल सिधिन्छ मेरो हातको तास च्यातेर के गर्छौं त नि भने । त्यसपछि केही नबोली हामी हिँड्यौं ।
मलाई घर फर्किएपछि डर लाग्यो । बेलुका के पो गर्लान् भन्ने लाग्यो । बुढा आएपछि के गर्ने योजनाहरू बनाएर बसेँ, तर बुढो घर आउँदा उहाँमा मप्रति रिस थिएन । उल्टै बुढी भात खाइस्, रिसाइस् कि भनेर आउनुभयो । त्यसपछि मलाई बलियो हुने आँट बढ्यो । भनेँ, तपार्इँ यस्तो ढाँट्ने, तास खेलेर दिन बिताउने, के भन्लान् अरुले पनि भनेँ ।
उहाँले आजमात्रै हो, अरु बेला त काँ खेल्थेँ भन्नुभयो, तर दिनदिनै त्यही गर्ने थाहा पाएको थिएँ । भोलिपल्ट उहाँसँगै तास खेल्ने साथी, जसले अघिअघि भाउजू दाइ गयो काममा भन्न आइपुग्थे । उनी पनि त्यही सोध्न आइपुगे । मेरो पालो केको काममा जाने हो, तपाईंहरू तास खेल्नुहुँदो रैछ सधैँ, घरको यस्तो देखेर पनि तपाईंहरू तास खेलेर भुलाइदिने भनेँ । त्यसपछि मसँग एक वर्षसम्म बोलेनन् ।
घर गएर श्रीमतीलाई- मेरो स्वास्नी भए ठाउँको ठाउँ काम गर्न नसक्ने बनाइदिन्थेँ । त्यो बाहुन दाइको स्वास्नी गएर त्यत्रो मान्छेको माझमा तास च्यातेर आई भनेर श्रीमतीसँग कुरा गरेछन् । अनि उनको श्रीमतीले नै हामीले नै कमलालाई तास च्यात्न लगाएको हो । तपाईंले जस्तो बाहुन दाइले गरेको छ ? तपाईंले त आफ्नो परिवार पाल्नुभाछ । त्यो कमलालाई कति दुःख छ । केही गर्यो भने हामी छौँ, कति दुःख सहन्छेस् भनेर हामीले पठाएका हौँ भनिदिएछन् । त्यसपछि एक वर्षसम्म ती मान्छे मसँग बोल्दै बोलेनन् ।
त्यसपछि मेरो बुढो जहाँ गएर तास खेलेको थाहा पाउँछु, त्यहाँ गएपछि तास च्यातिदिने गर्न थालेँ । गाउँका धेरै दिदीबहिनी म जस्तै पीडित त थिए नि ! सबैले कमला त डराउँदिन, फलाना ठाउँमा तास खेलेका छन्, जाउँ भनेर मलाई बोलाउन आउन थाल्नुभयो । अनि मैले सबै ठाउँमा म जाने होइन, तपाईंहरू पनि जानुपर्छ । तपाईंहरूको श्रीमान पनि तपाईंसँग डराउने हुनुपर्यो नि त भनेर उहाँहरूलाई अग्रसर बनाउन थालेँ । त्यसपछि हाम्रो गाउँमा नै तास खेलेको थाहा पाएपछि च्यातिदिने अभियान नै चल्न थाल्यो ।
पछि त जब त्यो बाटो म हिँड्छु, तास खेलेको देख्दा कमला आई है कमला भनिदिन थालेछन् । त्यसपछि अरु पुरुषहरूले तँ जस्ती हो र कमला आफ्नो बुढोलाई तास छुटाइ । अब घरघर गएर अर्काको बुढाले खेलेको तास च्यात्न के खाँचो ? सक्छौ भने आफ्ना बुढा तह लगाउ भनेर पुरुषहरूले भन्न थालेछन् ।
०००
मैले अर्को एउटा परिवर्तन पनि घरैबाट थालेँ । त्यसबाट आफन्तहरू टेढिनुभयो । गाउँलेको प्रश्न त कति खाएँ कति । चारमध्ये सबै सन्तानलाई विद्यालय पढ्न पठाउन थालेँ । छोरी पढाउने आमाहरूले प्रश्न खेप्नुपर्थ्यो त्यो बेला । मेरो जेठी छोरी शोभालाई पढाउँदा त्यस्तै भयो । उनलाई विवाहको लागि माग्न केटाहरू लिएर आफन्त आउँथे । मलाई आफूले पढ्न नपाउँदा भोगेको दुःख याद थियो । मेरा छोरीहरूले त्यही दुःख नभोगून् भन्ने लाग्थ्यो । त्यसैले मैले डिग्री नपढाएसम्म विवाह गरिदिन्न भनेँ ।
आफन्तले छोरी पोइल गए भने भन्थे । ठूली छोरीले डिग्री व्याचलरसम्म पढिन् । विद्यालयले हेरेर छात्रवृत्ति दियो । डिग्री पढ्ने बेला भयो । विवाह गर्ने होइन भन्न थाले । मैले डिग्री नपढाइ बिहे गर्दिनँ, पोइल जान्छन् भने जाऊन् भनें । अझ जात छोडेर गए भने भनेर समेत प्रश्न गर्थे ।
मान्छे हो जात छोडेर गए नि, जोसँग गए नि मान्छेसँग जाने हो, भनिदिन्थेँ । मसँग इस्टमित्र पनि टेढिए । छरछिमेकले त कसरी गरेकी हो भन्थेँ ।
ठूली छोरीले डिग्री छात्रवृत्तिमा पढिन् । राम्रै केटा जुरे बिहे गरिन् । पीएचडी गरिन् । जलवायु परिवर्तनसम्बन्धी अवार्ड पाइन् । एसिया घुम्न पाउने प्रमाणपत्र पाएकी छन् । कृषि र जलवायु परिवर्तनमा काम गर्छिन् ।
कान्छी छोरी र छोरा बैंकमा काम गर्छन्, माइली छोरीको व्यवसाय छ । म खुसी छु । अझ खुसी त मैले छोरीहरू पढाएको देखेपछि टोलमा सबैले छोरी पढाउन थालेको पनि लाग्थ्यो । हामी सरसफाइमा हिँडियो । महिलाहरूलाई सँगै हिँडाए पनि ।
मलाई आफ्ना छोरी जस्तै बुहारी पनि हुन् जस्तो लाग्छ । त्यसैले छोरी र बुहारीको समानताको लागि घरबाटै काम गरेँ । घरमा सानै छँदा छोराछोरीमा कामको बाँडफाँट गरिदिएँ । छोराले पनि बराबरी काम गर्थ्यो । मेरो छोराले चिया बनाएर बाँड्दा अरुले भन्थे एउटा छोरालाई पनि काम लगाएकी छ, तर अहिले छोराबुहारीलाई बराबरीमा काम गर्न त्यसैले सजिलो बनाएको छ । बुहारी कानूनी सेवामा काम गर्छिन् ।
बुहारी भित्र पसेपछि लुगा धुने र भाँडा माझ्ने छोराको काम लगाइदिएँ । बेलुकाको भाँडा चुलो छोराको काम हुन्छ । मैले कहिल्यै एक्लै बुहारीलाई काम लगाइनँ । एक्लै भान्छामा काम गरेको देखेँ भने मलाई खसखस लाग्छ । बुहारी भाठाउँमा गएर लसुन छोडाइदिन पाए पनि ममी आएर बस्नुभाछ भन्ने उनलाई आधार हुन्छ । १० वर्ष भयो, मेरी बुहारीले यस्ती छ भन्ने ठाउँ पारेकी छैन । मसँग चित्त पनि दुखाएको छैन । ऊ खुसी छ । गफ हुँदा हजुरहरूले केही गर्नुभएको छैन । आनन्द छ ममी भन्छे ।